पूर्वउपसभामुखले नै छोरीसरह बुहारीलाई अन्माएपछि … « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पूर्वउपसभामुखले नै छोरीसरह बुहारीलाई अन्माएपछि …


२ मंसिर २०७५, आइतबार


बाँके । सङ्घीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन् ।

२०७२ को महाभूकम्पमा परी जेठा छोरा अच्युतराज सुवेदीको मृत्यु भएपछि एकल जीवनयापन गर्दै आएकी बुहारी शर्मालाई उनीहरुले शनिबार आफ्नै घरबाट नेपालगञ्जका सुधीर गौतमसँग विवाह गरी अन्माएर पठाएका हुन् ।

‘मालतीको इच्छा र उनले नै खोजेको नयाँ जीवनसाथीसँग घरबाटै टिकोटालो गरी मलाई नयाँ जीवनको शुरुआत गर्न आर्शीवाद दिनुहोस् भनेपछि हामी पनि उनको खुशीमा सहभागी भएका हौं’ पूर्वउपसभामुख सुवेदी भनिन् ।

उनले छोराको अवसानपछि दुई नाति र बुहारी मालतीको भविष्यप्रति आफूहरु चिन्तित रहेकै बेलामा मालती आफैंले छानेको बरका साथ उनलाई खुशी देख्नको लागि विवाह गरिदिएको बताइन् । मालतीका यसअघि दुई छोरा छन् ।

समाजले एकल महिला त्यसमा पनि बुहारीलाई छोरी बनाई घरबाटै अन्माइ पठाउनु सुवेदी दम्पतीका लागि केही असहज भए पनि समाजलाई साँच्चिकै परिवर्तन गर्नका लागि उदाहरण भएको नेकपाकी नेतृ तथा प्रदेश ५ प्रदेशसभा सदस्य कृष्णा केसीको भनाइ छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस