डाटा बेचेको अभियोगमा फेसबुकमाथि ८ करोड जरिवाना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डाटा बेचेको अभियोगमा फेसबुकमाथि ८ करोड जरिवाना


९ कार्तिक २०७५, शुक्रबार


काठमाडौं । फेसबुक प्रयोगकर्ताका डाटा बेचेको अभियोगमा फेसबुकमाथि ८ करोडकोे जरिवाना भएको छ ।

फेसबुकमाथि बेलायतको सूचना आयुक्तको कार्यालयले यस्तो जरिवानाको निर्णय गरेको हो । कार्यालयले आफुलाई प्राप्त दण्डात्मक अधिकारको अधिकतम सीमा प्रयोग गरेको छ । आयुक्त कार्यालयलाई अधिकतम ५ लाख पाउण्ड सम्ममात्र जरिवाना गर्न पाउने प्रावधान रहेको छ । चर्चामा रहेको क्याम्ब्रिज एनालिटिका डाटा काण्डको सन्दर्भमा फेसबुकमाथि यस्तो सजाय भएको हो ।

सूचना आयुक्तको कार्यालयका अनुसार सन् २००७ देखि २०१४ सम्म फेसबुकले प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु अनधिकृत रुपमा संश्लेषण गरी एप डेभलपरहरुलाई त्यस्ता डाटासम्म पहुँच दिएको थियो । फेसबुकले प्रयोगकर्ताको गोपनियताको पर्याप्त मात्रामा संरक्षण गर्न नसकेको सूचना आयुक्त इलिजाबेथ डेनह्यामले बताइन् ।

बेलायतको पूरानो डाटा प्रोटेक्सन ऐन १९९८ को प्रावधान अनुरुप सूचना आयुक्त कार्यालयले फेसबुकमाथि अधिकतमक सजाय सुनाएको छ । नयाँ कानून अनुसार भने यस्तो सजायँको अधिकतम सिमा १ करोड ७० लाख पाउण्ड वा कम्पनीको कूल विश्वव्यापी आम्दानीको ४ प्रतिशत रहेको छ ।

एप डेभलपर अलेक्जेन्डर कोगानले हात पारेका ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका डाटा पछि क्याम्ब्रिज एनालिटिकालाई बेचेका थिए । क्याम्ब्रिज एनालिटिका अमेरिकामा राजनीतिक गतिविधिमा संलग्न भएको थियो ।

एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस