आज महानवमी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आज महानवमी


प्रशासन विशेष ब्युरो

१ कार्तिक २०७५, बिहिबार


महानवमी

काठमाडौं । बडादसैंको नवौं दिन आज धुमधामसँग महानवमी मनाइँदैछ । यस दिन दुर्गा भवानीको पूजाआजा गरी बलि दिने प्रचलन छ ।

आजकै दिन घटस्थापनामा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ ।

कतिपय स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकी थिइन् । त्यसकारण यस पर्वलार्य विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जंगी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ ।

हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर आज मात्रै खुल्ने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस