रोल्पामा कृत्रिम फूलको व्यापार बढ्दै, व्यापारीलाई भ्याइनभ्याइ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रोल्पामा कृत्रिम फूलको व्यापार बढ्दै, व्यापारीलाई भ्याइनभ्याइ


प्रशासन संवाददाता

२० कार्तिक २०७५, मंगलबार


रोल्पा । रोल्पा नगरपालिका–१० धवाङकी विनमती सुनारले एका बिहानै सदरमुकाम लिवाङमा रहेको एक पसलमा भाइटीकाका लागि प्लाष्टिकका माला किन्दै थिए ।

पसलमा झुण्ड्याइएका विभिन्न थरिका माला छनोट गर्दै उनले रु १०० पर्ने १० वटा माला किनेर रु एक हजार भुक्तानी गरे । तिहारको भाइटीका नजिकिँदै गर्दा यहाँका बजारमा माला र सप्तरङ्गी टीका किन्नेहरूको चहलपहल बढेसँगै स्थानीय व्यापारीलाई भ्याइनभ्याइ हुन थालेको छ । तिहारका लागि अन्य समान किन्नेको भन्दा प्लाष्टिकको माला किन्नेकोहरूको बढी चहलपहल देखिन्छ ।

पखेराभरि हजारी, मखमली र सयपत्री फूल ढकमक्क फुले पनि दीदीबहिनीको आकर्षण भने प्लाष्टिकबाटै बनेका फूलमै देखिन्छ । घर वरपर फुलेका फूलका थुङ्गा टिपेर माला गाँस्न झन्झट मान्ने उनीहरू बजारमा झुण्डिएका बनिबनाउ माला किनेर भाइटीका मनाउन हौसिएका हुन् । घरमा सयपत्री फूल प्रशस्त मात्रामा भए पनि दाजुभाइले समेत बजारको माला मन पराउने भएकाले यस्तो माला खरिद गरेको हुँ सोही नगरपालिका–१० भनभनेकी कल्पना पुनले भछिन्न् ।

गाउँमा सबैले बजारकै माला लगाउने चलन आएको जानकारी दिँदै उनले भनिन्, “घरमा फुलेको मखमली फूल त तिहारका बेला कुकुर, गाई र गोरुलाई मात्रै लगाइदिन्छौँ ।” प्लाष्टिकबाट बनेका मालामा स्थानीयवासीको मोह अत्यधिक दिएकाले आफूले दैनिक रू ४० हजारभन्दा बढीको माला बिक्री गर्दै आएको लिवाङका व्यापारी चन्द्रज्योति सुवेदीले बताए ।

तिहारका लागि भनेर रु ८ लाखको माला खरिद गरेर ल्याइएको र ती सबै बिक्री हुन्छ भन्दै उहाँले बजारवासीभन्दा ग्रामीण भेगबाट आएकाहरूले बढी मात्रामा प्लाष्टिकको माला किन्ने गरेका र मालाको गुणस्तर हेरेर रु ५० देखि २५० सम्मका माला बिक्री भइरहको जानकारी दिए ।तिहारमा आफूहरुले बढी मात्रामा प्लाष्टिकको माला बिक्री गर्ने गरेको अर्का व्यापारी सिर्जना श्रेष्ठले बताइन् ।

बढी मात्रामा यस्ता माला बिक्री हुनाका साथै अन्य सामानको तुलनामा यसमा नाफा पनि बढी भएको उल्लेख गर्दै उनले दैनिक रु २० हजारको माला बिक्री गर्दै आएको बताउछिन् । सदरमुकामलगायत जिल्लाका साना ठूला व्यापार केन्द्रमा तिहारमा प्लाष्टिकको माला अत्यधिक मात्रामा बिक्री हुने गरेको रोल्पा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रामचन्द्र थापाले जानकारी दिए ।

पछिल्ला दिनमा यस्तो मालाको आकर्षण बढ्दै गएको र हरेक वर्ष करोडौँ मूल्यका यस्ता माला भित्रिने गरेकाले रोल्पा जस्तो जिल्लाबाट समेत ठूलो मात्रामा रकम बाहिरिने गरेको गुनासो गरेका छन् । आफूहरुले दाजुभाइलाई तिहारमा मखमली र सयपत्री फूलको माला लगाई दिने गरे पनि अहिले भने घरछेवैमा फुलेका यस्ता फूलको सट्टा प्लाष्टिकका फूलको माला लगाइदिने चलन आएको रोल्पा नगरपालिका–४ की ज्येष्ठ नागरिक मतिकला केसीले बताए ।

आफूहरुले असार/साउन महीनामा हजारी फूलको बेर्ना रोपेर त्यसको संरक्षण गर्दै तिहारको समयमा प्रयोग गर्ने गरे पनि अहिले फूल टिपेर माला गाँस्न झन्झट मान्दै बजारको माला किनेर प्रयोग गर्ने गरेकाले हजारी, सयपत्री र मखमली फूलसँग परम्परा र संस्कृति पनि गाँसिएको छ भने ।

आधुनिकतासँगै तिहारमा प्रयोग गरिने आधुनिक मालाले पुरानो संस्कृतिमा ह्रास आउन थालेकामा ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष तेजराज आचार्यले असन्तुष्टि व्यक्त गरेका छन् । पुरानो भन्दैमा सबै संस्कृति नै लोप हुने प्रवृत्ति अङ्गाल्नु राम्रो होइन भन्दै उनले आफूहरुले पुस्ता हस्तान्तरणसँगै पुराना संस्कृति र मान्यताको जर्गेनाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ भने। रासस

प्रतिक्रिया दिनुहोस