क्यालिफोर्नियाको डढेलोमा ६०० भन्दा बढी अझै बेपत्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

क्यालिफोर्नियाको डढेलोमा ६०० भन्दा बढी अझै बेपत्ता


प्रशासन संवाददाता

३० कार्तिक २०७५, शुक्रबार


प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको भीषण डढेलोका कारण ६ सय भन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।

खोजी कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । बिहीबार प्राप्त पछिल्लो सूचनामा उद्धारकर्मीहरुले करिब ६३१ जना बेपत्ता भएको स्पष्ट गरेका छन् । साथै उनीहरुले थप सात जनाको शव आगलागी भएको जङ्गलबाट निकालेको जनाएका छन् । यसअघि उक्त डढेकोमा परी करिब ३०० जना बेपत्ता भएका बताइएको थियो ।

यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जङ्गलमा अकस्मात आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुत गतिमा फैलिएको थियो । आगो नियन्त्रणमा ल्याउन ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।

गत नोभेम्बर ८ मा शुरु भएको सो डढेलोमा परी बिहीबारसम्म मृत्यु हुनेहरुको संख्या ६३ पुगेको छ । डढेकोबाट जङ्गल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनर्निर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ ।

अमेरिकी सञ्चारमाध्यमले विभिन्न स्रोत उल्लेख गरी अझै कैयौँ व्यक्ति बेपत्ता रहेको हुन सक्ने जनाएका छन् । बेपत्ता व्यक्तिका खोजी, उद्धार र आगो निभाउने कार्य जारी रहेको र आगो निभाउने कामका लागि हजारौं अग्नि नियन्त्रक परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।

क्यालिफोर्नियाको जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डढेलोबाट खासगरी जङ्गलको आसपास बसोबास गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन् । पछिल्लो समयमा गत नोभेम्बर ८ मा अकस्मात बढेको आगोका कारण धेरै मानिस हताहत भएका हुन् ।

राष्ट्रपति ट्रम्पले प्रभावित क्षेत्रको भ्रमण गर्ने

यसैबीच प्राप्त एक समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त डढेलो लागेको पश्चिमी क्षेत्रको भ्रमण गरी आगलागी पीडितहरुलाई भेट्ने भएका छन् । उनले उक्त क्षेत्रको भ्रमण गरी आगलागीमा परी ज्यान गुमाएकाहरुका परिवारलाई भेट गर्ने
भएको सो समाचारमा जनाइएको छ ।

अमेरिकी अधिकारीहरुले राष्ट्रपति ट्रम्पले भोलि शनिबार ती परिवारका सदस्यहरुलाई भेट्ने भएका छन् । उक्त राज्यको इतिहासमा नै यो डढेलो सबैभन्दा विध्वंसात्मक रहेको बताइएको छ ।

पछिल्लो पटक द्रूत गतिमा बढेको आगो सिएरा नोभादा पहाडमा फैलिएको थियो । आगोको गति अनुसार बृद्धबृद्धा दौडिन नसकेका र उनीहरुका सवारी साधनलाई नै आगोले भेटाउँदा उनीहरुको ज्यान गएको थियो ।

यो सियरा पहाडमा बढेको डढेलोका कारण मृत्यु हुने व्यक्तिहरुमा बढी बृद्धबृद्धाहरु रहेका छन् । आगोमा डढेर मृत्यु भएका व्यक्तिको पहिचान गर्न गाह्रो भएको बताइन्छ । शरीर जलेका कारण व्यक्तिको पहिचान गर्न नसकेपछि गाउँका हराएका व्यक्तिका आफन्तको डिएनए परीक्षण गरिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस