सयपत्री फूलको व्यापार बढ्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सयपत्री फूलको व्यापार बढ्दै


प्रशासन संवाददाता

१९ कार्तिक २०७५, सोमबार


वीरगञ्ज । भारतको कोलकाता घर भई विगत ३० वर्षदेखि वीरगञ्जमा फूलको व्यापार गर्दै आएका सुदर्शन मानिकले तिहारलाई लक्ष्य गरी १० हजार सयपत्री फूलको माला भारतबाट आयात गरेका छन् ।

कोलकातामा रु ५० मा पाइने सयपत्री फूलको माला स्थानीय बजारमा रु ७० सम्ममा बिक्री हुन्छ । यस व्यवसायबाट आर्थिक लाभ भएपछि अन्य व्यापारी पनि यस व्यवसायतर्फ आर्कषित हुन थालेका छन् । भारतबाट फूल आयात गरी व्यापार गर्नेको सङ्ख्या बढ्दै गएको छ । वीरगञ्जमा फूलको व्यापार गर्ने फूटकर व्यापारीको सङ्ख्या पाँच सयको हाराहारीमा छ ।

व्यापारीले कोलकाताबाट फूलका माला रेलमार्ग भएर आयात गर्ने गरेका छन् । अहिले बजारमा भारतबाट आयत गरिएका रङ्गीचङ्गी प्लास्टिकका फूलले समेत बजार पाएको छ । यस्ता कृत्रिम फूल बेच्ने व्यापारीको सङ्ख्या समेत यहाँ अत्यधिक छ । व्यापारीले भाइटिकालाई लक्ष्य गरी काठमाडौँ, पोखरा, नारायणघाट, भैरहवा लगायतका जिल्लामा मखमली फूल बिक्री गर्ने गरेका छन् ।

व्यापारीले तिहार पर्वलाई लक्ष्य गरी चालु आर्थिक वर्षको साउनदेखि कात्तिकको हालसम्ममा भारतबाट रु एक करोड ४० लाख बराबरको दुई लाख ७८ हजार किलो फूल आयात गरेका छन् । वीरगञ्ज भन्सार कार्यालयले फूल आयातबाट रु सात लाख राजश्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु ६३ लाख मूल्य बराबरको दुई लाख ३४ हजार किलो फूल आयात गरिएको थियो भने रु तीन लाख ५० हजार राजश्व सङ्कलन भएको थियो । फूलमा ५ प्रतिशत भन्सार शुल्क लाग्छ । यसैबीच वीरगञ्ज भन्सार भएर व्यापारीले दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी भारतबाट रु चार करोड २० लाखको स्याउ र केरासमेत आयात गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस