नाइजेरियाको साम्प्रदायिक हिंसामा ५५ जनाको मृत्यु, २४ घण्टे कर्फ्यू « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नाइजेरियाको साम्प्रदायिक हिंसामा ५५ जनाको मृत्यु, २४ घण्टे कर्फ्यू


५ कार्तिक २०७५, सोमबार


अबुजा । नाइजेरियामा साम्प्रदायिक हिंसाका कारण ५५ जनाको मृत्यु भएको छ । नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे कर्फ्यू जारी गरेका छन् ।

एक वक्तव्य जारी गर्दै गभर्नर नासिर एल–रुफाईले परिस्थितिलाई काबुमा ल्याउन कडुना महानगर क्षेत्रमा राज्य सरकारले कर्फ्यू जारी गरेको बताएका छन् । उनले शान्ति कायम गर्न सबै स्थानीयबासीसँग आग्रह गरेका छन्।

यसैसाता हउसा मुस्लिम र अदारा इसाई युवाबीच शुरु भएको साम्प्रदायिक हिंसाका कारण तनाव उत्पन्न भएको थियो।

बिहीबार दुई जनाको हत्या गरिएपछि नाटकीय रुपमा हिंसा फैलिँदै गएको थियो । अदारा युवाहरुले हउसा समुदायका घरघरमा आक्रमण गरेका थिए। उनीहरुले स्थानीयबासीका घरमा आगो लगाउनुका साथै दर्जनौंको हत्या गरेका थिए।

कडुनाका प्रहरी आयुक्त अहमद अब्दुर–रहमानले हिंसा फैलाएको आरोपमा २२ जनालाई शुक्रबार पक्राउ गरिएको बताए।

यस अघि फेब्रुअरीमा कम्तीमा १० जनाको ज्यान गएको थियो भने सयौं घरमा आगजनी गरिएको थियो। सन् २००० र २००२ मा फैलिएको हिंसामा हजारौं मारिएका थिए। एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस