नवजात शिशुलाई एसओएस बालग्रामको संरक्षणमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नवजात शिशुलाई एसओएस बालग्रामको संरक्षणमा


प्रशासन संवाददाता

२१ कार्तिक २०७५, बुधबार


बनियानी । जिल्ला बालकल्याण समिति झापाले एकमहीने शिशु खुशी कार्कीलाई एसओएस बालग्राम इटहरी सुनसरीको जिम्मा लगाइएको छ ।

जिल्ला बाल कल्याण समिति झापाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले एसओएस बालग्राम इटहरीलाई सामाजिक सुरक्षासहितको जिम्मेवारीका साथ शिशु जिम्मा लगाएको हो ।

बिर्तामोड–५ मा बेवारिसे अवस्थामा फेला परेको शिशुको उद्धार गरी प्रहरीले मेची अञ्चल अस्पतालमा सुरक्षार्थ राखेको थियो । माइती घर दमक बताउने सङ्गीता दर्जीले विसं २०७५ असोज १९ गते जन्म दिएकी छोरी खुशीका पिता प्रेम कार्की बेपत्ता भई हिँडेको र आमा सङ्गीता पनि मादक पदार्थ सेवन गरी अचेत अवस्थामा रहने गरेको बताइएको छ ।

जिल्ला बालकल्याण समितिको निर्णयानुसार एसओएस बालग्रामका निर्देशक देवचरण चौधरी र प्रिन्सिपल शान्तिराम तिम्सिनासहितको टोलीलाई अञ्चल अस्पतालबाट खुसीलाई पत्रसहित जिम्मा लगाइएको सहायक प्रजिअ कृष्णचन्द्र पौडेलले जानकारी दिए । भद्रपुर वडा नं ८ को वडा कार्यालयबाट शिशुको जन्म दर्तासमेत गरी पठाइएको पनि उहाँले बताए । रासस

प्रतिक्रिया दिनुहोस