प्राविधिक शिक्षामा बढ्दो आकर्षण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्राविधिक शिक्षामा बढ्दो आकर्षण


प्रशासन संवाददाता

३० कार्तिक २०७५, शुक्रबार


खोटाङ । पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

खोटाङ । पछिल्लो समय प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । पढाइपछि सहजै रोजगारी पाइने भएकाले यसप्रति विद्यार्थीको आकर्षण बढेको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेगढी नमुना बहुप्राविधिक शिक्षालयले चालू वर्षदेखि वन विज्ञान (फरेस्ट्री) विषयमा कक्षा सञ्चालन गरेको छ । शिक्षालयले कृषि, फरेस्ट्री, भेटेरिनरी, ओभरसियर, सब–ओभरसियर, प्लम्बर, कम्प्युटरलगायत सीपमूलक विषय पढाइरहेको छ ।

सात वटै प्रदेशमा एक/एक नमुना बहुप्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको कार्यक्रमअनुसार प्रदेश नम्बर १ का लागि खोटाङमा शिक्षालय स्थापना गरिएको हो ।

शिक्षालयमा आगामी शैक्षिक सत्रदेखि सबै विषय पढाइ हुने भएको छ ।

सोही नगरपालिकाको वडा नम्बर १ मा स्थित सरस्वती माविले पनि प्राविधिक शिक्षाअन्तर्गत कृषि बाली विज्ञान (जेटिए) विषयको १८ महिने कोर्स सञ्चालन गरेको छ । ४० विद्यार्थीले उक्त कोर्स पढिरहेका छन् ।

विद्यालयका प्रधानाध्यापक ध्यानबहादुर राईका अनुसार उक्त कोर्स पढ्नका लागि ६६ जनाले आवेदन दिएकोमा प्रवेश परीक्षा लिई उत्कृष्ट ४० छनोट गरिएको हो । विद्यालयले २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक कक्षा सञ्चालन गर्ने जनाएको छ ।

नगरपालिकाको वडा नम्बर १२, जालपास्थित ज्योति माविले पनि पशु विज्ञान विषयको १८ महिने कक्षा सञ्चालन गर्ने भएको छ । ज्योति र सरस्वति माविले यसै वर्षदेखि पठनपाठन सुरु गरेका हुन् ।

जिल्लामा सिभिल इन्जिनियरिङ, वन विज्ञान, कृषि जेटीए, पशु जेटिए, लघु उद्यम सहजकर्ता, ब्युटिसियन, मोबाइल मर्मतलगायत प्राविधिक विषयको अध्ययन तथा तालिममा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

सहजै रोजगारी पाइने भएकाले प्राविधिक विषय पढ्न लहर चलेको दिक्तेलस्थित पञ्च माविका प्रधानाध्यापक भवकृष्ण ढकालले बताए । ‘हाम्रो शिक्षा पद्धतिले अहिलेसम्म बेरोजगार जनशक्ति मात्र उत्पादन गर्‍यो,’ उनले भने, ‘त्यही भएर स्वरोजगार जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षाको आवश्यकता महसुस गरिएको हो ।’

पञ्च माविले आर्थिक वर्ष २०६९/०७० देखि मावि तहमा बाली विज्ञान विषय अध्ययन–अध्यापन गराइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस