कार्तिक ३० गते, २०७५

स्थानीय तहमा जनशक्ति परिचालन

१. पृष्ठभूमि
बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आधारभूत इकाइ भन्नाले स्थानीय सरकार र तह (गाउँपालिका, नगारपालिका, जिल्ला समन्वय समिति) लाई बुझाउँछ । यिनै तहहरूले जनताहरूलाई अति नजिकबाट सेवा प्रदायकको भूमिका निर्वाह गर्ने भएकाले चुस्त प्रशासनिक संगठन र उत्तरदायी कर्मचारी व्यवस्था हुनु राम्रो हुन्छ । साथै जननयनमा समग्र सरकारको प्रतिबिम्ब यिनैद्वारा छापिएको हुन्छ । विकास निर्माणका कार्य र सेवा प्रवाहमा सर्वसाधारणको सरल र सहज पहुँचको सुनिश्चितताका लागि स्थानीय तहहरूमा आवश्यक एवं उपयुक्त जनशक्तिको व्यवस्था पहिलो शर्त हो । तिनको संस्थागत संयन्त्र र कार्यगत संरचनाको विकास र सवलीकरण गरी प्रतिस्पर्धी र गुणस्तरीय सेवा प्रवाह गरेर÷गराएर सुशासनको अनुभूति दिलाउनु वर्तमानमा आवश्यक देखिन्छ । यसका लागि कानुनतः व्यवस्था गरिएका कार्यहरूको थुप्रो लगाई ती कार्यहरू सम्पादन गर्न के, कस्तो सीप र दक्षता भएका के, कति जना कर्मचारीहरूको आवश्यकता पर्छ र कस्तो संरचनागत संयन्त्र स्थापना गर्दा कहिले, कति बेला, कसरी सेवा प्रदान गर्न सकिन्छ भन्नेबारे यकिन गरी सोहीबमोजिम जनशक्तिको परिचालन हुन जरुरी हुन्छ ।

२. विद्यमान अवस्था
साविकदेखि स्थानीय तहकारूपमा सेवा गरिरहेका हालका संस्थाहरूमा निम्नानुसारको अवस्था विद्यमान देखिन्छ ।
– परिवर्तित संघीय सन्दर्भमा संस्थागत नाम र काम (कार्यक्षेत्र एवं तौर–तरिका) बदलिएको छ,
– कार्य सम्पादन गर्ने कर्मचारी अधिकांश साविकमै तोकादेशबाट स्थायी भई सेवा प्रदान गरी टोपलेकाहरू नै छन्,
– बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक सन्दर्भमा जनतामा सुशासनको प्रत्याभूति दिने जिम्मेवारी स्थानीय तहहरुमा छ,
– स्थानीय तहले गर्नुपर्ने कार्यहरूको विवरण संविधानतः ठोसरूपमा (ब्ल्याक एन्ड ह्वाइट) उल्लेख भए पनि कार्यरूपमा साविकै ढर्रा लागू भइरहेको छ,
– कर्मचारीहरूमा आवश्यक दक्षताको सीमारेखा नकोरिँदा इतिहासमा एमए गरेकोलाई सडक विभागमा इन्जिनियरको जिम्मा दिएझैं भएको छ,
– कतिपय जिल्ला समन्वय समितिहरूले साविकमा जिल्लागत हिसाबले आवधिक योजना तयार पारेको भए पनि सोको कार्यान्वयनका लागि आवश्यक जनशक्तिको ठोस प्रक्षेपण गरेको पाइँदैन,
– स्थानीय तहहरूमा कानुनतः नयाँ आम्दानीका स्रोतहरू पहिचान भएर पनि राजस्वको संकलन परिचालन करिव पुरानै ढर्रामा भइरहेको छ,
– स्थानीय स्वायत्तता र स्थानीय सरकारको परिभाषा कतिपय तहहरूसँग सम्बन्धित नेतृत्ववर्गले ‘हामीले गरेपछि जेसुकै निर्णय पनि कार्यान्वयन गर्न सकिन्छ’ भन्ने रूपमा निर्णय लिने गरेको पाइन्छ,
– सांगठानिक चुस्तताका लागि संगठन र व्यवस्थापनको अध्ययन र सिफारिसहरू हुन बाँकी नै छ,
– जनशक्ति प्रक्षेपण भएपछि पनि व्यवस्थापकीय खर्चसँग तादात्म्यता गराइएन भने साविकमा झैं ‘बाख्राको मुखमा कुभिण्डो’ जस्तो अवस्था आउन सक्छ,
– संगठनको कार्यप्रकृति अनुसारको जनशक्ति व्यवस्था एवं त्यसको महत्तम परिचालनको लागि आवश्यकतानुसारको परामर्शीय सेवाको आवश्यकता टड्कारिएको महसुस हुन्छ ।

३. आगामी दिनका लागि सिफारिश
उल्लिखित अवस्थालाई इष्ट अवस्थामा परिणत गर्न निम्नानुसारका कार्यहरू गर्नु उपयुक्त हुने देखिन्छ :

३.१. स्थानीय रूपमा सम्पादन गरिनुपर्ने कार्य विवरण एवं शाखा प्रशाखाको तयारी
स्थानीय तह सञ्चालन ऐनले समग्ररूपमा र सामान्यतया स्थानीय तहहरूले जनहितका लागि गर्नै पर्ने र गर्नसक्ने कार्यहरूको बारेमा व्याख्या गरेको छ । ती कार्यहरू सम्पादन गर्न उपयोग गर्नुपर्ने अधिकार र निर्वाह गर्नुपर्ने कर्तव्यका बारेमा पनि उल्लेख गरिएको छ । त्यसलाई मध्यनजर गर्दै सम्बन्धित स्थानीय तहले नगरी नहुने र गर्दा राम्रो हुने प्रकृतिका कार्यहरू एकठ्ठा गरिनुपर्छ । जसलाई दैनन्दिक, साप्ताहिक, मासिक, चौमासिक, वार्षिक, पटके जस्ता प्रकृतिमा वर्गीकरण गरिनु उपयुक्त हुनसक्छ । त्यसपछि कार्यहरूको मिल्दो प्रकृति हेरी शाखा र प्रशाखाहरूको व्यवस्था मिलाउनु उपयुक्त हुन्छ ।

३.२. शाखा र प्रशाखा अनुसार आवश्यक दक्षता निर्धारण
शाखाहरूले गर्ने कार्यलाई चुस्त/दुरुस्त, मितव्ययी एवं दक्षतापूर्ण ढंगले सम्पादन गर्न चाहिने योग्यता निर्धारण गर्नुपर्छ । सो योग्यतालाई सदावहार कामयावी राख्न के कस्तो तालिम एवं पुनर्ताजगी तालीमहरुको आयोजना गरिनु उपयुक्त हुन्छ ? सो बारेमा पनि यसै समयमा आँकलन गरी सामयिक रूपले परिमार्जन गरियो भने आवश्यकताको नजिक रहेर कर्मचारीहरूलाई सीप प्रदान गर्न सकिन्छ । स्थानीय तहहरूमा कार्यपालिकीय काम गर्ने जनशक्ति विशेषज्ञ प्रकृतिको हुनु राम्रो हुनेछ ।

३.३. समय–सारिणी तयारी
के गर्ने ? कसले गर्ने ? यसको उत्तर जम्मा पारेपछि कहिले गर्ने भन्ने बारेमा कार्यालय समयलाई अनुसूची– १ बमोजिम तालिकीकरण गराएमा समयको उच्चतम उपयोग हुनसक्ने देखिन्छ । जसको पूर्णरूपले प्रचार–प्रसार गर्दा र गराउँदा सेवाग्राहीहरूमा पनि आफ्नो काम सम्पादनको पालो स्पष्ट रूपमा जानकारी हुन गई कार्यालयमा अनावश्यक भीड पनि नहुने हुन सक्छ ।

३.४. जनशक्ति अनुमान
उपरोक्तानुसारको समय तालिकाबाट समष्टिगत कार्यहरूका लागि हिउँदमा ४ः१५ घण्टा र अन्य समयमा ५ः१५ घण्टा समय आइतबारदेखि बिहीबारसम्म छुट्याउन सकिने हुन्छ । यो समयलाई कार्यप्रकृति अनुसार एउटा कार्य सम्पादन गर्न चाहिने औसत कुल समयले भाग ग¥यो भने एकदिनमा सो काम तोकिएको कर्मचारीले सम्पादन गर्न सक्ने कामको संख्या पत्ता लगाउन सकिन्छ । एउटा कार्य सम्पादन गर्न लाग्ने औसत कुल समय निकाल्दा एक कार्यसम्पादन गर्न लाग्ने समय र सो कार्यसम्पादनपछि अर्को कार्यारम्भ गर्दा बीचमा आवश्यक पर्ने (मोनोटोनस नहुने गरी) समयको अन्तराल–समय लाई जोडेर निकाल्नुपर्छ ।

यदि त्यो संख्या दैनिकरूपमा सम्पादन गर्नुपर्ने कामको संख्यासँग बराबर भयो भने त्यस कार्यको लागि एक जना कर्मचारीको व्यवस्था मिलाउनु उचित हुन्छ । यसैगरी सम्पादन गर्नुपर्ने कामको संख्या, उक्त संख्याभन्दा कम भयो भने सो कर्मचारीलाई अर्को शाखाको आंशिक वा पूरा कामको जिम्मा सुम्पन सकिने हुन्छ । फेरि सम्पादन गर्नुपर्ने कामको संख्या, उक्त संख्याभन्दा बढी भयो भने त्यही कामको लागि पनि अर्को कर्मचारीको व्यवस्था गर्नुपर्ने हुन आउँछ ।

यो व्यहोरालाई अनुसूची– २ बमोजिम गणीतीय रूपमा अभिव्यक्त गर्न सकिन्छ । यसैगरी जनशक्ति अनुमानका लागि अनुसूची– ३ बमोजिमको फाराम प्रयोगमा ल्याउन सकिन्छ ।

४. उपसंहार
यसरी उपर्युक्तानुसार कार्य विश्लेषणका आधारमा जनशक्ति योजना तयार पारेमा र आवश्यक जनशक्ति प्रतिस्पर्धाको आधारमा पूर्तिको व्यवस्था मिलाउनु उपयुक्त हुनेछ, साथै सामयिकरूपले पुनर्ताजगी तालिमहरूको आयोजना गरी सेवा प्रदायकहरूलाई चुस्त/दुरुस्त राख्न सकिने हुन्छ । अनावश्यक कर्मचारीहरूलाई प्रोत्साहन (गोल्डेन ह्यान्डसेक)लगायत उपलब्ध गराएर सेवाबाट हटाउनुपर्छ ।

अन्यथा कर्मचारीले अनिवार्य अवकाश लिएपछि जनशक्तिको महत्तम परिचालनका लागि आवश्यक कर्मचारीभन्दा बढी भएका दरबन्दीहरू स्वतः कटौती गर्दै जानाले पनि अन्ततः संगठनलाई चुस्त बनाउन सकिने देखिन्छ ।

अनुसूची– १
कार्यालयको समय तालिका

१०:०० बजे – कार्यालयमा उपस्थित हुने,
१०:००–१०:१५ बजे – समाचार पत्रहरू अध्ययन, कार्य सम्पादनसम्बन्धी सामयिक वार्ता एवं कार्यालयमा नआउने (बिदा बस्ने) कर्मचारीको सट्टा काम र शाखा तोक्ने,
१०:१५–११:०० बजे – अघिल्लो दिनको बाँकी कार्य सम्पादन गर्ने,
११:०० – १३:३० बजे – पहिलो चरणमा दैनिक तथा पटके कार्यहरू सम्पादन गर्ने,
१३:३० – १४:३० बजे – चिया चमेना समय,
१४:३० – १५:४५ र १६:४५ बजे – दोस्रो चरणमा दैनिक तथा पटके कार्यहरू सम्पादन गर्ने,
१५:४५ र १६:४५ – १६ र १७ बजेसम्म – दैनिक कार्य समीक्षा र भोलिपल्टको जनशक्ति एवं कार्ययोजना तयारी गर्ने ।

समय तालिकाका सीमाहरू
– यो समय तालिका सबै शाखा र प्रशाखाहरूमा काम गर्ने सबै कर्मचारीहरूमा लागू हुनेछ,
– कार्य विश्लेषणका आधारमा निर्धारित कार्य संख्याभन्दा बढी कार्य जिम्मा नलिई भोलिपल्टलाई पर्खाउनुपर्नेछ ताकि अत्यधिक काम बाँकी नरहोस्,
– यो तालिका आइतबारदेखि बिहिबारसम्म लागू हुनेछ,
– सामान्यतः नयाँ काम लिएर आउने सेवाग्राहीलाई ११:०० बजेपछि कार्यालयमा सम्पर्क गर्न र आज्जसोको काम बाँकी रहेका सेवाग्राहीहरूलाई १०:१५ देखि ११:०० सम्मको समय छुट्याएको व्यहोरा सुसूचित गराउनुपर्नेछ,
– शुक्रबारको हकमा १०:१५–१२:०० बजे दैनिक एवं पटके कार्यहरू सम्पादन गरिनेछ र शेष समय साप्ताहिक काम कार्य सम्पादन र सहकर्मीहरूको साप्ताहिक विचार आदान–प्रदानमा खर्च गरिनेछ ।

अनुसूची – २
जनशक्ति अनुमानको गणितीय अभिव्यक्ति

एकजना कर्मचारीले एकदिनमा गर्न सक्ने कुल कार्य संख्या = क,
कुनै कार्यलयमा एक दिनमा सम्पादन गर्नुपर्ने औषत कार्य संख्या = ख र
त्यस कार्यको लागि आवश्यक जनशक्ति = ग मान्ने हो भने,
– क = ख ⇒ ग = १
– क >  ख ⇒ ग < १ (सो कर्मचारीलाई अर्को कार्य जिम्मा दिन सकिन्छ)
– क < ख ⇒ ग > १ (सो कार्यको लागि अर्को कर्मचारी थप गर्नुपर्छ ।)

एक जनाले एकदिनमा गर्न सक्ने कार्यसंख्या (क) निकाल्न दैनिक तथा पटके एउटा कार्यसम्पादन गर्न लाग्ने औसत समय (सबैभन्दा बढी र सबैभन्दा कम समयको जोडफललाई २ ले भाग गरेर आउने समय) र एउटा कार्य सम्पन्न भएपछि अर्को कार्य सुरु गर्नका लागि चाहिने औसत अन्तराल (सबैभन्दा बढी र सबैभन्दा कम अन्तरालको समयको जोडफललाई २ ले भाग गरेर आउने समय) को योगफलले दैनिक कार्यसम्पादनका लागि छुट्टिएको ४:३० वा ५:३० घण्टा समयलाई भाग गर्नुपर्छ । अर्थात्, ४:३० वा ५:३० घण्टा

अनुसूची– ३
कार्य विश्लेषण तथा जनशक्ति अनुमान फाराम

मन्त्रालयको नाम :    विभागको नाम :
कार्यालयको नाम :       जिल्ला :

उपरोक्तानुसारको कार्य विश्लेषणका सीमाहरू निम्नानुसार हुनु उपयुक्त हुनसक्छ ।
– सर्वेक्षण अवधि कम्तिमा एक महिनाको हुनुपर्छ,
– सम्बन्धित कार्यसम्बन्धी अभिमुखीकरण प्राप्त कर्मचारीको सम्पादनस्तरका आधारमा एक कार्यका लागि चाहिने समयको आधारमा औसत समय निकाल्नु पर्छ,
– सक्षम कर्मचारीका लागि उपलब्ध साधन–स्रोतहरूको व्यवस्था हुँदा पनि अर्को कर्मचारीको सम्पादनस्तर कम भएमा तालिम र पुनर्ताजगी तालिम आदिको व्यवस्था मिलाउनुपर्छ,
– सेवा प्राप्त गर्ने व्यक्तिहरू कार्य सम्पादन व्यवस्थाका बारेमा (वर्क–फ्लो चार्ट, अफिस लेआउट, टाइम टेबल, सिटिजन चार्टर आदि) पूर्णरूपले सुसूचित हुनुपर्छ,
– अनुशासन र समय पालना सेवादायी एवं सेवाग्राही (सेवा दिने र लिने) दुवै पक्षको अनिवार्य शर्त हुनुपर्छ,
– वस्तुगत आधारमा उचित दण्ड र पुरस्कारलाई प्रोत्साहनको कसी मानिनेछ,
– अनुचित दबाब, प्रलोभनादि यस विश्लेषणको असफलता जनाउने सामाजिक विकृति मानिनेछ ।

…सके सपारौं, नसके नबिगारौं…

कार्तिक १४ गते, २०७५ - ०९ः३० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg