आज घरघरमा फूलपाती भित्र्याइँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज घरघरमा फूलपाती भित्र्याइँदै


प्रशासन विशेष ब्युरो

३० आश्विन २०७५, मंगलबार


फूलपाती

काठमाडौं । बडादसैंको सातौं दिन आज नेपाली परम्परा अनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ ।

दुर्गा भवानीको प्रतिमा राखिएको हनुमानढोकास्थित दसैँघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ ।

यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ ।

यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी (जमल) ल्याई प्रोसेशन र बढाइँ साथ हनुमानढोका भित्र्याइन्छ ।

किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस