प्रचण्डको अभिव्यक्ति र हाकिमसा’बलाई कारवाही ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रचण्डको अभिव्यक्ति र हाकिमसा’बलाई कारवाही !


बिनाराम खड्का

३० कार्तिक २०७५, शुक्रबार


प्रचण्डको अभिव्यक्ति र हाकिमसा’बलाई कारवाही !

पूर्वप्रधानमन्त्री प्रचन्डको भनाइ यस्तो आयो, ‘ठूला परिवर्तन भए भने संसारभर नै नयाँ आउने सरकारले ब्युरोक्रेसीको सबैभन्दा माथिल्लो लेयरलाई बिदा गरिन्छ ।’

‘राजाका पालामा तालिमप्राप्त, अझ ठुल्ठूला त तिनैमात्र छन् ।’

‘राजनीतिक नेतृत्वले संघर्ष गर्छन्, आन्दोलन गर्छन्, राष्ट्र र जनताको हितमा भनेर बलिदान गर्छन्, परिवर्तन ल्याउँछन् । दुई-चार वर्ष ठुल्ठूला हाकिमसँग बस्दाबस्दै नेताजति हाकिमजस्ता हुन्छन् ।’

सिंगो कर्मचारीतन्त्रलाई समग्रतामा दोषारोपन गर्ने टीकाटिप्पणी भइरहेको वर्तमान परिप्रेक्ष्यमा यी अभिव्यक्तिहरू सही निशानातिर सोझिएकाजस्ता देखिन्छन् । पहुँचवाला उपसचिव र सहसचिवलाई प्रदेशमा पठाउँदा एक श्रेणी बढुवा गरेर सुरुमै थिति बिगार्ने को हो ? सचिवको नेतृत्वमा माथिल्लो तहबाटै उदाहरणीयरूपमा समायोजनको प्रक्रिया थालनी गरी सचिवकै नेतृत्वमा प्रदेश अनि सहसचिव, उपसचिवको नेतृत्वमा स्थानीयतिर स–गौरव, राजीखुसी, हासीखुसी, जोस, जाँगर र उत्साहकासाथ निर्वाचन हुनुपुर्व नै समायोजन भई प्रदेश तथा स्थानीय सरकारलाई सुरुदेखि नै सफल बनाउन सफल कारिन्दाको रूपमा भूमिका निर्वाह गर्नुपर्नेमा तल्लो तहमा मात्रै पेलपाल पार्ने अनि आफूचाहिँ सिंहदरवारमै लेपास्सिएर अधिकार केन्द्रित गर्न खोज्ने उपल्लो स्तरको ‘लेयर’ को हो ?

हजारौ हजार कर्मचारी दशकौँदेखि स्थानीयको स्थानीयमै थिए । उनीहरूले स्थानीयमा गएबापत कुनै पदोन्नति मागेका थिएनन् । स्पष्ट कार्यविवरण र हाल कार्यरत स्थानीय तहमै दरबन्दी कायम गरे मात्र पुग्छ । हामी जननिर्वाचित स्थानीय सरकारको आदेश, निर्देशन र कार्यभार पूरा गर्न तत्पर छौँ भन्दा पनि आजपर्यन्त कार्यविवरण, दरबन्दी र पदस्थापनको त कुरै छोडौँ पारिश्रमिक भुक्तानीको सुनिश्चितता समेत नगरेर गन्जागोल पार्ने सिंहदरवारका हाकिमहरू को हुन् ?

सदियौँदेखि देशलाई कमाइखाने भाँडो बनाइरहेका पुस्तौनी नोकरशाही कर्मचारीतन्त्रका अवशेषहरू, देहातलाई लात हान्दै काठमाडौं आसपासमा घर घडेरी जोडजाम, बन्दोवस्त गरेका पहुँचवालाहरू, राजनीतिक नेतृत्वमा रहेको रहेलपहेल बुद्धि भुटभाट पार्दै संघ, संगठनको नाममा ‘बबरमहल वरिपरि ठडिएका’ गगनचुम्बी महलहरूबाट षडयन्त्रका जन्जाल तयार पार्दै राजधानी आसपास अड्डा जमाएर नेताका ‘चाकमुनि’ टाँसिएका चम्चागिरी किर्नाहरू, तिनका श्रीमती, नातागोता, इष्टमित्रलाई स्थानीय तह जान असुविधा भएकै कारण समायोजनमा जटिलताका हौवा खडा गरिएको छ ।

वास्तवमा समायोजनको नाममा व्यक्तिपिच्छे बनिरहेका अनेकन मस्यौदाका वान्कीहरू दशकौँदेखि स्थानीयमा रहेका हजारौँ कर्मचारीको लागि कोरिँदै छैनन् । तिनै हुक्के, चम्चे, चाटुकार, चाप्लुसीवाजहरूको निहित स्वार्थको फेरोमा सकेसम्म उपत्यका भित्रकालाई उपत्यका छोड्नुनपर्ने बन्दोवस्त मिलाउने प्रपञ्चमा फनफनी घुमिरहेको छ, समायोजन प्रक्रिया । यसमा फ्याक्सबाट पत्र मगाएर भोलिपल्टदेखि नै खटाइएको ठाउँमा अनवरत खटिरहेका कर्मचारीहरूको कुनै आवाज, भावना र धड्कन समेट्नको लागि विलम्व गरिएको छैन । बरु दशकौँदेखि अविच्छिन्न रूपमा राजधानी, सिंहदरवार तथा कमाउ अड्डा नछोडेका, नेताजीको कपालमा चाँयासरि टाँसिएका केही प्रतिशत बाह्रमासे चम्चागिरीहरूको स्वार्थमा धक्का लाग्ने देखिएको कारण समायोजनले गति लिन नसकेको हो ।

विभिन्न बहानामा काम गर्ने र नगर्नेलाई एउटै मुग्रोले नहिर्काइयोस् । सिंहदरवारका कुनामा बसेर भित्रभित्रै अव्यक्त र अघोषित रूपमा संघीयता खारेज गर्ने गुप्त षडयन्त्रमा लिप्त तारतम्य मिलाइरहेका ‘ठुल्ठुला हाकिम’लाई समायोजन गरेर प्रदेश र स्थानीय तहमा पठाइयोस् । हामी जागिरीको सुरुदेखि अन्त्यसम्म स्थानीयमै रहेकालाई, स्थानीयमै खटेकालाई केको समायोजन ? केको वृत्ति विकास ? ‘मर्नेबेला हरियो काँक्रो’ ! हामीलाई किन चाहियो सुविधा र अवसर ? त्यो अवसर, सुविधा, वृत्ति विकास नामको चरो कहिल्यै नअघाउने त्यहीकै स्यालहरूको खन्चुवा मुखमै परिरहोस् !

हामी तल्लो तहकालाई हाल कार्यरत स्थानीय तहमै साविककै तह र श्रेणीमा स्वतः दरबन्दी कायम र पदस्थापन भए पुग्छ ! हामीलाई हुलाकबाटै समायोजन र पदस्थापनको पत्र पठाए हुन्छ । पत्र पाएको भोलिपल्टै हाजिरी भएको जानकारी पठाउन हामी राजी खुसी छौँ । तमरा दुई ग्रेड हामीले मागेको पनि होइन । त्यो नभएर हामी भोकभोकै मर्ने पनि होइन ! हाम्रा बाजेले जागिरी नखाएरै, जीवनभर एउटा पनि ग्रेड वृद्धि नभइकनै ८०/९० वर्ष बाँचेकै थिए !

अहिले पनि हामी भन्छौं- दुर्गम दुरदराजमा कार्यरत कुनै पनि कर्मचारी आफ्नो ५ जनाको जहान परिवार हलो, फालो, कोदालो गरेर, जमिन जोतेर पनि पाल्न सक्ने अवस्थामा छन् । अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले दाउरा चिरेरै पेट पालेका थिए कुनै बेला । दुब्लै पात्लै सही, दिनमा ७/८ घन्टा कठोर शारीरिक परिश्रम गर्नसक्ने स्वस्थ अवस्थामा छन् स्थानीयतिरका कर्मचारी । त्यता सहरतिर खाँदा भएका अनेकथरि रोगहरू र सुकेनाश लागेका खुट्टा र रोगको थुप्रो ध्याम्पोजत्रो कहिल्यै नभरिने विचित्रको पेट दुर्गम स्थानीय कर्मचारीमा छैन । ठुल्ठूलो महत्वाकांक्षा र अपेक्षा पनि हामीमा छैन । भए निश्चित विधि, प्रक्रिया र प्रावधान अनुसार, सबैलाई न्यायोचितरूपमा वृत्ति विकास होला नत्र कसैको दया, माया, भिख, भिक्षा, प्रलोभन र अपुतालीस्वरूप बिना अर्थको ‘पानी बढुवा’ हामीलाई चाहिएको पनि छैन ।

पछिल्लो समय विभिन्न माध्यमबाट राजनीतिक नेतृत्वबाट कर्मचारीप्रतिको आक्रोश चुलिँदो क्रममा छ । साताअघि मात्र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आम कर्मचारीप्रति आक्षेप लाग्ने खालको अभिव्यक्ति सार्वजनिक गरे । फेरि अर्का पूर्व प्रधानमन्त्री प्रचन्डले सोही व्यहोराको तर केही विशिष्टिकृत गरी उपल्लो तहतिर इंगित अभिव्यक्ति दोहोर्‍याउनुभयो । केही कर्मचारी विशेषतः उपल्लो तहको कारण यी पछिल्ला अभिव्यक्तिहरू जनमानसमा स्वभाविक लाग्न थालेका छन् । तर, राजनीतिक नेतृत्वलाई हेक्का रहोस् कि आज पनि हजारौँ हजार कर्मचारीहरू खटाएको ठाउँमा निःस्वार्थ भावले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । २/४ जनाको कारण पर्न गएको वितृष्णाको दोष आमरूपमा सामान्यीकरण गरेर सबैमाथि नथोपरियोस् । प्रदेश र स्थानीयमा नजानेलाई कारवाहीको सुरुवात उपल्लो तहबाटै होस् । निसाना सही ठाउँमा लगाइयोस् । समस्याको उत्पत्ति जहाँबाट भएको हो सोही ठाउँबाट समाधान खोजियोस् ।

हाकिमीसँग कुम जोडेर तल्लो तहका निमुखा कर्मचारीमाथि तरवार उज्याउने काम नहोस् ! ‘तातोपानी कुन्डको तातोपानी’ले उच्चतम् नेतृत्वको सद्बुद्धि पलाओस् ! समायोजनको कलाविहीन नाटकले ७५ सालको जाडो नकाटोस् ! यति उच्चतम तहबाट बोलिएको कुरा हावामा विलोप नहोस् । बोलेको भोलिपल्ट ठुल्ठूला हाकिम र चम्चागिरीको घेरामा परेर ‘हैन मैले त्यस्तो बोलेकै छैन, मिडियाले बंग्याएको’ स्पष्टीकरण सुन्नु नपरोस् । प्रधानमन्त्री सरहका शक्तिशाली व्यक्तित्वले बोलेका कुरा ‘अर्का अध्यक्ष’ले हावामा हाच्छु गरेझैँ अर्थहीन नहोस् । बोलेका कुराको शव्दशक्ति देख्न पाइयोस् ।

आवाजमा भरिएको हावाले पृथ्वी लोकमा दुर्गन्ध फैलाउने काम मात्र नगरोस् । र, हलो अड्काउने उच्चतम तहका लेयरहरूको नामावली छिट्टै पढ्न पाइयोस् । यति धेरै उच्चतमले बोलेको कुरा कार्यान्वयन होस् । २०५९-२०७५ अनवरतरूपमा स्थानीय तहमा कार्यरत कर्मचारीको तर्फबाट हार्दिक शुभकामना ।

Tags :
प्रतिक्रिया दिनुहोस