लोकेन्द्रसिंह कार्की ‘तेस्रो पाक्षिक उत्कृष्ट प्रहरी कर्मचारी’ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लोकेन्द्रसिंह कार्की ‘तेस्रो पाक्षिक उत्कृष्ट प्रहरी कर्मचारी’


प्रशासन विशेष ब्युरो

१० मंसिर २०७५, सोमबार


उत्कृष्ट प्रहरी

काठमाडौं । बर्दियाको प्रहरी चौकी, जमुनीमा कार्यालय प्रमुख तथा प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह कार्की ‘तेस्रो पाक्षिक उत्कृष्ट प्रहरी कर्मचारी’ घोषित भएका छन् ।

इलाका प्रहरी कार्यालय, मैनापोखरको सफलतामा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनलाई ‘उत्कृष्ट प्रहरी’ घोषित गरिएको हो ।

‘प्रहरी आचरण तथा व्यवहारमा सुधार, राम्रो काम गर्नेलाई पुरस्कार’ भन्ने अभियानअन्तर्गत संगठनबाटै सुधार थालिएको छ ।

प्रहरीका अनुसार सई कार्कीले सिमानामा चोरी तस्करी तथा जुवातास नियन्त्रण, लागूऔषध निषेध, महिला हिंसा अन्त्य तथा चाडपर्वमा उत्कृष्ट सुरक्षा योजना बनाई शान्ति सुरक्षामा प्रभावकारी भूमिका खेलेका थिए ।

यो सम्मानले कामको मूल्यांकन भएको अनुभूत भएको प्रहरी नायब निरीक्षक (सई) कार्कीले प्रतिक्रिया दिए ।

प्रहरीलाई हौसला दिन पाक्षिक रूपमा उत्कृष्ट प्रहरी कर्मचारी घोषणा गर्ने अभियान थालेको प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । प्रहरीप्रतिको गुनासोलाई ‘जिरो टोलरेन्स’को पोलिसी अनुशार देशैभर संगठनले अभियान थालेको उनले बताए ।

संगठनले थालेका अभियान मातहतका निकायमा लागू गरी समाजमा प्रहरीप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन अभियान थालेको उनले बताए ।

बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ पछिल्लो समय समाजमा शान्ति सुरक्षा स्थापनामा प्रहरीको भूमिका सह्रानीय भएको बताउँछन् ।

प्रहरीले पछिल्लो समय सञ्चालन गरेको ‘पाक्षिक उत्कृष्ट प्रहरी’ छनोट अभियान पनि निकै प्रभावकारी भएको उनको भनाइ छ ।

यस्तो छ ‘उत्कृष्ट प्रहरी’ छनोट विधि
प्रहरी कर्मचारीले हरेक दिन गरेका काम रजिस्टरमा लेखिन्छ । सोही आधारमा १५ दिनसम्म गरेको कामको मूल्यांकन गरी ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिन्छ । प्रहरीले यो सूचना कार्यालयको सूचना पाटीमा टास्नुका साथै वेबसाइटमा राख्ने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस