डोटीमा विशेष एकीकृत सुरक्षा योजना लागु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डोटीमा विशेष एकीकृत सुरक्षा योजना लागु


प्रशासन विशेष ब्युरो

१६ कार्तिक २०७५, शुक्रबार


विशेष एकीकृत सुरक्षा योजना

डोटी । जिल्ला सुरक्षा समिति डोटीले तिहार र छठ पर्वलाई मध्ययनजर गर्दै विशेष सुरक्षा योजना लागु गरी सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ ।

तिहार र छट पर्वको समयमा जुवा-तास, जाड-रक्सी लगायत पटाका विस्फोटक पदार्थहरू अवैध रूपमा जिल्लामा भित्र्याउन तथा प्रयोगमा रोक लगाउने उद्देश्यका साथ सुरक्षा व्यवस्था कडा पार्न लागिएको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । उनले भने– ‘विशेष सुरक्षा योजना अन्तर्गत सुरक्षा गस्तीलाइ बढाउदै सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्ने, सम्भावित घटनास्थलहरूको अध्ययन गर्नुका साथै चाडबाडको समयमा सुरक्षा चुचौति बढी हुने भएकोले गैह्र कानुनी गतिविधि हुन नदिन सुरक्षा निगरानी बढाउने निर्णय गरेका हौँ ।’

तिहारको समयमा जिल्लामा देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रम राति १० बजेसम्म मात्र खेल्न पाउने निर्णय गरिएको छ । यहाँका होटेल र लजहरू पनि राति १० बजे बन्द गर्नुपर्ने निर्णय भएको छ । तिहारका बेला हुन सक्ने घटनालाई मध्यनजर राख्दै जिल्लाका विभिन्न स्थानमा चेकजाँचमा कडाइ गर्नुका साथै पहिलेको भन्दा सुरक्षा व्यवस्था अलि कडा पारिएको छ ।

आयात र प्रयोगमा निगरानी
जिल्ला प्रहरी कार्यालय डोटीले नेपालीहरूको दोस्रो ठुलो चाड तिहार र छटको समयमा बाहिरी जिल्लाबाट प्रज्वनलशील पदार्थ पटाकाहरू भित्रिन सक्ने भन्दै चेकजाँचमा कडा निगरानी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धु्रबबहादुर विष्टले जानकारी दिए । उनले भने, ‘तिहारको समयमा बाहिरी जिल्लाबाट पटाका जस्ता प्रज्वलनशील पदार्थ ल्याउने र प्रयोग गर्ने कुरा पूर्ण रूपमा रोक लगाएकाले पटाका ल्याउने प्रयास नगर्न सबैमा आग्रह गरेका छौँ, ल्याएमा कारबाही हुने छ ।’

पटाका, भुइँचम्पा जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट आगलागीका दुर्घटना निम्तिन सक्ने भएको हुँदा पटाका पड्काउने, पड्काउन उक्साउने, बिक्री गर्ने र ओसार पसार गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ ।

पहिलो पटक सिसी क्यामरा जडान
जिल्ला प्रहरी कार्यालय डोटीले सुरक्षा व्यवस्थालाई चुस्त पार्ने भन्दै सडक क्षेत्र लगायत कार्यालयमा पहिलो पटक सिसी क्यामरा जडान गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा रहेको मेसनरी सामाग्री खरिद शीर्षकमा रहेको बजेटबाट आठवटा सिसी क्यामरा जडान गरी सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

हिरासत कक्ष, मुद्दा फाँट, कार्यालय परिसरका साथै प्रहरी कार्यालय नजिक रहेको मुख्य सडक खण्डहरूलाई निगरानी गर्ने गर्न सिसी क्यामरा जडान गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझिले बताए । जडान गरिएका सिसी क्यामरा सञ्चालनका लागि पाँच जना प्रहरी कर्मचारीहरूलाई तालिम समेत दिइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

साझेदारी पत्रमा हस्ताक्षर र हस्तान्तरण
जिल्ला प्रहरी कार्यालय डोटीले कात्तिक १२ गते देशव्यापी रूपमा सुरु भएको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज जिल्लाका ५ वटा स्थानीय तहसङ साझेदारी पत्रमा हस्ताक्षर तथा हस्तान्तरण कार्यक्रम गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा जिल्लाका बडी केदार गाउँपालिका, बोगटान गाउँपालिका, आदर्श गाउँपालिका, केआईसिंह गाउँपालिका र सायल गाउँपालिका स्थानीय जनप्रतिनिधिहरूसँग कार्यक्रम साझेदारी पत्रमा हस्ताक्षर तथा हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । ९ वटा स्थानीय तह रहेको डोटी जिल्लामा ३ वटा स्थानीय तहसँग यो भन्दा पहिले साझेदार पत्रमा हस्ताक्षर हस्ताक्षर भइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस