मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा


१ कार्तिक २०७५, बिहिबार


पर्वत । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु भएको छ ।

कूल विद्युत् उत्पादन क्षमता १४.८ मेगावाट रहेको आयोजनाबाट अहिले दैनिक १४ दशमलव ८ मेगावाट नै विद्युत् उत्पादन भइरहेको केन्द्रले जनाएको छ । यसअघिका वर्षमा वर्षायाममा पनि बढीमा ११ मेगावाटसम्मको आसपासमा विद्युत् उत्पादन हुने गरेकामा यस वर्ष विद्युत्गृहमा प्रयोग भएको पुरानो कुलर हटाएर नयाँ कुलर परिवर्तन गर्ने, समय समयमा सरसफाइ गर्ने र नयाँ यन्त्र फेरेपछि उत्पादन पूर्ण क्षमतामा हुन थालेको जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताए । “हामीले यस वर्ष एउटा कुलर फेरेका छौँ, त्यसैले नै विद्युत् उत्पादन बढेको छ ।”

कुनैकुनै बेला घटबढ हुने भए पनि अधिकांश समयमा क्षमतानुसार नै दिएको छ । अर्को वर्ष अर्को कुलर पनि फेर्ने योजना छ । यस पटक केन्द्रीय बोलपत्रानुसार झण्डै रु ३५ लाखको लगानीमा कुलरलगायत अन्य सामान फेरिएको केन्द्र प्रमुख शाहले जानकारी दिए। यसअघि कुलेखानी र मध्यमस्र्याङ्दी आयोजनामा गरेर १६ वर्ष काम गरेका शाह आफैँले विद्युत्गृहका सामान्य खालका मर्मत गर्दै आएका छन् । एक वर्ष अगाडि केन्द्र प्रमुख बनेर आएका शाहले मोदीखोला जलविद्युत् आयोजनामा आइपर्ने सामान्य मर्मत र सम्भारका लागि अन्य आयोजनाका प्राविधिक बोलाउनुपर्ने बाध्यता हटेको र समस्या आउनासाथ आफैँले नेतृत्व गरेर समाधान गर्ने गरेका कारण पनि विद्युत् उत्पादन घट्ने समस्या हट्दै गएको बताए ।

मोदीखोला जलविद्युत् आयोजनामा बर्खा याममा दुई वटै युनिटबाट तथा हिउँदमा एउटा मात्र युनिटबाट विद्युत् उत्पादन हुने गरेको छ । मोदीमा पानीको बहाव कम हुँदा झण्डै माघदेखि एउटा मात्र युनिट चल्न सक्ने पानीको क्षमता रहने कारण विद्युत् उत्पादन पनि घट्ने गरेको छ । शाहका अनुसार एउटा टर्बाइनबाट तीन मेगावाटभन्दा कम विद्युत् उत्पादन हुने अवस्था आएपछि दुवै टर्बाइनका लागि प्रयोग भएको पानी एउटा मात्र टर्बाइनमा खसालेर विद्युत् उत्पादन गरिएको छ । सन् २००० (वि.सं. २०५७ तिर) मा निर्माण भएको यो आयोजना यस क्षेत्रकै पुरानो हो । यसपछि पर्वतमा १० मेगावाट क्षमताको तल्लो मोदीखोला ए सञ्चालनमा आएको छ भने २० मेगावाटको तल्लो मोदीखोलाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

बञ्जीजम्प निर्माण अन्तिम चरणमा

निर्माणाधीन विश्वकै दोस्रो अग्लो बञ्जीजम्पको निर्माण अन्तिम चरणमा छ । निजी क्षेत्रका युवा व्यवसायीको लगानीमा कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई ५२० मिटर लामो झोलुङ्गे पुलमा जोडेर २२८ मिटर उचाइको नमूना बञ्जीजम्पको निर्माण ८० प्रतिशत पूरा भएको छ ।

कुश्माका लगानीकर्ता नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी र सिन्धुपाल्चोकका राजु कार्की र फ्रान्सेली युवती फ्लोरेन्सलगायतको हालसम्म रु १२ करोड खर्च भइसकेको जनाएका छन् । बञ्जीमा युवा लगानीकर्ताबाहेक पनि प्रभु बैंकको हालसम्म रु पाँच करोड लगानी भएको कुश्मा शाखाका प्रबन्धक हेमन्तबाबु शर्माले बताए ।

संसारकै गहिरो खोंच बनाएर बगेको कालीगण्डकीमाथि पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी अग्लो झोलुङ्गे पुल बनाइएको छ । यहाँ विश्वकै दोस्रो उचाइको बञ्जी बन्ने जिकिर लगानीकर्ताको छ । पाँच सय २० मिटर लामो र २२८ मिटर उचाइको सिङ्गल स्पान झोलुङ्गे पुलसहित कालीगण्डकीको खोंचमा बन्ने यो बञ्जी मुलुककै अन्य बञ्जी स्पटमध्ये नमूना हो । वि.सं. २०७३ वैशाखमा निर्माण शुरु भएको बञ्जीसँगै उनीहरूले स्काइ साइक्लिङ, स्वीङ (लठ्ठामा मच्चिने पिङजस्तो खेल) र रिसोर्ट समेतको सञ्चालन तयारी गरेका छन् ।

द क्लिफ प्रालिमार्फत यी सबै संरचनामा लगानी गरिएको लगानीकर्ताले बताएका छन् । क्लाम्पिङ रिसोर्ट सञ्चालन गर्न बलेवामा २५ रोपनी जग्गामा संरचना निर्माण भइरहेको सञ्चालक जोशीले जानकारी दिए। बञ्जीजम्प विश्वकै दोस्रो तथा स्काइ साइक्लिङ र स्वीङ विश्वकै अग्लो हुने जिकिर लगानीकर्ताको छ । “विश्वकै अग्लो बञ्जी चाइनामा छ”, कार्कीले भने, “हामीकहाँ हुने स्काइ साइक्लिङ र स्वीङ विश्वमै अग्लो हुनेछ ।”

बञ्जी निर्माणतर्फ कन्स्ट्रक्सनको जिम्मा लिएको प्यारामाउन्ट कन्स्ट्रक्सनले अबको तीन महीनाभित्र निर्माण सक्ने जनाएको छ । प्यारामाउन्टका कम्पनी लिडर मनोजकुमार चौधरीले सरासर काम गर्न पाए तीन महीनामा सबै सकेर कम्पनीलाई जिम्मा लगाइने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस