सृजना संसारको साझा हो : अध्यक्ष तिमिल्सिना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सृजना संसारको साझा हो : अध्यक्ष तिमिल्सिना


प्रशासन विशेष ब्युरो

१० मंसिर २०७५, सोमबार


सृजना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले साहित्य/सृजना कुनै देशको नभई संसारको साझा हुने बताएका छन् । रसियन कवि रसूल गा. गाम्जानोमको ९५ औँ वार्षिकीको अवसरमा भक्तपुरको नगकोटमा स्थापित सालिकको अनावरण गर्दै अध्यक्ष तिमिल्सिनाले सो कुरा बताएका हुन् ।

नेपालको जस्तै वातावरण र सांस्कृतिक विविधता भएको रुसको दागेस्तान प्रान्तमा जन्मिएका गाम्जानोमले धेरै पटक नेपालको भ्रमण गरी दुई देशको संस्कृतिलाई जोडेर दुई ओटा कविता संग्रह प्रकाशन गरेका थिए । सोही सम्झनामा उनको परिवारसँगको साझेदारीमा रसियन दूतावास, रुसी विज्ञान तथा संस्कृति केन्द्र र रुस नेपाल सहयोग तथा मैत्री समाजले नगरकोटमा गाम्जानोमको सालिक निर्माण गरेका हुन् ।

सो अवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले रसियामा जन्मिए पनि गाम्जानोमले नेपालको संस्कृतिबारे कृति प्रकाशन गरेकाले उनी नेपालको पनि कवि भएको बताए । दुई देशको संस्कृतिलाई कृतिमार्फत आदान प्रदान गर्नुले सरकार र जनताबिचको सम्बन्धलाई अझ बलियो बनाउन सघाउ पु¥याउने धारणा तिमिल्सिनाले व्यक्त गरे ।

त्यसैगरी नेपाल र रसिया बिचको सन् १९५६ देखिको कूटनीतिक सम्बन्धले विकास निर्माण, शिक्षा, संस्कृति आदान प्रदानमा सहयोग पुगेको बतायो । ‘रसियामा धेरै नेपाली सोभियत संघ हुँदादेखि प्राविधिक विषय अध्ययनका सिलसिलामा पुगेका छन् । जसले नेपाल फर्केर पूर्वाधार निमार्णमा ठुलो योगदान पु¥याएका छन् भने रसियामै ठूलाठूला व्यवसाय सञ्चालन गरेका छन्,’ उनले भने, ‘उनीहरू नेपालका स्थायी दूत हुन् । उनीहरू मार्फत नेपालमा रुसी पर्यटक र लगानीमा वृद्धि गर्नुपर्छ ।’

त्यसै गरी उहाँले दुई देशबिच राजनीतिक, व्यापारिक तथा सांस्कृतिक गतिविधि बढ्दा पर्यटकको संख्या पनि बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपालले पर्यटनलाई देशको समृद्धिको मुख्य आधार बनाउन लागिरहँदा नेपाल जस्तै हिमाली प्रान्त जागेस्तानसँग नेपालको कुनै प्रदेशले मितेरी सम्बन्ध कायम गर्नुपर्ने बताए । ‘नेपालको पर्यटकीय प्रदेशका रूपमा गण्डकी प्रदेशलाई चिनिन्छ । जागेस्तान र गण्डकी प्रदेशबिच मितेरी सम्बन्ध कायम गर्दा राम्रो हुन्छ,’ उनले भने ।

साथै नेपाल र रुसमा दुई सदनको व्यवस्था भएकाले संसदीय गतिविधि र अनुभव आदानप्रदान आवश्यक रहेको अध्यक्ष तिमिल्सिनको भनाई थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस