निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट


प्रशासन संवाददाता

२ मंसिर २०७५, आइतबार


कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ का चार स्थानीय तहमा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट गरिएका छन् ।

दुई गाउँपालिका र दुई नगरपालिका रहेको निर्वाचन क्षेत्रमा एकरएक करोडका दरले रकम विनियोजन गरी योजना छनोट गरिएका हुन् । सो निर्वाचन क्षेत्रमा खानेपानीमन्त्री विना मगर निर्वाचित प्रतिनिधिसभाका सांसद रहेकी छन् ।

अर्थ मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षका लागि ‘एक निर्वाचन क्षेत्र’ मा चार करोडका दरले रकम विनियोजन गरेको छ । जिल्ला समन्वय समिति कञ्चनपुरमा सम्पन्न भएको निर्वाचन क्षेत्र विकास योजना छनोटअन्तर्गत बेलडाँडी, लालझाडी गाउँपालिका र बेलौरी, पुनर्वास नगरपालिकामा एकरएक करोडका योजना छनोट भएका छन् ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले चारै स्थानीय तहमा सांसद एवं खानेपानीमन्त्री मगरले समान रूपमा बजेट विनियोजन गरी योजना छनोट गरेको बताइन् । उनका अनुसार निर्वाचन क्षेत्र नं १ का सबै योजना टुङ्गो लागेका छन् । पुनर्वास र बेलौरी नगरपालिकामा छरछ योजना छनोट गरिएका छन् भने लालझाडीमा चर र बेलडाँडी गाउँपालिकामा छ योजना छनोट भएका छन् ।

पुनर्वासमा भ्यूटावर र शहीद भवन, बेलौरीमा रङ्गशाला, जटीबुटी केन्द्र निर्माण, लालझाडीमा रानाथारू बालउद्यान एवं घरबास र बेलडाँडीमा ऐतिहासिक प्राकृतिक कालिकिच ताल एवं सीमसार संरक्षणका लागि नयाँ योजना अघि सारिएको छ । पुनर्वास नगरपालिकामा लामैया नाला पुल निर्माण ४० लाख, पुनर्वास कभर्डहल निर्माण २० लाख, शहीद भवन निर्माण १० लाख, भ्यूटावर निर्माण १० लाख, दिव्य भवन १० लाख र गैसमति चर्च १० लाखका योजना छनोट गरिएको छ ।

बेलौरी नगरपालिकाअन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत छनोट भएका योजनामा बेलौरी रङ्गशाला निर्माण ५० लाख, पडाउ गाउँ कालोपत्रे १५ लाख, रामनगर जडीबुटी केन्द्र निर्माण १५ लाख, त्रिपुरासुन्दरी मन्दिर निर्माण १० लाख र तटबन्ध सुतियानालामा १० लाखका योजना छनोटमा परेका छन् । लालझाडी गाउँपालिकामा रानाथारू घरबासरबाल उद्यान निर्माणका लागि ५० लाख, चाँदेवदेखि नन्दगाउँ सडक स्तरोन्नति २५ लाख र नन्दगाउँदेखि गडबिजलाताल सडक स्तरोन्नतिका लागि २५ लाख योजना छनोटमा परेका छन् ।

यसैगरी, बेलडाँडी गाउँपालिकामा कालिकिच ताल पर्यटन प्रवर्द्धनका लागि ४० लाख, वडा नं ३ मा सडक स्तरोन्नति २० लाख, जोगेन्द्र थापाको घरदेखि लक्ष्मण थापाको घरसम्म सडक स्तरोन्नति १० लाख, सीमसार संरक्षण १० लाख र रामजानकी मन्दिर निर्माणका लागि १० लाखका योजना छनोटमा परेका छन् । निर्वाचन क्षेत्र नं २ र ३ मा योजना छनोटमा विवाद भएकाले केही योजना टुङ्गो लाग्न बाँकी रहेको प्रमुख तामाङले बताए । रासस

प्रतिक्रिया दिनुहोस