उच्चपदस्थकोमा ‘उपहार’ : कति स्वार्थ, कति सम्मान ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उच्चपदस्थकोमा ‘उपहार’ : कति स्वार्थ, कति सम्मान ?


प्रशासन विशेष ब्युरो

२९ आश्विन २०७५, सोमबार


उपहार

काठमाडौँ । मन्त्रीकहाँ सिंहदरवारभित्रै रक्सी उपहार आएको कुरा त सबैले थाहा पाए तर उच्चपदस्थ कर्मचारी कहाँ आज आउने उपहारको बारेमा कति थाहा छ ?

हो, कार्यालय लाग्ने दसैँ अघिको अन्तिम दिन आज अधिकांश उच्च पदस्थ कहाँ घरमै उपहार पुग्दैछ । तर, सबै उच्च पदस्थ कहाँ भने होइन । खास गरी उद्योगी, व्यापारी तथा अत्यधिक जनसम्पर्क रहने कार्यालयका सहसचिव भन्दा माथिका घरमा कर्मचारीलाई मात्रै यस्तो सौभाग्य प्राप्त गर्नेछन् । राजस्व संकलन गर्ने निकायका उप सचिवलाई पनि यो भाग्य प्राप्त हुन्छ । यस अन्तर्गतका सबै कार्यालयका सबै उच्च पदस्थ पनि होइन । केही खास जसले चाहेर त आउँछ नै कतिपय नचाहेर पनि घरमा पुग्छ । चाहनेको संख्या र मुखै खोलेर माग्नेको संख्या धेरै छ नमाग्ने र अस्वीकार गर्ने थोरै ।

यसरी उपहार आउने उच्च पदस्थहरूमध्ये सबैभन्दा बढी अर्थ मन्त्रालय पर्दछ भने मुख्य मन्त्रालयका सचिवहरू पनि यो लिस्टमा पर्छन् । त्यसबाहेक उद्योग, वाणिज्य, आपूर्ति तथा मालपोत, नापिलगाएतका विभागीय प्रमुखसम्मलाई उपहार आउँछ । अधिकांश मन्त्रीका सचिवालयका पी ए हरू र प्राविधिक मन्त्रालय पनि यसमा अछुतो रहने भएन ।

एक विभागीय प्रमुख भन्छन् –कर्मचारीलाई त व्यापारीको नाम थाहा हुँहैन, तर त्यो व्यापारीलाई भने सबैको नाम, नम्बर र ठेगानासमेत थाहा हुन्छ ।

अनि फोन गर्छ, दशैको शुभ कामना दिनु पर्ने थियो सर, हजुरको घर कता हो भनेर सोध्छ, उनले भने, घरसम्म पुर्‍याएको किन फर्काउनु भनेर कतिले राख्छन् एक आधाले फर्काएका पनि उदाहरण छन् –उनी थप्छन् ।

के आउँछ त उपहार
यसरी आउने उपहारमा खास गरी तीन थरी सामानहरू आउँछ । एउटा सुनको सिक्का(आधा तोला सम्मको), एक बोतल रक्सी( सामान्यतया चिवास रिगलदेखि ब्लु लेबल तर कतिपय त व्यक्ति हेरी त्यो भन्दा महँगो) र उसको आफ्नो उत्पादन उपहार स्वरूप आउँछ ।

यसबाहेक खसी, बोका, च्याङ्ग्रा, मिठाई लगायतहरु दिइने गरिन्छ । पछिल्लो समयमा सिङ्गै जिउँदो पुर्‍याउँदा झन्झट पनि हुने चियोचाँसो बढी हुने भएकोले काटकुट पारेर ठिक अवस्थामा पुर्‍याउने गरिएको एक व्यापारीले बताए । वर्ष दिनको एक पटक त हो, यत्ति पनि गरेन भने फेरी काम लिनै अफ्ठेरो हुन्छ, त्यो भन्दा दिएपछि ढुक्कले भन्न पाइन्छ ।

उपहार दिनु आफैमा नराम्रो नभए पनि स्वार्थसहितको उपहारले राज्यलाई नै नोक्सान पुर्‍याउने एक पूर्वसचिवको भनाई छ । गक्ष अनुसारको श्रद्धाले दिनुलाई नराम्रै भन्न नमिल्ला तर उपहारका नाममा निहित स्वार्थ राखेर महँगा सामानहरू दिनु र लिनु दुवै अनुचित हो ।

उपहारको कैयौँ गुणा बढी फाइदा उसले वर्षभरि त्यो कर्मचारीबाट लिन्छ लिन्छ, चाहे त्यो लिएको नै किन नहोस् अर्का एक सचिव भन्छन्, ‘चाहे आगामी दिनमा लिने दाउमा नै किन नहोस्, त्यो लिएरै छाड्छ र कर्मचारी त्यति बेला निरीह हुन्छ ।’

उपहार लिईसकेपछि नैतिकरुपमा पनि उ कम्परमाइज गर्न बाध्य हुन्छ । कतिपय अवस्थामा त अझ बढी उपहारको आसमा पनि त्यस्ता व्यक्तिहरूको पक्षमा हुने गरेका छन् ।

केही दिन अघि दिउँसै देशको प्रमुख प्रशासनिक अड्डाभित्रै देखाउँदै लगेर मन्त्रीलाई रक्सीको बोतल टक्र्याएको दृश्यान्तले पनि उच्च राजनीतिक तथा प्रशासनिकतहमा उपहार लेनदेनलाई छरपस्टै पारेको छ ।

व्यापारी देखि कूटनीति नियोगले हाइप्रोफाइललाई उपहार दिनु नौलो होइन तर कार्यालय समयमै त्यो देखाउँदै लगेर ए कता राख्ने हो भन्दै जानु कति उपयुक्त्त ?

‘उपहार त यस अघि पनि आउँथ्यो तर यस पटक अचम्मै गरी आयो’ मन्त्रीको सचिवालयका एक कर्मचारीले भने– ‘उपहार भनेको त उपहार जसरी नै दिनु पर्ने हो तर जड्याहालाई दिए जस्तै र्यापिङसमेत नगरी मन्त्रीजीको सचिवालयमा उपहार राख्ने मान्छे को छ हँ’ भन्दै बोतलै देखाएर ल्याउँदा त देख्नेलाई नै लाज भयो ।

कम्तीमा मन्त्रालयमै देखाउँदे त नल्याए हुने उनको भनाई छ । क्वाटरसम्म पुर्‍याएको भए, यत्रो हल्लाखल्लीत हुँदैनथ्यो लामो समय विभिन्न मन्त्रीको निजी सचिवालयमा काम गरेका अर्का एक कर्मचारीले थपे–‘उपहार त पहिले पनि आउँथ्यो तर यसरी लाजै मर्नुको अवस्थाहुँने गरी दिँदैनथे । ’

उपहारको रक्सी अधिकांश मन्त्रीकोमा पुगेको छ । चिवास टुवेल इयर्सदेखि लिएर ब्लु लेबलसम्मको रक्सी आएको सचिवालय कर्मचारीले बताए ।

म भ्रष्टाचार गर्दिन भन्न लगाउने र भन्नेले कम्तीमा आज एक दिन यी उपहार नलिइदिए भ्रष्टाचार एक कदम भए पनि कम हुने थियो कि ! आज सबै मन्त्रालयमा हुने दसैँ शुभ कामना आदान प्रदानमा सबै मन्त्री सचिव लाभ हुने विभाग र कार्यालयका सह सचिव, उप सचिव, मन्त्रीका सचिवालयका पी ए ले आज म यसरी आएको उपहार अस्वीकार गर्नेछु भनेर प्रतिज्ञा गर्ने हिम्मत गर्नुस् । र, व्यापारी तथा नियोगहरू उच्चपदस्थको ढोका चहार्दै उपहार नटक्र्याउनुस् ।

प्रतिक्रिया दिनुहोस