किसानको गुनासो– फूलको उचित मूल्य पाइएन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

किसानको गुनासो– फूलको उचित मूल्य पाइएन


२१ कार्तिक २०७५, बुधबार


काठमाडौं । नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरू चिन्तित भएका छन् ।

भारतबाट आयातित फूलका कारण यहाँको उत्पादनले उचित मूल्य नपाएको किसानको गुनासो छ ।

आफूले उत्पादन गरेको फूल बेच्न काठमाडौं आएका काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिकाका शिवशंकर चौलागाईँ लगानी अनुसारको मूल्य नपाएपछि निरास छन् । ‘मेहनत गरेर यहाँसम्म फूल बिक्री गर्न ल्यायो । तर, फूलले बजार नै पाउँदैन,’ उनले भने, ‘भारतीय फूल पसलमा सजाएर राखिन्छन् । तर, नेपाली फूल सडक पेटीमा सजाएर राखिँदा पनि बिक्री हुन गाह्रो हुन्छ ।’

भारतबाट फूल आयात नरोकिएसम्म नेपाली फूलको मालाले बजार नपाउने उनको भनाइ छ ।

स्वदेशमा उत्पादन हुने फूलको बजारमा खासै माग नभएको काभ्रेकी समिता घिमिरेको अनुभव छ । उनले भनिन्, ‘काठमाडौंसम्म फूल बिक्री गर्न ल्याए गाडीभाडासमेत उठ्दैन ।’

घिमिरेका अनुसार फूल उत्पादक किसानलाई माथि उकास्न सरकार गम्भीर भएर लाग्नुपर्छ ।

नेपाली बजारमा ६ करोड ६० लाख मूल्य बराबरको फूलको कारोवार हुने गरेको छ, जसमध्ये भारतबाट ४० लाख रूपैयाँको फूल आयात हुने गरेको छ ।

फ्लोरिकल्चर एसोसियनका उपाध्यक्ष रामजीप्रसाद तिमल्सिनाका अनुसार यस वर्षको तिहारमा ११ लाख माला खपत हुने अनुमान छ ।

सयपत्री प्रतिमाला ४०–१०० रूपैयाँमा र मखमली २५–४० रूपैयाँमा बिक्री भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस