नेपाल भारत सम्बन्ध : कसिलो र कमजोर बनाउने तत्वहरू र भावी कार्यदिशा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल भारत सम्बन्ध : कसिलो र कमजोर बनाउने तत्वहरू र भावी कार्यदिशा


ललित कुमार बस्नेत

१३ कार्तिक २०७५, मंगलबार


नेपाल भारत सम्बन्ध

नेपाल भारतबीचको सम्बन्धको ऐतिहासिक पृष्ठभूमि
हुनत नेपाल र भारतबीच दुई सार्वभौम एवं स्वतन्त्र राष्ट्रको हैसियतमा दौत्य सम्बन्ध कायम भएको लामो समय भएको देखिँदैन । औपचारिक रूपमा नेपाल र भारतबीच सन् १९४७ जुन १३ मा मात्र दौत्य सम्बन्ध कायम भएको देखिन्छ । जबकी त्यसभन्दा धेरै पहिले सन् १८१६ मार्च ३ सर्वप्रथम संयुक्त अधिराज्यसँग दौत्य सम्बन्ध कायम भएको थियो भने सन् १९४७ अप्रिल २५ मा संयुक्त राज्य अमेरिकासँग समेत दौत्य सम्बन्ध कायम भएको थियो । तापनि भारतसँगको नेपालको सम्बन्ध सदियौंदेखि प्रगाढ रहँदै आएको थियो । अनेक उतार चढाव पार गर्दै नेपाल र भारतबीच अहिले पनि अरु देशहरूसँग तुलना नै गर्न नसकिने विशेष सम्बन्ध रहिआएको छ । यी दुई देशबीचको सम्बन्ध कुनै बेला अत्यन्तै चिसो भई भारतले नेपालमा एकतर्फीरूपमा नाकाबन्दी समेत लगाउनुपरेको अवस्था सृजना भएको देखिन्छ तापनि अधिकांश समय अति सुमधुर र घनिष्ट सम्बन्ध रहेको पाइन्छ ।

नेपाल र भारतबीचको सम्बन्धलाई कसिलो एवं घनिष्ट बनाउने प्रमुख तत्वहरू
१) धार्मिक, सामाजिक एवं सांस्कृतिक समानता
नेपाल र भारतबीचको सम्बन्धलाई घनिष्ठ अनि विशेष बनाउने प्रमुख तत्व भनेको धार्मिक, सामाजिक एवं सांस्कृतिक समानता नै हो । यी दुई देशहरूका जनताले प्राचीन समयदेखि एकै खाले धर्म, संस्कार अंगालेको पाइन्छ भने मिल्दाजुल्दा सामाजिक, सांस्कृतिक चलन र रीतिरिवाज अवलम्बन गरेको पाइन्छ । दुवै देशमा बहुसंख्यक जनसंख्याले सनातन हिन्दू धर्मको अवलम्बन गरेको पाइन्छ । हाम्रा धर्मग्रन्थहरुको विकास गर्दा होस् वा त्यसको अभ्यास गर्दा होस् दुवै देशहरूबीच कुनै भौगोलिक सिमानाको बन्देज रहेको देखिँदैन । हिन्दू धर्मले मान्दै आएका देवीदेवताहरूदेखि लिएर ऋषिमुनिहरूले आफ्नो ज्ञान साधनाको लागि निर्वाधरूपमा एक–अर्को देशमा आवतजावत गरेको देखिन्छ । विश्वका शान्तिका प्रतीक एवं बौद्ध धर्मका प्रतिपादक गौतम बुद्धले समेत नेपाली भूमिका जन्मेर भारतको भूमिमा गएर ज्ञान प्राप्त गरेका थिए । भारत र नेपालबीचको रोटी–बेटीको सम्बन्ध अहिले मात्र जोडिएको होइन । अयोध्याका राजा रामले नेपाली पुत्री जानकीसँग विवाह गरेका थिए । यसैगरी दुवै देशले धुमधामसँग मनाउने चाडपर्व उही छन्, सामाजिक मूल्य, संस्कार सबैमा धेरै समानता पाइन्छ । तसर्थ यी दुई देशबीचको सम्बन्ध जस्तोसुकै तागतले पनि छुट्याउनै नसकिने गरी कसिलो छ, प्रगाढ छ ।

२) भौगोलिक सन्निकटता
नेपाल भारत र चीनको बीचमा रहेको एक भूपरिवेष्ठित मुलुक हो । यसलाई पूर्व, पश्चिम र दक्षिण तीनतिरबाट भारतले घेरेको छ भने उत्तरतर्फ मात्र चीनले घेरेको छ । उत्तरतर्फ रहेका अग्ला–अग्ला हिमाल तथा भौगोलिक विकटताको कारण उत्तरतर्फ चाहेर पनि हामीले भारतसँग जस्तो सम्बन्ध विकास गर्न सक्दैनौं । तसर्थ नेपाललाई भूपरिवेष्ठित भन्दा पनि ‘भारतवेष्ठित’ भन्दा फरक नपर्ने अवस्था छ । भारततर्फ पूर्व पश्चिम, उत्तर दक्षिण गरी १८५० किमी खुला सीमाना रहेको र दुई देशबीचको यी सीमा अधिकांश ठाउँमा सम्म र सहज किसिमको रहेको र ती सीमाबाट मानिस, वस्तु तथा सेवाहरूको सजिलै वारपार हुने भएकोले जनस्तरमा नै यो सम्बन्ध यति कसिलो छ कि दुवै देशका राज्यले चाहेर पनि यसैलाई कमजोर बनाउन सक्दैनन् ।

३) शासन प्रणालीमा समानता
लामो समयदेखि दुवै देशले अवलम्बन गरेको शासन प्रणालीमा समेत समानता छ । भारतको राजनीतिक आन्दोलनमा नेपालका राजनेताहरूले ठूलो योगदान गरेको इतिहास पाइन्छ भने नेपालको राजनीतिक परिवर्तनमा नै भारतको हात रहेको भनी व्यापक टीका टिप्पणी हुने गरेको सुनिन्छ । हाल दुवै देशले संघीय शासन प्रणालीको अवलम्बन गरेका छन्, दुवै देशले बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली अवलम्बन गरेका छन् र दुवै देशले आफ्नो शासन व्यवस्थालाई प्रभावकारी बनाउन आपसमा सहयोग आदान-प्रदान गर्नुका साथै अनुभव साटासाट गर्ने गरेको पाइन्छ ।

४) आर्थिक एवं व्यापारिक सम्बन्ध
नेपाल र भारतबीचको सम्बन्धलाई पछिल्लो समय झन् बलियो बनाउने एक प्रमुख तत्व नेपालको भारतसँगको आर्थिक एवं व्यापारिक सम्बन्ध हो । नेपालको कूल वस्तु निर्यातको करिव दुई तिहाइ भारतमा नै हुन्छ भने वस्तु आयातको पनि दुई तिहाइभन्दा बढी हिस्सा भारतले ओगट्छ । यसैगरी तेस्रो मुलुकमा हुने व्यापार पनि मुख्यरूपमा भारतको भूमि भएर नै हुने गरेको छ । नेपाली श्रमिकहरू दशौं लाखको संख्यामा भारतमा रोजगारी गरिरहेका छन् भने नेपालमा रोजगारी तथा व्यापार व्यसायको सिलसिलामा आउने भारतीयहरूको संख्या पनि ६ लाखभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । नेपालको प्रत्यक्ष वैदेशिक लगानीकर्तामध्ये ४० प्रतिशतभन्दा बढी लगानीकर्ताहरू भारतीय नै रहेका छन् । भारतीय अर्थतन्त्रमा भएका सामान्य आर्थिक एवं व्यापारिक उतारचढावले नेपाली अर्थतन्त्रलाई गम्भीर असर गरेको देखिन्छ । भारतसँगको बढ्दो आर्थिक एवं व्यापारिक सम्बन्धले पनि नेपाल र भारतबीचको सम्बन्धलाई कसिलो बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

५) समय समयमा भइरहने उच्च स्तरका राजनीतिक भ्रमण
नेपाल र भारत दुई देशबीच समय–समयमा हुने राष्ट्र प्रमुख, सरकार प्रमुखदेखि उच्च तहका राजनीतिक नेतृत्वको भ्रमणले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन, आपसी अविश्वास हटाउन र सहयोग आदान-प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । नेपालले विक्रम संवत २०७२ सालमा संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि दुई देशबीच चिसिएको सम्बन्धलाई त्यसयता भएका उच्च राजनीतिक भ्रमणले सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको छ । विगतमा नेपालका सरकार प्रमुखले मात्र बारम्बार भारतको भ्रमण गर्ने गरेको आरोप लाग्ने गरेकोमा पछिल्लो समय विभिन्न अवसर पारी भारतीय प्रधानमन्त्री मोदीले नै तीन पटकसम्म नेपाल भ्रमण गरिसक्नुभएको छ र यसले भारतसमेत सम्बन्धलाई सुधार गर्न इच्छुक छ भन्ने कुराको संकेत गर्छ ।

६) समान परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सवालमा समान धारणा
नेपाल र भारतले विगतदेखि अवलम्बन गर्दै आएको परराष्ट्र नीतिमा समेत धेरै हदसम्म समानता छ । विगतमा शीतयुद्धको समयमा विश्वका धेरै देशहरू दुई ध्रुवमा विभाजित भएको सयममा पनि नेपाल र भारत दुवै देशले कुनै पनि ध्रुवमा नलाग्ने असंग्नताको नीति अवलम्बन गरेका थिए । असंलग्न आन्दोलनको पाँच प्रमुख संस्थापक (बिग फाइभ) मध्ये भारतका तत्कालीन प्रधानमन्त्री जहारलाल नेहरू एक प्रमुख थिए भने नेपाल पनि उक्त असंलग्न आन्दोलनको एक संस्थापक सदस्य हो । यसैगरी दुवै देशले पञ्चशीलको नीति अवलम्बन गर्दै आएका छन् भने संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा समान किसिमका धारणाहरू राख्ने गरेको पाइन्छ यसले पनि दुई देशबीचको सम्बन्धलाई जोड्ने र अन्तर्राष्ट्रिय रूपमा पनि यी देशबीच विशेष सम्बन्ध छ भन्ने कुरालाई पुष्टि गरिरहेको छ ।

७) नेपालको विकास र समृद्धिमा भारतको सहयोग र सद्भाव
नेपालको आर्थिक सामाजिक विकासमा मात्र नभएर विभिन्न विपद्मा खोज, उद्धार, राहत एवं विभिन्न किसिमका मानवीय सहायता उपलब्ध गराउने भारत प्रमुख मुलुकको रूपमा छ । २०७२ सालको भूकम्पमा मात्र होइन हरेक विपद् र संकटको बेला खोज, उद्धार, राहत र पुनस्र्थापना गर्ने भारत अग्रणी मुलुकको रूपमा छ । सन् २०१७÷०१८ मा भारतले तीन सय ७५ करोड रूपैयाँभन्दा बढी रकम नेपाल सहायता (एड टु नेपाल) शीर्षकमा विनियोजन गरेको पाइन्छ ।

८) भारतको अन्य सम्बन्ध, सहयोग र थप सम्भावना भारतीय गोर्खा सेनामा करिव ३२ हजारभन्दा बढी नेपालीहरू कार्यरत छन् भने वार्षिक १ लाख २५ हजार भन्दा बढी पूर्व गोर्खा सैनिक एवं अन्य व्यक्तिले पेन्सन लिइरहेका छन् । यीबाहेक यस्ता व्यक्तिहरूको तालिम, प्रशिक्षणका साथै विभिन्न कल्याणकारी कार्यहरूमा ठूलो रकम लगानी भइरहेको छ । शिक्षा क्षेत्रमा स्नातक, स्नातोकोत्तर, पि.एच.डि. अध्ययनको लागि वार्षिक तीन हजारलाई छात्रवृत्ति प्रदान गरिरहेको छ । यसैगरी नेपाली सेनालाई उल्लेखनीय रूपमा सहयोग गरीरहेको छ । नेपाल र भारतबीच विकास र समृद्धिका धेरै साझा सम्भावनाहरू रहेको देखिन्छन् । नेपालको पर्यटन उद्योगले भारतलाई र भारतको पर्यटन उद्योगले नेपालको पर्यटन उद्योगलाई टेवा पुर्याएको देखिन्छ भने यी दुई देशबीचको अन्य विकासका समेत साझा सम्भावनाहरू रहेकोले दुई देशहरूलाई आपसमा विवाद गरेर होइन सहयोग र समन्वय गरेर अघि बढ्न उत्प्रेरित गरिरहेको छ ।

नेपाल र भारतबीचको सम्बन्धमा दरार पैदा गर्ने प्रमुख तत्वहरू
१) भारतबाट नेपालको सीमा अतिक्रमण
कालापानी, सुस्तालगायत ६५ भन्दा बढी स्थानमा भारतले नेपाली सीमा अतिक्रमण गरेको भनेर बारम्बार नेपालमा आवाज उठ्ने गरेको छ । यसैगरी भारतले पटक–पटक दशगजा क्षेत्रका नेपालतर्फका सीमा स्तम्भ नेपालतर्फ सारेको, विभिन्न स्थानमा बाँध निर्माण गरी नेपाली भूमि डुवानमा पारेको भनी नेपालतर्फ व्यापक रूपमा विरोध हुने गरेको छ ।

२) भारतीय सुरक्षा बलको अनधिकृत नेपाल प्रवेश
विभिन्न बहानामा नेपालको अनुमतिबिना भारतीय सुरक्षा बल पटक–पटक नेपाली भूमिमा प्रवेश गरेको घटनाले दुई देशबीचको सम्बन्धमा तनाव सृजना गरेको देखिन्छ । भारतीय सुरक्षा बल सीमा क्षेत्रमा मात्र होइन काठमाण्डौंसम्मै आएको घटना अनि यस्ता घटनाको विरोध गर्दा गौविन्द गौतमहरू सहिद बन्नुपरेको घटनाले कसैले नचाहँदा नचाहँदै पनि दुई देशबीचको वैमनस्यता बढ्दै गएको र भारतप्रतिको नेपाली दृष्टिकोण नकारात्मक बन्दै गएको छ ।

३) सन् १९५० को शान्ति तथा मैत्री सन्धी
(यस सन्धीका विविध पक्षहरू केलाउँदै यो सन्धीलाई किन खारेज गरिनुपर्छ भनी आगामी अंकमा विस्तृतमा उल्लेख गरिने भएकोले आज यसमा अति संक्षिप्तमा मात्र उल्लेख गरिएको छ ।)
वास्तवमा यो सन्धीले नेपालको अन्तर्राष्ट्रिय व्यक्तित्व (इन्टरनेसनल पर्सनालिटी)लाई मात्र कमजोर बनाएको छैन नेपालको आर्थिक विकास, अन्तर्राष्ट्रिय सहयोग प्राप्ति एवं राष्ट्रिय सुरक्षा हरेक क्षेत्रमा नेपालको भूमिकालाई संकुचित बनाएको छ ।

४) भारतको नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो राख्ने प्रवृत्ति
नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो र आफ्नो आन्तरिक मामिलाको व्यवस्थापन आफै गर्न सक्छ । तर, बेला–बेला भारतले नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गरेको खबर सतहमै आएको देखिन्छ । नेपालमा संविधान सभाबाट संविधान निर्माण गरेपछि त्यसमा असहमति राख्दै एकतर्फी नाकाबन्दी समेत लगाउन पुग्यो भने तराईवादी केही राजनीतिक दललाई उक्साई नेपालको संविधान संशोधनमा दबाब दिएको कुरा सबैमा सामु छर्लंगै छ । यहाँ सरकार गठन र विघटनमा मात्र होइन, मुख्य सचिव र सुरक्षा निकायका प्रमुखमा नियुक्ति गर्ने सवालमा समेत भारतले अनावश्यक चासो राख्ने गरेको देखिन्छ, नेपालकै एक राजनीतिज्ञका अनुसार भारतले नेपालमा सुक्ष्म व्यवस्थापन (माइक्रो मेनेजमेन्ट) गर्न खोजेको देखिन्छ र यस्ता गतिविधिले भारतप्रतिको नेपाली दृष्टिकोण सकारात्मकभन्दा नकारात्मक बन्नमा सहयोग गरिरहेको छ र यसले पनि नेपाल र भारतबीचको सम्बन्धलाई कमजोर बनाइरहेको छ ।

५) भुटानी शरणार्थी समस्या समाधानमा भारतको उदासिनता
नेपालमा आउने भुटानी शरणार्थीहरू भारतीय बाटो भएर नेपाल आएकोले उक्त समस्या समाधानको लागि भारतले समेत सक्रियता देखाउनुपर्नेमा भारत सधैं यस समस्यामा उदासीन रहन खोज्ने कारणले गर्दा पनि दुई देशबीचको सम्बन्धमा बेला बेला खटपट हुने गरेको छ ।

६) नेपालको जलसम्पदाको उपयोगमा भारतको स्वार्थपूर्ण दृष्टिकोण
नेपालको जलसम्पदाको उपयोगमा भारतले लामो समयदेखि गिद्धे नजर लगाएको भनी आरोप सुन्ने गरिन्छ । नेपालको जलसम्पदाको उपयोगमा अरु देशले सहयोग गर्न खोज्दा अनेका भाँजो हाल्ने र आफूले जिम्मा लिएका आयोजनाहरूमा पनि समयमा काम नगरी होल्ड मात्र गर्न खोज्ने प्रवृत्तिले भारतप्रतिको नेपाली दृष्टिकोण नकारात्मक बन्दै गएको देखिन्छ ।

७) अति राष्ट्रवादी (अल्ट्रा नेसनालिजम) धारणाको विस्तार नेपाल र भारत दुवै देशमा अति राष्ट्रवादी धारणाको विकास हुँदै गएको छ । सानो–सानो कुरामा समेत राष्ट्रियताको कुरा उठाई विवाद सृजना गर्न खोजेको देखिन्छ, जसले दुई देशबीचको सम्बन्धलाई कमजोर बनाउन भूमिका खेलिरहेको छ ।

८) एक–अर्कामा विश्वासको संकट तथा मनोवैज्ञानिक डर
वनको बाघले नखाए पनि मनको बाघले खाइरहेको जस्तो देखिन्छ । नेपाल एक सार्वभौमसत्ता सम्पन्न मुलुकको हैसियतले चीन, पाकिस्तान लगायतका देशहरूसँग सहयोग आदान–प्रदान गर्दा सधैं सशंकित बनेको देखिन्छ । पाकिस्तानी तथा चिनियाँ कूटनीतिज्ञ र अन्य नागरिक सीमा क्षेत्रमा घुमफिर गर्दा मात्र पनि आफ्नो जासुसी गरिरहेको आशंका गर्न पुग्छ भने नेपाल त झन् भारतले राम्रै नियतले कुनै सहयोग गर्न खोज्दा समेत त्यहाँ केही खराव स्वार्थ छ कि भनी सशंकित हुन्छ । आधा दर्जन देशसँग गरिसकेको बिप्पा सम्झौता भारतसँग गर्दा नेपालमा ठूलै हलचल हुन्छ, व्यापक आलोचना र टीकाटिप्पणी हुने गर्छ । वास्तवमा यी सबै विश्वासको संकट र मनोवैज्ञानिक डरको कारणले भएका हुन् । यस्ता कुराहरूले पनि दुई देशबीचको सम्बन्धलाई कमजोर बनाउन सहयोग गरिरहेका छन् ।

९) खुला सीमाानाको कारण अपराधिक व्यक्तिहरुको सहज वारपार
अवैध व्यापार एवं बढ्दो तस्करी आदिले समेत दुई देशबीचको सम्बन्धलाई कमजोर बनाउन सहयोग गरिरहेका छन् ।

सम्बन्धलाई प्रभावकारी बनाउने उपायहरू
भन्ने गरिन्छ हामी अरु सब थोक परिवर्तन गर्न सक्छौं । तर, छिमेकी परिवर्तन गर्न सक्दैनौं । तसर्थ, हामीले गर्न सक्ने भनेको आपसी अविश्वास, वैमस्यता न्यून गर्दै र आपसी विश्वास अभिवृद्धि गर्दै जाने नै हो । तसर्थ हामीले सबै उपायहरू अवलम्बन गर्दै सम्बन्धलाई प्रभावकारी बनाउनुको विकल्प नभएकाले निम्न उपायहरू अपनाएर आपसी सम्बन्धलाई सुधार गर्नुपर्छ ।

१) वैज्ञानिक सीमा नक्सांकन, रेखांकन गरी सीमा स्तम्भहरूको निर्माण तथा पुनर्स्थापना गर्ने ।

२) तत्काललाई सीमा वारपार गर्ने व्यक्तिको व्यवस्थित अभिलेख राख्ने र दीर्घकालीन रूपमा पासपोर्ट प्रणाली नै लागू गर्ने ।

३) नेपाल र भारतबीचको सन् १९५० को शान्ति र मैत्री सन्धी परिमार्जन वा खारेज गरी त्यसको ठाउँमा नयाँ सन्धी गर्ने । खासगरी नेपाल र भारत दुवै देशका प्रवुद्ध व्यक्ति (इ. पि.जी) ले यससम्बन्धी विस्तृत अध्ययन गरी सुझाव दिएको सोही अनुसार सन्धी परिमार्जन वा खारेज गरी यथाशीघ्र नयाँ सन्धी गरिनुपर्ने ।

४) नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्न नहुने र हाम्रा राजनीतिज्ञहरूले पनि राष्ट्रिय समस्याको समाधान देशभित्रै खोज्ने र भारतलाई यसमा संलग्न हुने मौका नदिने । देशभित्रका सबै प्रमुख शक्तिहरू एक हुन सकेमा भारतले पनि केही सक्दैन भन्ने कुरा २०६२÷६३ को जनआन्दोलनको बेला तत्कालीन राजाले वैशाख ८ गते गरेको घोषणा दलहरूले इन्कार गरेपछि भारतसमेत वैशाख ११ गते तत्कालीन प्रतिनिधिसभा पुनस्र्थापना गर्दै राजालाई घुँडा टेकाउने विन्दुसम्मको गतिविधिलाई समर्थन गर्न बाध्य भएको थियो ।

५) भुटानी समस्याको समाधानको लागि भारतले सकारात्मक भूमिका खेल्नुपर्ने ।

६) दुवै देशको साझा हितलाई ध्यानमा राखी दुई देशका जलसम्पदालगायत अन्य स्रोत साधनको उपयोगमा जोड दिने ।

७) अति राष्ट्रवादको सोचले दुवै देशलाई हित नगर्ने भएकाले त्यस्ता सोचलाई निरुत्साहित गर्ने ।

८) दुई देशबीचको अविश्वास हटाउन र कुनै तनाव भएमा शीघ्र हटाउनको लागि राजनीतिक, प्रशासनिक एवं कूटनीतिक संयन्त्रहरू निर्माण एवं अभ्यास गर्ने ।

९) पर्यटन अझ त्यसमा पनि धार्मिक पर्यटनले दुवै देशलाई फाइदा गर्ने भएकाले धार्मिक पर्यटनलाई जोड्नुपर्ने र बुद्ध सर्किट, शिव सर्किट जस्ता अवधारणा अगाडि बढाउने ।

१०) नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई देशगत एवं वस्तुगत रूपमै विविधीकरण गर्नुपर्ने । हाल दुई तिहाइ भन्दा बढी व्यापार भारतसँग मात्र हुने गरेकोमा अन्य देशसँग पनि व्यापार विस्तार गर्ने ।

११) अहिले नेपाल भारतसँग एकतर्फी रूपमा निर्भर रहेको र भारतले नाकाबन्दी लगाउँदा समेत नेपालले भारतलाई दबाब दिन सक्ने अवस्था सृजना नभएकाले नेपालले आफ्नो अपार जलविद्युत उत्पादन गरी भारतमा निर्यात गर्ने ताकी भारतले उताबाट वस्तु नेपाल पठाउन रोकेमा नेपालबाट समेत भारततर्फ निकासी हुने विद्युत बन्द गरी दबाब सिर्जना गर्न सक्ने अवस्था सृजना गर्ने । यसैगरी उत्तरतर्फका नाकाहरूको स्तरवृद्धि गरी तथा आवश्यकता अनुसार थप नाकाहरू खोल्ने र कुनै एक देशले नाकाबन्दी लगाउने वा अन्य असहयोग गरे अर्को देशबाट वस्तु तथा सामान भित्र्याउने । चिनियाँ रेललाई शीघ्र काठमाडौंसम्म ल्याउन ठोस पहल गर्ने ।

१२) सार्क बिमस्टेक जस्ता क्षेत्रीय संस्थाहरूलाई सुदृढ गर्ने । द्विपक्षीय भन्दा बहुपक्षीय हित र स्वार्थमा जोड दिने ।

निष्कर्ष
हामी सृष्टी फेर्न सक्दैनौँ । तर, दृष्टि फेर्न सक्छौं, छिमेकी फेर्न सक्दैनौं । तर, छिमेकीसँगको सम्बन्ध फेर्न सक्छौं । नेपालको राजनीतिक रूपान्तरणको काम सम्पन्न भई अब मुलुक आर्थिक, सामाजिक रूपान्तरणको चरणमा प्रवेश गरेकोले भारतसँगका तनावहरू हटाउँदै राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखी सम्बन्धलाई पुनर्परिभाषित गर्दै अघि बढ्न जरुरी देखिएको छ । यसतर्फ सबै गम्भीर भएर लाग्नु आजको आवश्यकता र समयको माग हो ।

प्रतिक्रिया दिनुहोस