विकास निर्माणमा बेथिति : डेढ दशकमा पनि बनेन झोलुंगे पुल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विकास निर्माणमा बेथिति : डेढ दशकमा पनि बनेन झोलुंगे पुल


प्रशासन संवाददाता

२८ कार्तिक २०७५, बुधबार


डोटी । शिखर नगरपालिका–११ तल्लिसातमा डेढ दशकअघि निर्माण सुरु भएको तल्लीसात झोलुंगे पुल अझै सम्पन्न हुन सकेको छैन ।

२०६१ सालमा निर्माण सुरु भएको पुल अहिले अलपत्र छ ।  पुल निर्माण गर्न साविकको जिल्ला विकास समितिले २०६१ सालमा निर्माण व्यवसायी दावा शेर्पासँग ठेक्का सम्झौता गरेको थियो । तर, उनले बीचमै काम छाडे । लामो प्रक्रियापछि उनीसँगको ठेक्का रद्द गरियो । त्यसपछि पुल निर्माणका लागि पुनः निर्माण व्यवसायी छत्रसिं कठायतसँग निर्माण सम्झौता गरियो । तर, तोकिएको समयमा काम पूरा भएन ।

स्थानीयका अनुसार पुलको साइडमा जालीको बार राखिएको छैन भने केबल पनि कस्सिएका छैनन् ।  पुलको केबल र अन्य सामग्री निर्माण स्थलमा अलपत्र छन् । निर्माण पूरा नहुँदै यात्रुहरूले पुलबाटै आउजाउ गर्न थालेपछि २०६८ सालमा पुल बांगियो । त्यसपछि पुल बनाउनुपर्ने माग राखी स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएपछि पुल सोझ्याइएको थियो ।  ठेकेदारले पुल निर्माण सम्पन्न नगर्न विभिन्न बहानाबाजी गरेको स्थानीयको आरोप छ । ‘ठेकेदारले आफ्नो काम पूरा गरिसकेको भन्छन् । तर, पुल निर्माण पूरा हुन सकेको छैन,’ एक स्थानीयले भने ‘पुलको बाँकी काम कसले गर्ने हो थाहा छैन ।’
पुलका केबलहरू कस्सिएका छन् । यात्रु ओहोरदोहोर गर्दा पुल हल्लिने गरेको स्थानीय बताउँछन् ।

पुलका केबल नकस्सिएकाले बाँगिएको शिखर नगरपालिका–११ का देवबहादुर किमाडी बताउँछन् । ‘पुल निर्माण सुरु हुँदा द्वन्द्वकाल थियो, अहिले देशमा गणतन्त्र आइसक्यो, हाम्रो बारपाटा गाउँ विकास समिति नगरपालिकामा परिणत भइसक्यो’ उनी भन्छन्, ‘१४ वर्षमा धेरै विकास भयो । तर, यो पुल बनेन ।’ पुल निर्माण सम्पन्न गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ हुन नसकेको उनको गुनासो छ ।  यस क्षेत्रबाट चुनाव जितेका नेताले पनि पुल निर्माण पूरा गर्न पहल नगरेको स्थानीय गुनासो पोख्छन् । एक स्थानीय भन्छन्, ‘मेयरसा’ब त चुनाव जितेपछि पनि दुई/तीन पटक यो पुलमा हिँडेका । तर, कुनै चासो नराखेको ।’
यस विषयमा ठेकेदार कठायतसँग मोबाइलमा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस