‘गुपचुप सरुवा’ गरेर महानिर्देशक सम्पर्कविहिनः फोन नउठ्दा सचिव नै आजित ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘गुपचुप सरुवा’ गरेर महानिर्देशक सम्पर्कविहिनः फोन नउठ्दा सचिव नै आजित !


प्रशासन विशेष ब्युरो

२ मंसिर २०७५, आइतबार


सरुवा

काठमाडौँ । फोन नउठ्नु अधिकांश कार्यालयको साझा रोग हो । तर, विभागीय निकायमै फोन नउठ्नु तथा प्रमुख नै मोबाइलसमेत स्विच अफ गरेर ‘सम्पर्कविहिन’ हुनु विडम्बना हो ।

कुरा स्वास्थ्य सेवा विभागको हो । स्वास्थ्य सेवा विभागको वेबसाइटमा महानिर्देशक डा. गुणराज लोहनीको फोटोसहित मुनितर्फ फोन नम्बर ०१–४२६१७१२ उल्लेख छ । त्यसैको ठिक तल सूचना अधिकारी महेश पाण्डे र फोन नम्बर ०१–४२६१४३६ रहेको छ । तर यी नम्बरहरूमा फोन गर्दा उठ्ने सम्भावना मुस्किलै हुन्छ ।

शुक्रवार अबेर गरेर विभागले दुई हजार बढी कर्मचारीको सरुवा गरेको विषयमा विभागको आधिकारिक धारणाका लागि कैयू पटक फोन गरियो तर उठेन । त्यसपछि महानिर्देशक लोहनीको मोबाइलमा सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ छ । यसै विषयमा बुझ्न विभागमा कार्यरत अर्का उपसचिव महेश पाण्डेलाई सम्पर्क गर्न खोज्दा उनको पनि मोबाइल अफ छ ।

विभागकै अर्का उपसचिव बाबुराम खनालले सरुवाबारे आफूलाई कुनै पनि जानकारी नभएको बताए । ‘म भर्खरै आएकोले हेर्दिन है, तपाइहरू आफै गर्नुहोस् भनेको थिएँ,’ उनले भने– ‘म त्यसमा सहभागी नै भएको छैन ।’

सरुवा भए नभएबारे उनले बोल्न नसक्ने बताए । ‘म बिहान आएको थिए, कसैलाई भेटिन्न, अफिसमा पनि कोही हुनुहुन्छ, यसबारे मैले बोल्न सकिन्न ।’

यसअघि पनि गरेका निर्णय सार्वजनिक नगरी वेबसाइटमा समेत नराखेर लुकाउनु, कार्यालयको फोन नउठाउनु र मोबाइलसमेत स्विच अफ गरेर बस्नु ! गुपचुप गुपचुप नयाँ नियम पो लागू भएछ कि भनेर मन्त्रालयका प्रवक्त्ता महेन्द्र बहादुर श्रेष्ठसँग बुझ्दा यसो हुनु गलत भएको बताए ।

‘निर्णय भइसकेको कुरा विभागले सार्वजनिक गर्नुपर्छ ।’ मन्त्रालयका प्रवक्त्ता श्रेष्ठले भने– ‘विभागको फोन उठ्नु पर्छ । र, महानिर्देशक जस्तो व्यक्ति सार्वजनिक पदधारी भएकोले मोबाइलसमेतमा सम्पर्क गर्दा विशेष परिस्थितिबाहेक उठाउनु पर्छ ।’

‘तपाईँले उठाउनु भएको कुरा जायज र गम्भीर छ । म यता पोखरा आएको छु, यसबारे आउने बित्तिकै बुझ्छु,’ प्रवक्त्ता श्रेष्ठको भनाई थियो ।

स्वास्थ्य मन्त्रालयका निमित्त सचिव सुशिलनाथ प्याकुरेलले फोन सम्पर्क नहुने समस्याबाट आफै आजित भएको बताए ।

‘बिहानै देखि मैले पनि सम्पर्क गरिरहेको छु मेरै पनि सम्पर्क हुन सकिरहेको छैन,’ निमित्त सचिव प्याकुरेल भन्छन्– ‘मैले पनि बिहानदेखि दुई तीन पटक फोनगरिसकेँ कोही फोन उठाउँदैनन् के भा हो कुन्नि !’

विभागले सरुवा गरेको विषयमा आफूलाई कुनै थाहा नभएको उनको भनाई छ । ‘सरुवाबारे मलाई पनि थाहा भएन, उहाँको समयअनुसार त कार्तिक महिनाभरि गर्नुपर्ने हो । शुक्रवार नै अन्तिम दिन परेकाले गरेको हुनसक्छ तर आधिकारीकरुपमा मन्त्रालयमा लिस्ट आई पुगेको छैन’ -निमित्त सचिव सुशिलनाथ प्याकुरेलले भनें ।

नउठाउनु भने गलत भएको उनको भनाई छ । ‘तपाईँले भनेजस्तै सूचनाको हकको पालना गर्नुपर्छ । यदि सरुवा नै भएको रहेछ भने पनि सरुवा भएको छ भन्दा के नै बिग्रन्छ र ?’ प्याकुरेलले भने, ‘सही काम गरेको छ भने जवाफै दिन पनि के गारो !’

त्यसो त यसअघि पनि विभागले १७ सय कर्मचारीको सरुवा गर्दा पनि यसैगरी सेटिङमा गुपचुप राखेको थियो ।   आर्थिक चलखेलमा सरुवा भएको भन्ने सूचनापछी  कर्मचारी सरुवामा चलखेल भनेर प्रशासन डटकमले समाचार प्रकाशन गरेको थियो । त्यसपछि विभागले सरुवाको लिष्ट ढिलोगरी वेवसाईटमा राखेको थियो । त्यतिबेला पनि विभागका महानिर्देशक गुणराज लोहनी यसैगरी सम्पर्कविहिन भएका थिएर अहिले पनि रातारात सरुवा गरेर सम्पर्क विहीन भएका छन् ।

कर्मचारी समायोजन ऐन ल्याउने तयारी भइरहँदा उच्च तहकै सुटिङमा रातारात कर्मचारीको सरुवा हुनु विडम्बना मात्रै होइन एक खाले विकृति नै हो ।

र यो पनि,

कर्मचारी सरुवामा ‘चलखेल’

Tags :
प्रतिक्रिया दिनुहोस