सामाजिक सुरक्षा दिवसलाई उत्सवका रुपमा मनाउन अनुरोध « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सामाजिक सुरक्षा दिवसलाई उत्सवका रुपमा मनाउन अनुरोध


प्रशासन संवाददाता

१० मंसिर २०७५, सोमबार


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो सामाजिक सुरक्षा दिवसलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन सबैमा अनुरोध गरेको छ ।

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा हुने दिनलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार देशभर एकैपटक कार्यक्रम लागू भएको घोषणा गरेको छ । श्रमिकले लामो समय योगदान गरी रित्तो हात घर फर्कनुपर्ने अवस्थाको अन्त्य गर्दै सरकारले निश्चित अवधि सेवा गरेपछि निवृत्तीभरण (पेन्सन) प्राप्त गर्न सक्ने गरी कार्यक्रमको निर्माण गरेको छ ।

कार्यक्रम लागू भएपछि देशमा सामाजिक सुरक्षाका क्षेत्रमा नयाँ युगको शुरुवात हुनुका साथै दिगो व्यावसायिक वातावरण, असल श्रम सम्बन्धको निर्माण र आम श्रमिकको मर्यादित जीवनका लागि सर्वाधिक महत्व राख्ने मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले बताए ।

सहभागिता, योगदान र सामाजिक सुरक्षाको मर्मबमोजिम औषधि उपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवारको सुरक्षा र वृद्धावस्थाको सुरक्षा कार्यक्रममा समेटिएका छन् । उनले श्रमिक र रोजगारदाताले गरेको योगदानले श्रमिकको सुरक्षित भविष्य सुनिश्चित गरी सबै श्रमिकलाई लाभ पुग्ने विश्वास व्यक्त गरे ।

नेपालको संविधानको धारा ३४ को उपधारा २ मा उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । सोहीअनुरुप नेपालमा पहिलोपटक श्रमिक र तिनका आश्रित परिवारले विभिन्न सामाजिक सुरक्षा प्राप्त गर्नेछन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस