देशका अधिकांश भेगमा वर्षाको सम्भावना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

देशका अधिकांश भेगमा वर्षाको सम्भावना


प्रशासन संवाददाता

६ मंसिर २०७५, बिहिबार


काठमाडौं । देशको पहाडी भू–भागमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर देशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना औँल्याएको हो । आज दिउँसो पहाडी भेगमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने बाँकी स्थानमा सामान्यतया सफा रहने छ ।

रातको समयमा पनि पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । भोलि शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भेगमा सामान्यतया सफा रहने तथा मङ्सिर ८ गते देशभर मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको अधिकतम तापक्रम २२ र न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २७।२ र सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई डिग्री सेल्सियस रहेको छ ।

रातमा आकाश खुला हुने तथा दिउँसोपख मौसम सामान्य बदली हुने क्रम एक/दुई दिनदेखि जारी रहेकाले काठमाडौं उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । न्यूनतम तापक्रम स्थिर रहे पनि काठमाडौंमा बिहान र बेलुका बढी चिसो भएको छ । जाडोयाम भएकाले तापक्रममा फेरबदल भई चिसो क्रमशः बढ्दै जाने महाशाखाको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस