२० प्रतिशत युवती २० वर्षमुनिकै आमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२० प्रतिशत युवती २० वर्षमुनिकै आमा


प्रशासन विशेष ब्युरो

२९ कार्तिक २०७५, बिहिबार


डोटी । डोटी जिल्लामा २० प्रतिशत युवतीहरू २० वर्ष उमेर नपुगी आमा बन्ने गरेको एक तथ्याङ्कले देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/०७५ मा डोटीमा कुल पाँच हजार पाँच सय ३७ गर्भवती महिलामध्ये एक हजार ८२ जना २० वर्ष मुनिका रहेका छन् । ‘गर्भ जाँच गराउन आएका महिलाहरूमध्ये २० प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेका छन्’ जिल्ला स्वास्थ्य कार्यालय डोटीका सम्पर्क व्यक्ति कपिलदेव जोशीले भने ‘सम्पर्कमा नआएका गर्भवती युवतीहरू अरू पनि हुन सक्छन् ।’ यस्तै जिल्लामा सो अवधिमा गर्भ पतन गराउने एक हजार ७४ मध्ये ४४ जना २० वर्ष भन्दा कम उमेरका रहेको समेत जोशीले जानकारी दिए । मुलुकी (अपराध संहिता) ऐन, २०७४ अनुसार विवाहको उमेर २० वर्ष भए पनि जिल्लामा २० वर्ष उमेर नपुगी आमा बन्नेको सङ्ख्या धेरै रहेको उनले बताए ।

समाजमा अझै पनि कण्डमप्रति सकारात्मक धारणा नरहेकोले बढी अनईच्छित गर्भ रही सानो उमेरका महिलाहरूको सङ्ख्या बढी देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख डा. भूषण मिश्रले बताए । उनले भने ‘कण्डमले अनईच्छित गर्भ रहनबाट रोक्छ, यसको साथसाथै एचआईभी र अन्य यौन संक्रामक रोगहरू सर्नबाट रोक्छ त्यसैले कण्डमको विषयमा समाजमा खुला रूपमा बहस चलाउनु जरुरी छ ।’ मिश्रले कण्डमनै सबैभन्दा भरपर्दो परिवार नियोजनको अस्थायी साधन भएको र यसको कुनै साइड ईफेक्ट नभएको समेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस