नेपालकै पहिलो हरित होटेल-सोल्टी वेस्टेन्ड प्रिमियर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालकै पहिलो हरित होटेल-सोल्टी वेस्टेन्ड प्रिमियर


प्रशासन विशेष ब्युरो

२४ कार्तिक २०७५, शनिबार


सोल्टी वेस्टेन्ड प्रिमियर

नेपालगन्ज । सुविधा सम्पन्न तारे होटेलमा प्रायः बढी ऊर्जा खपत हुन्छ । ती होटेलबाट धेरै मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन हुँदा ऊर्जाको भार बढ्नुका साथै वातावरणीय असर पनि पु¥याएको हुन्छ तर यहाँको भुजइगाउँ, वासुदेवपुरमा तारे होटेलकै रूपमा सञ्चालन भइरहेको ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ वातावरण अनुकूलन छ । यो होटेल नेपालकै पहिलो हरित (ग्रिन) होटेल मानिएको छ ।

हेर्दा सामान्य होटेल जस्तै देखिए पनि यसले अपनाएको प्रविधि पूर्ण वातावरण मैत्री छ । कार्बनडाइअक्साइड उत्पादन नगर्ने नेपालको पहिलो होटेल दाबी गरिएको छ । ‘जिरो कार्बन फुट प्रिन्ट’, एसीरहित, वातावरण अनुकूलनका लागि रेडियन टेक्नोलोजीको प्रयोग गरिएको होटेलमा फोहोर व्यवस्थापन प्रविधिले फोहोर प्रशोधन गरी तरल पदार्थलाई पानीका रूपमा प्रयोग गर्छ भने ठोस वस्तुलाई मलखादका रूपमा प्रयोग गर्दै आएको छ ।

वातावरण जोगाउने उद्देश्यले युएस ग्रिन बिल्डिङ काउन्सिलको सुपरिवेक्षणमा होटेल निर्माण भएको महाप्रबन्धक इन्द्र खड्का बताउँछन् ।

उनका अनुसार होटेलको संरचना, होटेल बन्ने क्षेत्र लगायत सबै उक्त काउन्सिलको मापदण्डमा आधारित र काउन्सिलले पनि प्रिमियरलाई कार्बनडाइअक्साइड उत्पादन नगर्ने होटेलको श्रेणीमा सिल्भर क्याटागोरीअन्तर्गत राखेको छ । हालै उक्त प्रमाणपत्र होटेलले हात पारेको हो । एलइडी बत्ती, एसीको सट्टामा रेडिएन टेक्नोलोजीको प्रयोग गरिएको छ । फोहोर, बत्ती, एसी, पानी व्यवस्थापन त्यही मापदण्डअनुसार छ ।

रेडियन प्रविधि खास गरी युरोपियन जर्मनी, क्यानडालगायत मुलुकका होटेलमा छ । मानिसको खानपान र बसाइँमा परिवर्तन आइसकेको छ, स्वस्थकर खानपान र स्वच्छ वातावरणमा बस्न चाहनेका लागि र आउँदो पुस्तालाई पनि प्रेरणा मिलोस् भनेर नयाँ प्रविधि सुरु गरिएको महाप्रबन्धक खड्काको भनाइ छ ।

विद्युत्मा मितव्ययिता अपनाएको उक्त होटेलमा स्वास्थ्य वातावरणका साथै चिसो तातोमा बस्न नसक्नेहरूका लागि उपयोगी पनि छ । बाहिरबाट आएको हावालाई प्रशोधन गरेर भित्र पठाउने र सोही हावा बाहिर जाँदा अझ सफा गरेर पठाइन्छ । चुलोबाट निस्कने धुवाँलाई कार्बनरहित बनाइन्छ ।

जर्मनी प्रविधि भए पनि यसको व्यवस्थापन नेपाली इन्जिनियरले गरेका हुन् । होटेलका इन्जिनियर सुमन बाच्छा अहिलेको समकालीन विश्व वातावरण र जलवायु परिवर्तनको मुद्दा जल्लोबल्दो रहेको सन्दर्भमा पर्यावरण सन्तुलन कायम गर्ने उद्देश्यले यो प्रविधि अपनाइएको उल्लेख गर्छन् ।

ऊर्जा बचतका लागि एलइडी बत्ती प्रयोग गरिएको छ भने कोठाका झ्याल फराकिला छन् । जाडो महिनामा तातो र गर्मी महिनामा चिसो हुने स्वचालित रेडियन प्रविधि जडान गरिएको छ ।

नागबेलीजस्तो पानीको पाइपको कुलर बनाइएको छ । छिडरले पानी प्रत्येक कोठामा पठाउँछ । ठाउँ ठाउँमा सेन्सर जडान गरिएको छ । भवनमा व्यवस्थापन प्रणाली छ, भित्र तातो चिसो कति तापक्रममा छ भन्ने कुरा सहजै थाहा पाउन सकिन्छ । यसका लागि साढे पाँच लाख लिटरको पानी ट्याङ्की राखिएको छ । फायर फाइटिङका लागि ५० लाख लिटर पानी स्टक गरिएको छ ।

करिब ३८ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको सो होटेल र काठमाडौँस्थित सोल्टी होटेलको पहिलो भगिनी होटेल हो ।रु एक अर्ब २५ करोडभन्दा बढी खर्च भइसकेको सो होटेलमा बार, रेस्टुरेन्ट, ब्याङक्वेटका अलावा सेवाग्राहीले स्पा, जिम, स्टिम बाथ, स्विमिङपुलको सुविधा लिन सक्छन् । अबको एक महिनाभित्रै क्यासिनो सुरु गरिने योजना छ ।

उक्त होटेललाई पाँच तारे होटेलको मान्यता दिलाउन पर्यटन विभागले आवश्यक प्रक्रिया अघि बढाइसकेको छ । होटेलमा ८१ कोठा छन् । यहाँ एक जना एक रात बस्न चाहेमा चार हजार ३०० खर्चनुपर्ने छ । डोल्पा, रारा, मानसरोवर जाने पर्यटक यो होटेलमा बस्ने गरेका छन् । सन् १९६५ मा काठमाडौँमा स्थापना भएको उक्त होटेलले नेपालगन्जका अलावा चाँडै पोखरा र भैरहवामा समेत दुई होटेल सञ्चालन गर्ने योजनामा छ ।

होटेल एसोसिएसन अफ नेपाल(हान) का महासचिव विनायक शाह सोल्टी वेस्टेन्ट प्रिमियर पूर्ण वातावरण मैत्री होटेल भएको र यस्ता होटेललाई प्रोत्साहन आवश्यक छ भन्छन् ।

“होटेलले पाँच तारे मान्यता पाउने प्रक्रियामा छ, अब नयाँ आउने होटेलले पनि यस्ता प्रविधि अपनाउँछन् । पर्यटकले वातावरण मैत्री होटेल खोज्छन् अहिले अन्तर्राष्ट्रिय ट्राभल ऐजेन्सीहरुले वातावरण मैत्री होटेल खोजेर बुकिङ गर्ने गरेका छन्”, उनको भनाइ छ ।नेपालगन्जमा सुविधा सम्पन्न करिब २० होटेल छन् हानको नेपालगन्ज च्याप्टरमा आबद्ध ४० भन्दा बढी पर्यटकस्तरीय होटेल छन् ।

नेपालगञ्जको भुजईगाउँ, बासुदेवपुरमा सञ्चालित सोल्टी वेस्टेन्ड प्रिमियर होटलमा रेडियन टेक्नोलोजी बारे जानकारी गराउँदैँ इञ्जिनियर सुमन वाच्छा ।

Tags :
प्रतिक्रिया दिनुहोस