भ्याट नतिर्ने भन्दै देशभरका कपडा उद्योग बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भ्याट नतिर्ने भन्दै देशभरका कपडा उद्योग बन्द


२ मंसिर २०७५, आइतबार


काठमाडौं । शनिबारदेखि  देशभरका कपडा उद्योग बन्द भएका छन् । सरकारले भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएसँगै पटक पटकको ध्यानाकर्षण पछि पनि माग पुरा नगरेको भन्दै उद्योगीहरुले कपडा उद्योग बन्द गराएका  हुन् ।

भ्याटको पुरानै व्यवस्था कायम हुनुपर्ने माग गर्दै आएको नेपाल कपडा उद्योग संघले देशभरका सबै कपडा उद्योग बन्द गरिएको जानकारी दिएको छ । संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले आफूहरुको माग सम्बोधन नभए एक हप्ताका लागि बन्द भएका कपडा उद्योगहरु सँधैका लागि बन्द हुने चेतावनी दिएका छन् ।

विदेशी कपडासँग प्रतिस्पर्धा गर्नका लागि सरकारले नेपाली कपडा उद्योगलाई मूल्य अभिवृद्धि करको छुट दिँदै आएको थियो । कपडा उद्योगीहरु कर छुटको व्यवस्था नहुँदा विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसकिने बताउँछन् । चालु आर्थिक बर्षको बजेट घोषणमा सरकारले करको सिद्धान्त विपरित रहेको भन्दै कपडा उद्योगीलाई दिँदै आएको कर छुटको व्यवस्था खारेज गरेको थियो । लगत्तै व्यवसायीले कर निर्धारण सम्बन्धी निर्णयलाई पुर्नविचार गर्न आग्रह गर्दै निवेदन दिएका थिए।

सरकारले उद्योगीका माग बारे छलफल गर्न कार्यदल गठन गरेपनि केही उपलब्धी नहुँदा उद्योग नै बन्द गर्ने अवस्थामा पुगेको उद्योगीको भनाइ छ ।

नेपालको औद्योगिक क्षेत्रको ७ प्रतिशत हिस्सा कपडा उद्योगले लिएकोमा कुल निर्यात आयमा १५ प्रतिशत योगदान कपडा उद्योगले पुर्याएको छ ।

हाल देशभर दुई सय पचास भन्दा बढी कपडा उद्योग रहेका छन् जसमा ६० हजार श्रमिकले राजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस