सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने


प्रशासन संवाददाता

२१ कार्तिक २०७५, बुधबार


नेपाल आयल निगम

काठमाडौँ  । नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ ।

निगमको थानकोटस्थित डिपोबाट काठमाडौं उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई आज ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताए । निगमले मङ्गलबार ८.५ लाख लिटर पेट्रोल र ८.३ लाख लिटर डिजेल विभिन्न पम्पलाई उपलब्ध गराएको थियो ।

डिपोले काठमाडौं उपत्यका, बनेपा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र सिन्धुलीका केही भू–भागका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ । प्रत्येक पम्पले माग गरे बमोजिमको इन्धन उपलब्ध गराइएको उनले जानकारी दिए । आज लक्ष्मी पूजाका दिन सार्वजनिक बिदा भए पनि थानकोटस्थित डिपो भने खुल्ला नै रहेको छ । निगमले सार्वजनिक बिदाका दिनसम्म पुग्ने गरी इन्धनको पर्याप्त मौज्दात राख्न र इन्धन आवश्यक परे ट्याङ्कर डिपोमा पठाउनसमेत आग्रह गरेको छ ।

सार्वजनिक बिदाका दिन भए पनि आकस्मिक रुपमा इन्धनको माग भएमा उपलब्ध गराउन दुई अधिकृतकसहित ८ कर्मचारीलाई तयारी अवस्थामा राखिएको डिपो प्रमुख रेग्मीले बताए । निगमले दशैँको सार्वजनिक बिदाका दिनमा समेत उपत्यकामा इन्धनको अभाव हुन नदिन डिपो खुल्ला नै राखेको थियो ।

निगमको थानकोटस्थित डिपोमा डिजेल ७० लाख र पेट्रोल ४० लाख लिटर भण्डारण क्षमता रहेको छ । डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेकाले कुनै अभाव नहुने उनले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस