कर्मचारी विदेश भ्रमण: सबैभन्दा बढी सामान्य-२४८ दिन, सबैभन्दा कम भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण ३ दिन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मचारी विदेश भ्रमण: सबैभन्दा बढी सामान्य-२४८ दिन, सबैभन्दा कम भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण ३ दिन


प्रशासन विशेष ब्युरो

११ कार्तिक २०७५, आइतबार


वैदेशिक भ्रमण

काठमाडौँ । कर्मचारी विदेश भ्रमणमा समाचार पुरानै हो । नानीदेखि लागेको बानी त्यति सजिलै कहाँ बदल्न सकिन्छ र ? यसका लागि सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका नै जारी गर्नु पर्‍यो तर अपेक्षित सुधार भने अझै हुन सकेको छैन । राज्यको आवश्यकता अनुशार विदेश जानै हुँदैन भन्ने होइन, तर त्यसबाट राज्यले के पायो भन्ने कुराको लेखाजोखा भने अवश्यक हुनु पर्दछ ।

चालू आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा मात्रै ८ सय बढी कर्मचारीले विदेश भ्रमण गरेका छन् । स्रोतका अनुसार २२ वटा मन्त्रालय तथा अन्तर्गतका निकायबाट गरी उक्त सङ्ख्याका कर्मचारीले विदेश गएका हुन् ।

सबैभन्दा बढी सङ्ख्यामा विदेश भ्रमणमा जाने ५ मन्त्रालयहरूमा क्रमशः रक्षा-२१९ जना, गृह-१२२ जना, सङ्घीय मामिला तथा सामान्य प्रशासन ९१ जना, वन तथा वातावरण ७७ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ४८ जना रहेका छन् । जसमा रक्षा र गृह अन्तर्गत सेना तथा प्रहरीबाट नियमितरुपमा खटनपटन भइरहने हुँदा संख्यात्मकरुपमा बढी देखिएको हो ।

विदेशमा सबैभन्दा बढी दिन बिताउने मन्त्रालयमा भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रहेको छ । जस अन्तर्गतका कर्मचारीले २ सय ४८ दिन विदेशमा बिताएका छन् । त्यसै गरी सबैभन्दा कम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ३ दिन मात्रै बिताएको छ ।

सबैभन्दा बढी दिन बिताउने मन्त्रालयमध्ये दोस्रो सूचीमा वन तथा वातावरण मन्त्रालय रहेको छ । यहाँका कर्मचारीले २ सय १९ दिन विदेशमा बिताएका छन् । त्यस्तै अर्थ मन्त्रालय १ सय ९८ दिन, उद्योग, वाणिज्य तथा आपूर्ति १ सय ४९ दिन र खानेपानीका कर्मचारीले १ सय २७ दिन विदेशमा बिताएका छन् ।

त्यसै गरी सबैभन्दा कम सङ्ख्यामा विदेश भ्रमणमा जाने पाँच मन्त्रालयहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट १ जना,  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट ३ जना, युवा तथा खेलकुद मन्त्रालयबाट ४ जना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ५ जना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ६ जना र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकबाट ६ जना रहेका छन् ।

सबैभन्दा कम दिन विदेशमा बिताएका पाँच मन्त्रालयमध्ये भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ३ दिन, युवा तथा खेलकुद ६ दिन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा ७ दिन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक ८ दिन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गएका कर्मचारीले १३ दिन विदेशमा बिताएका छन् ।

वैदेशिक भ्रमण व्यवस्थित गर्न गत वैशाखमा सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका जारी गरेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायबाट हरेक महिनामा विदेश भ्रमण गएका कर्मचारीको विवरण माग्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस