बलात्कारपछि हत्या : न्याय पाउने हरायो आश « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बलात्कारपछि हत्या : न्याय पाउने हरायो आश


प्रशासन संवाददाता

२ मंसिर २०७५, आइतबार


जीतपुर । सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । ‘आमा म नाच हेर्न जान्छु’ कपिलवस्तुको बाणगङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर आएपछि खाना खाउँला भनी हिँडेकी छोरी जिन्दगीभरि नआउने गरी सधैँका लागि बिदा लिइन् ।

‘मेरी छोरीको अस्मिता लुटेर अकालमा हत्या गरियो’, आमा फहियाले आँखाभरि आँशु झाँर्दै भनिन्,’ छोरीको हत्यारा अहिलेसम्म पक्राउ नपर्दा दुःख लागेको छ ।’ विसं २०६८ असोज १४ गते घरको नजीकै थारु समुदायको सांस्कृतिक कार्यक्रम हेर्न जाँदा शिवरानीको अर्को दिन बिहान बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजीकैको नहरमा शव भेटिएको थियो । ‘म छिट्टै आउँछु है भनेर छोरीले भनेको बोलीको झझल्को अझै पनि बिर्सन सक्दिन’, फहियाले भनिन्, ‘ छोरीको हत्या भएको सात वर्ष बित्दा पनि हत्यारालाई कारवाही हुन सकेन ।

हामीजस्ता गरिबहरुको कसले न्याय गर्छ’, उनले दुःखको पीडा सुनाउँदै भनिन् । उनी कुरा भन्दै जाँदा बीचैमा टोलाउछिन् ।
शिवरानीका हजुरबुवा कुल्चा थारुले हत्यारा पत्ता लगाउनका लागि पटक पटक प्रहरीलाई दबाब दिइए पनि हालसम्म पनि न्याय पाउन नसकेको गुनासो गरे । ‘छोरीलाई पाउने आशा त अब जिन्दगीभरि नै रहेन तर अस्मिता लुटेर हत्या गर्ने अपराधीलाई कारवाही भएको देख्न पाए थोरै भए पनि न्याय पाएको अनुभूति हुने थियो’, शिवरानीका बुवा कुलुचाले भने ।

फहियालाई मानसिक रोगले समेत सताउने गरेको छिमेकीले बताएका छन् । हत्याका बारेका सूक्ष्म र गहन ढङ्गले अनुसन्धान गरिँदैआएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक गोविन्द राउतले जानकारी दिए ।

अपराधीलाई ढिलै भए पनि कानुनी दायरामा ल्याई पीडितलाई न्यायको अनुभूति दिलाइने प्रहरी निरीक्षक राउतले बताए । जिल्लामा हुने यस्ता खाले जघन्य घटनाका अपराधीलाई यथाशीघ्र प्रहरीले पक्राउ गरी कानूनअनुसारको कारवाही र पीडितलाई न्यायको अनुभूति दिन प्रहरी तदारुकताका साथ लाग्नु पर्ने नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाई बताउछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस