काठमाडौं । आजदेखि हिन्दुहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार शुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको आज पहिलो हो।
कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्वको रुपमा मनाइन्छ तिहार । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ। यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिएको हो ।
आज पहिलो दिन काग तिहार मनाइँदै छ । कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार सुनिने विश्वास रहेको छ । कागलाई यमदूत र प्रकृतिको कुचिकार पनि भनिन्छ ।
आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ । आजै बेलुकादेखि घरघरमा परिवार संख्याका आधारमा यमदीप दान गर्ने विधि छ ।
यमपञ्चकको दोस्रो दिन कुकर तिहार र तेस्रो दिन लक्ष्मी पूजा मनाइन्छ । चौथो दिन गोबर्द्धन पूजा गरेपछि पाँचौं दिन भाइटीका लगाइन्छ ।
यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार मध्याहृन ११ बजेर ५५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।