संवेदनशील लेबनानी क्षेत्रमा नेपाली सेनाको गस्ती « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संवेदनशील लेबनानी क्षेत्रमा नेपाली सेनाको गस्ती


प्रशासन विशेष ब्युरो

८ मंसिर २०७५, शनिबार


लेबनान । इजरायलको सिमाना जोडिएका संवेदनशील लेबनानी क्षेत्रमा नेपाली सेनाले जोखिम मोलेर संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना अन्तर्गत गस्ती गरिरहेको छ ।

शक्ति केन्द्रको क्रिडास्थल बनेको लेबनानको उत्तरी क्षेत्रको सिमानामा इजरायलले ‘टि वाल’ (पर्खाल) विस्तारसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई नेपाली सेनाको गस्तीले अनुगमन गर्दै आएको छ ।

इजरायल र लेबनानले आफ्नो दाबी गरेका ‘हट स्पट’ भनिने तीन संवेदशनील स्थान शेख अब्बाद टोम्ब, शोइब बेल र ओलिभ फिल्डसहित छ स्थानमा नेपाली सेना तैनाथ छ । शेख अब्बादलाई दुवै देशले वर्षअघि आ-आफ्ना धर्मगुरुको समाधिस्थल मान्छन् भने शोइब बेलस्थित पवित्र इनारलाई पनि दुई देशबिच विवाद छ ।

सीमा क्षेत्रमा स्थानीय विवाद भएमा जुनसुकै बेला स्थिति असहज हुनसक्छ । दुई देशबिच सर्वसाधारण मात्र होइन बस्तुभाउ र जनावरको आवतजावतमा समेत खतरा मानिने भएकाले शान्ति सेनाले ‘लेबनानी आर्म फोर्स’को सहकार्यमा अनुगमन र रिपोर्टिङका साथै शान्ति स्थापनाको काममा योगदान दिँदै आएको छ ।

लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फोर्स (युनिफिल्ड) का रूपमा नेपाली सेनाबाट खटिएको बरख गणले शान्ति सेनाको ५९ औँ डब्फाका रूपमा १३ महिने कार्यभार पूरा गरी आजदेखि ६० औँ डफ्फा रणशार्दूल गणलाई जिम्मेवारी हस्तान्तरण गरेको छ । बरख गणका गणपति प्रमुख सेनानी नारायणबहादुर थापाले रणशार्दूल गणका गणपति प्रमुख सेनानी राजेन्द्र पन्तलाई नेपाली बटालियनको मुख्यालय मेइस एज जाबलमा आयोजित समारोहमा जिम्मेवारी हस्तान्तरण गरे ।

बरख गणले गत १३ महिनामा १४ वटा अप्रेसन सञ्चालन गरेको थियो । राष्ट्र सङ्घमा नेपालको छवि उच्च पार्ने तथा भिजिबल प्रिजेन्स बढाउने उद्देश्यले समय समय टेबल टप अभ्यास सञ्चालनलगायतका अध्यास गरिएको सो गणपति थापाले बताए ।

गणले सम्बन्ध स्थानीयसँग विस्तार, आवश्यकताअनुसार शिविर सञ्चालन, ऐतिहासिक स्थलको सरसफाइ, जीर्णोद्वार, वृक्षारोपण र स्वास्थ्य सहयोग तथा विद्यार्थीलाई सामग्री वितरण जस्ता कार्य गरेको छ । एक वर्षमा तीन हजार ५२० जनालाई स्वास्थ्य परीक्षण तथा सामान्य उपचार गरेको छ ।

गणमा हाल २३ महिला कर्मचारी रहेकामा अब वृद्धि भई ५६ पुग्नेछ । राष्ट्र सङ्घले कम्तीमा १५ प्रतिशत महिला हुनुपर्ने नीति पारित गरेसँगै नेपाली सेनाले क्रमशः महिलाको सङ्ख्या वृद्धि गर्न थालेको छ । नेपाली सेनाले काम गर्ने क्षेत्रमा ८७ हजार ४०० लेबनानी छन् ।

गणले सकल दर्जा समेतलाई साप्ताहिकरुपमा “बरख न्युज अपडेट” प्रकाशन गरेको छ, भने मासिक बुलेटिन प्रकाशन तथा गुल्ममा पुस्तकालयको समेत प्रबन्ध गरेको छ । हरेक महिनामा सकल दर्जाको जन्मदिन मनाउने, वृक्षारोपण गर्ने, सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक खेल र सेना नागरिक समन्वय ९सिमिक० कार्यक्रमअन्तर्गत स्वास्थ्य शिविरलगायका कार्यक्रम गरेर सेनाले अन्य शान्ति मिसनको तुलनामा मौलिकता प्रदर्शन गरेको छ ।

नवनियुक्त गणपति पन्तले विगतका राम्रा अभ्यासको निरन्तरताका साथ आवश्यकताअनुसार नयाँ योजना कार्यान्वयन गरी शान्ति मिसनको जिम्मेवारी पूरा गरिने बताउनुभयो । नेपाली सेनाले ९६ वर्ग किलोमिटर क्षेत्रफलमा जिम्मेवारी पाएको छ । यसमा सात नगरपालिका, एक गाउँपालिका पर्छ । यी पालिकामा मुस्लिम बाहुल्यतासहित करिब ८७ हजार ४०० जनसङ्ख्या छ । गणले छ स्थानमा फौज तैनाथ गरेको छ ।

चार दशकदेखि शान्ति सेना
सन् १९७८ मा प्यालिष्टान लिबरेसन आर्मीका साथ इजरायलबाट लेबनानका अधिकांश दक्षिणी भू–भागमा कब्जासँगै लेबनानले कडा आपत्तिसहित राष्ट्र सङ्घको सुरक्षा परिषद्मा उजुरी दिएपछि यहाँ शान्ति सेना आउन थालेको हो । त्यसपछि इजरायली पछि हटेका थिए ।

सन् १९४८ को अबर इजरायल युद्धताकादेखि नै लेबनान र इजरायलको सिमानामा नीलो रेखा ९ब्लु लाइन ब्यारल० खडा गरिएको थियो, जसमा आफ्ना भू–भाग मिचिएको लेबनानको दाबी छ ।

सन् २००० र २००६ मा लेबनानको हजबुल्ला र इजरायली सेनाबिच सीमापार युद्ध भएको थियो । इजरायललाई संयुक्त राज्य अमेरिका र लेबनानका हजबुल्लालाई इरानको सहयोग मिल्दै आएको छ ।

इजरायलसँगको सीमाका अतिरिक्त लेबनानमा रहेका सिरियाली र प्यालेष्टाइन शरणार्थीका कारण सुरक्षा संवेदनशीलता बढ्ने खतरा हुन्छ । यहाँको सरकारले सिरियाली शरणार्थीलाई स्वदेश फर्काउन पहल गरिरहेको छ । यहाँ हाल छ हजार ३९५ सिरियाली शरणार्थी छन् । दक्षिणी लेबनानमा हिजबुल्लाको उपस्थिति बलियो भएकाले जुनसुकै बेला विवाद र हिंसा भड्किन सक्ने स्थिति हुन्छ ।

युनिफिल्ड मिसन ९लेबनान० मा हाल नेपालसहित विभिन्न ४२ मुलुकका १० हजार ६०० सैनिक शान्ति सेनामा खटिएका छन् । नेपाली सेना पश्चिम कमाण्डमा ८५० को सङ्ख्यामा खटिएको छ ।

नेपाली शान्ति सेनाले स्थानीय नागरिक र यहाँको सेनाको सहकार्यमा शान्ति स्थापनासम्बन्धी गतिविधि गर्दै आएको छ । हालसम्म यस मिसनमा ४४ हजार ७८८ जना नेपाली सेनाले सेवा गरिसकेका छन् भने कर्तव्यपालनका सिलसिलामा २९ जनाले वीरगति प्राप्त गरेका छन् ।

शान्ति सेना मिसनको गत भदौ १६ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्थलगत निरीक्षण गर्नाका साथै लेबनानका समकक्षी याकुब सराफसँग भेटवार्ता गर्नुभएको थियो ।

लेबनानको राजनीतिक स्थिति
एसिया महाद्वीपको मध्यपूर्वमा रहेको लेबनानको उत्तरमा सिरिया, दक्षिणमा इजरायल र पश्चिममा भूमध्य सागर पर्छ । सन् १९४३ नोभेम्बर २२ मा फ्रेञ्चको अधीनबाट स्वतन्त्र भएको यस देशको क्षेत्रफल १० हजार ४५२ वर्गकिलोकिटर छ, भने सन् २०१७ मा विश्व बैंकले गरेको गणनाअनुसार जनसङ्ख्या ६० लाख ८२ हजार छ । आन्तरिक र जातीय विवादका कारण एक दशकयता राष्ट्रिय जनगणना भएको छैन ।

जनसङ्ख्याको करिब आधा हिस्सा ब्राजिललगायत युरोपेली मुलुकमा व्यवसाय र कामका लागि जाने गर्छन् । अहिले नयाँ सरकार बनाउने प्रक्रियामा प्रमुख दल छलफलमा छन् । यहाँको राजनीतिक प्रणालीअनुसार राज्यको उपल्लो तहमा दुई जातिबाट प्रतिनिधित्व हुन्छ । राष्ट्रपति क्रिश्चियन, प्रधानमन्त्री मुस्लिम ९सुनी० र सभामुख मुस्लिम ९सिया० समूहबाट चयन हुन्छ । लेबनानको भाषा अरबिक र फ्रेञ्च हो । यहाँ करिब ४५ प्रतिशत मुस्लिम र ४० प्रतिशत क्रिश्चियत तथा बाँकी अन्य धर्मावलम्बी छन् ।

गत अक्टोबर २६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजबुल्लामाथि थप प्रतिबन्ध लगाउनेसम्बन्धी कानुनमा हस्ताक्षर गरेको र सोही महिनामा राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले हिजबुल्ला लेबनानलाई निशस्त्रीकरण गरिनुपर्ने जनाएपछि हिजबुल्लाले कम खर्च गर्ने नीति लिई सिरियामा तैनाथ आफ्ना केही लडाकूलाई घर फिर्ता बोलाउन थालेको छ

Tags :
प्रतिक्रिया दिनुहोस