श्रीलंकामा राजनीतिक संकटः संसद बैठकमा कुटाकुट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

श्रीलंकामा राजनीतिक संकटः संसद बैठकमा कुटाकुट


प्रशासन संवाददाता

२९ कार्तिक २०७५, बिहिबार


एजेन्सी । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट भएको छ ।

बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकारी सभामुखसँग नभएको बताए लगत्तै सांसदहरुबीच हात धक्कामुक्की भएको हो ।

यो घटना संसदले राजपक्ष सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको एक दिनपछि भएको हो । संसदको बैठक बस्ने वित्तिकै सभामुख करु जयसूर्याले देशमा सरकार नभएको र राजपक्ष र राष्ट्रपतिले अपदस्थ गरेको रनिल विक्रमासिंघे दुवै प्रधानमन्त्री नभएको बताएका थिए। राष्ट्रपति सिरिसेनाले अक्टोबर २६ मा विक्रमासिंघले अपदस्थ गरेपछि श्रीलंकामा राजनीतिक संकट उत्पन्न भएको छ ।

संसदमा राजपक्षेले महत्वपूर्ण विषयमा ध्वनीमतका आधारमा फैसला गर्न नहुने भन्दै मतदान हुनुपर्ने माग गरेका थिए । उनले राष्ट्रपतिले नियुक्त गरेको प्रधानमन्त्री र मन्त्रिपरिषदलाई सभामुख जयसूर्यालाई हटाउने अधिकार नभएको दावीसमेत गरे ।

राजपक्षले सभामुखले विपक्षी दलको सांसदको भूमिका निर्वाह गरेको आरोप लगाएका छन् । उनले नयाँ चुनाव नै अहिलेको संकटको समाधान भएको बताए। राजपक्ष सांसदहरुले पुनः मतदान हुनुपर्ने माग गरेपछि झपड भएको थियो । राजपक्षका समर्थकहरुले नारा लगाउँदै संसदको मध्यभागमा जम्मा भएका थिए र केही सभामुखतर्फ होहल्ला गर्दै अघि बढेका थिए ।

करिब तीन दर्जन सांसदबीच झडप भएको थियो । धक्कामुक्कीको क्रममा केही सांसद भुँइका ढलेका थिए र विपक्षीहरुले लातले हानेका थिए । राजपक्षका समर्थक सांसदहले पानीका बोतल, किताब र फोहोरको बट्टाले सभामुखमाथि प्रहार गरेका थिए । राजपक्षका विपक्षी रहेका सांसदहरुले सभामुखलाई घेरेर सुरक्षा दिइरहेका थिए । सभामुखले संसद बैठक स्थगित गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस