३५ वर्षदेखि मिथिला कलामा चन्द्रेश्वर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

३५ वर्षदेखि मिथिला कलामा चन्द्रेश्वर


१८ कार्तिक २०७५, आइतबार


काठमाडौं । महोत्तरीका चन्द्रेश्वर पाण्डे ससुराली भारत जाँदा ससुराबाट एउटा सीप सिकेर आए । त्यो उनको जीविकोपार्जनका लागि मुख्य आधार बन्न पुग्यो ।

पैँतीस वर्षदेखि स्वयम्भूमा उनले मिथिला कलाको व्यापार गर्दैआएका छन् । महोत्तरी, पर्सा देवाध–१ का पाण्डे १६ वर्षका उमेरमा हातमा मिथिला कलाको सीप बोकेर काठमाडौं आएका हुन् । शुरुका दिन उनले काठमाडौंको मखन टोलमा बसेर मिथिला कलाको पेशा अँगाले । “तत्कालीन समयमा एक सुका , एक मोहरमा मेरा कला बिक्थे”, उनी भन्छन्, “ २३/२४ सालतिर सुका मोहरको पनि महत्व थियो, धेरै कुरा आउँथ्यो, त्यो बेला त्यही धेरै थियो ।”

अहिले जमाना बदलिएको छ । बनाउँदै गरेको हात्तीको बुटटको धागो काट्दै उनले भने, “ऊ जमानाको कुरा त हजुरलाई पत्याउन गाह्रो हुन्छ, धेरै व्यवस्था बदलिए । राजनीतिक परिवर्तन भए । मुलुकको समृद्धि भने खासै देख्न पाइएन । ” उनले जनयुद्धमा बन्दूकका कुरादेखि राजतन्त्र अन्त्यसम्मका विभिन्न चरणका राजनीतिक घटनाक्रमलाई नियालेका छन् । तर देशको विकास र समृद्धि जनताले सोचेजस्तो नभएको उनको गुनासो छ ।

हाल स्वयम्भू भगवान्पाउ निवासी उनले तीन वर्षअघि श्रीमती गुमाए। लामो समय वीर अस्पतालमा श्रीमतीको उपचार गराएतर रोगको पहिचान भएन । अन्ततः उनको मृत्यु भयो । पत्नी वियोगले चन्द्रेश्वरमा निराशा छायो । फेरि जिन्दगी त बाँच्नु नै थियो । जीवन सङ्गिनी गुमाए पनि चार छोरा साथमै थिए । दशभन्दा बढी नातिनातिनाका हजुरबुबा उनले आफूलाई कमजोर ठानेन । उही दैनिकी रोजे । स्वयम्भूको उकालामा रुखमुनि कला सामग्री टाँगेर उनी कलाभित्र आफ्नो जीवनको सार्थकता खोज्दै बसे ।

“यसरी बसेको पनि ३५ वर्षभन्दा बढी नाघेछ”, उनले भने । वि.सं. २००७ सालमा जन्मिएका उनले नागरिकतामा भने बल्ल ५६ वर्षको रहेको उल्लेख गरेका छन् । आजकाल ब्यवसायबाट उनमा उति सन्तुष्टि छैन । उनी भन्छन्, “व्यापार उति छैन तर कलामा रमाउने बानी परेर होला विकल्प खोज्न मन लाग्दैन, अहिले देशभित्रबाट पनि घुम्नेहरु धेरै आउँछन् । व्यापारमा भने प्रतिस्पर्धा बढेको छ । पहिले जस्तो व्यापार छैन ।”

विभिन्न स्वरुपका कलाकृति उनले सेतो कपडामा धागो र सियोको माध्यमबाट उतार्दै आएका छन् । कलामा जीवन देख्ने उहाँ खुशीका धेरै रङ विभिन्न धागाबाट बनाएका कलाकृतिमा नै ढाल्ने गर्छन्। कलाको पूर्ण स्वरुपमा उनी रमाउँछन् । उनी देवीदेवतादेखि बुद्ध, हात्ती, फूल, हिमाललगायत डेढ दर्जन बढी कलाकृतिलाई कपडामा उतार्छन्। कलाको मूल्य रु दुई सयदेखि तीन हजारसम्म छ । उनी ग्राहकको रुचिअनुसारका कला तयार गर्छन् ।

बाटो हिँड्दा हिँड्दै धेरैले कलाप्रति चासो राख्छन्, सोध्छन् । कति सिकेर पनि जान्छन् । उनले कला सिक्ने मन भए एकैछिनमा सिक्न सकिने बताए । धागो, सियो, रिङ, रङ, चक र कपडा यसलाई चाहिने सामग्री हुन् । “यसलाई बनाउन सामाग्री खासै महँग्रो पर्दैन तर मेहनत चाहिन्छ”, उनले भने ।

उनका काठमाडौंमा दुई छोरा छन् भने एक छोरा महोत्तरी गाउँमै र एक पोखरामा ट्याटु हान्ने व्यवसाय संलग्न छन् । सिर्जनामा खुशी लुकेको हुन्छ भन्ने पाण्डे स्वस्थ जीवनका लागि कला सहयोगी हुने विचार राख्छन् । जीवनका उत्तरार्द्धतिर आए पनि समय र शरीरले साथ दिएसम्म मिथिला कलामै रमाउने उनको सोच छ । जीवनको अधिकांश समय बिताएको ठाउँप्रति उनले भने “ स्वयम्भूका यी बाँदर, यी ढुङ्गामाटो र यी रुख सबैसँग प्रेम छ मेरो, कलासँग जत्तिको प्रेम छ, मलाई यो ३५ वर्षभन्दा बढी बिताएको यो ठाउँको पनि उत्तिकै प्रेम छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस