कार्तिक ३० गते, २०७५

मरेको र रोगी पशुपन्छी भित्रिन नदिन सजग छौं

दसैं नजिकिँदै छ । यस अवसरमा माछामासुको व्यापार पनि निकै बढ्ने गरेको छ । चाँडबाँडका अवसरमा व्यापारीले बिरामी तथा मरेको पशुपन्छी बिक्री गर्ने हुने गरे पनि सरोकारवाला निकायले चासो नदिएको उपभोक्ताको गुनासो छ । दसैंका बेला उपत्यकामा मरेका पशुपन्छी भित्रिन नदिन पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले के काम गरिरहेको छ । यिनै विषयमा कार्यालय प्रमुख डा. श्रीराम अधिकारीसँग प्रशासन डट कमले गरेको कुराकानी ।

चाडवाडको बेला छ, पशु तथा पशुजन्य पदार्थबाट सर्न सक्ने रोगको रोगथामका लागि के कसरी काम गर्दै हुुनुहुन्छ ?
पहिलो कुरा त हामीले के काम कसरी गर्छौ भन्ने बुझ्न जरुरी छ । नेपालभरि क्वारेन्टाइन कार्यालयको सञ्जाल छ । जसमा आठ क्वारेन्टाइन कार्यालयहरू छन् । तीमध्ये काठमाडौं क्वारेन्टाइन कार्यालय राजधानीमा अवस्थित छ । यसले अन्तर्राष्ट्रिय नाका एयरपोर्ट पनि हेर्छ । र, रसुवा नाका पनि हेर्छ । त्यसबाहेक भारतबाट आउने नाकाहरू छन् । झण्डै २४ ओटा आन्तरिक र बाह्य चेक पोस्टहरू रहेका छन् । जसमध्ये तीन ओटा महत्वपूर्ण चेकपोष्टहरू(रामनगर चितवन, रसुवा र अन्तर्राष्ट्रिय विमानस्थल) काठमाडौंले हेर्दै आएको छ । र, नागढुंगामा पनि अर्को नाका खोल्ने तयारीमा छौं । केही समय लाग्छ होला ।

पशु, पशुजन्य पदार्थ वा त्यो उत्पादन सामग्रीबाट रोग भित्रिन नदिनु नै पशु क्वारेन्टाइनको मुख्य काम हो । जसबाट पशुलाई, मानव स्वास्थ्यलाई र वनस्पतिलाई हानी नहोस् । त्यसका लागि हामीले पशु तथा पशुजन्य सामाग्रीहरू भित्रिने नाकाहरूमा वैज्ञानिक तवरले जाँच गर्छौ । नेपाल भित्रिने कुनै पनि वस्तुहरू क्वारेन्टाइन जाँच प्रक्रिया गरेर मात्रै नेपाल भित्रिन्छन् । निरोगी छ भने मात्रै प्रवेश गराइन्छ ।

पशुपन्छी तथा पशुजन्य पदार्थहरूको ओसारपसारका लागि एउटा अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड तोकिएको छ त्यसै स्ट्यान्डर्ड गाइडलाइनको आधारमा कुनै एक देशबाट अर्को देशमा पशु तथा पशुजन्य पदार्थ उत्पादन सामग्री पठाउँला त्यसका केही प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ । त्यसका लागि मान्यता प्राप्त व्यक्तिबाट सिफारिस भएको हुनुपर्‍यो । उसले आयात-निर्यातको प्रमाणपत्र दिएर मात्रै पुग्दैन । जहाँबाट कन्साइनमेन्टले ल्याइदैछ । त्यो पनि ओ आई ई बाट रिकोनाइज्ड संस्था हुनुपर्‍यो । त्यस्तै ऊ त्यहाँ रोग छैन भन्ने एउटा उत्पत्तिको प्रमाणपत्र लिएको हुनुपर्छ । यी सबै प्रक्रियाहरू पूरा भएपछि मात्रै एउटा क्वारेन्टाइन प्रक्रियामा प्रवेश गर्छ । यसले रोग र स्वच्छतासँगै प्याकेजिङ सिस्टमहरू हेर्छ । त्यो कुन प्रक्रियाबाट कसरी आइरहेको छ । तोकिएको मापदण्ड मुताविक छ कि छैन भन्ने कुराहरू हेर्छ ।

यहाँले भनेका सबै कामहरू क्यारेन्टाइन कार्यालयले गर्दै आएको छ त ?
हामीसँग अहिले जुन दरवन्दी छ, हाम्रो हिसाबले पर्याप्त छ । तर, जसरी काम गर्नुपर्ने हो त्यो अनुसार अति नै अपर्याप्त छ । र, पनि हामीलाई दिएको जुन म्यान्डेट हो त्यो अनुसार हामी काम गरिरहेका छौं । जस्तो: काठमाडौं भित्रिने अधिकांश चिजहरू चितवनमार्फत् नै आउने भएकोले रामनगरमा अहोरात्र साथीहरू बसेर चेकजाँच गरिरहनुभएको छ । त्यसपछि पनि हामी फेरि नागढुंगामा छड्के चेकजाँच गरिरहेका छौं । चाडबाडको बेला त नियमित जसो नै चेकजाँच गर्छौ । यता पनि पूर्व साइटबाट आउने नाकामा पनि साँगामा चेकजाँच हुन्छ । चाडवाडको बेलामा पशु सेवा विभागले पनि छुट्टै कर्मचारी खटाउने गरेको छ ।

अहिले हामी दुई वटा कुरामा बढी केन्द्रित छौं । एउटा मरेको वस्तु हामी भित्रिनै दिँदैनौं, हामी जहाँ पाउँछौं त्यही डिस्पोज गरिहाल्छौं । दोस्रो भनेको रोगीलाई हामी सकभर छिर्न दिँदैनौ । कतिपय अवस्थामा भन्दाभन्दै पनि नसक्ने अवस्था छ । यसमा सुरक्षा निकायको समन्वय एकदमै आवश्यक छ । कतिपय ठाउँमा हामीले बस रोक्न सक्दैनौं । बस त सुरक्षा निकायले रोकिदिन पर्‍यो । कतिपय ठाउँमा प्रशासनिक कुराहरू आउँछन् । कतिपय ठाउँमा अदालती कुराहरू आउँछन् । अहिले नयाँ मुलुकी(संहीता) लागू भएको छ । त्यसैले सबैको सपोर्ट हुन अनिवार्य छ । सबै काम क्वारेन्टाइनले मात्रै गर्न सक्दैन ।

चाडबाडको बेला यात्रुवाहक बसमा पशुपन्छी ढुवानी गर्ने पुरानै चलन छ, यसलाई रोक्न तपाईहरूसँग के योजना छ ?
यात्रुवाहक सवारी साधनमा पशुपन्छी तथा पशुजन्य वस्तुहरू ढुवानी गर्न पाइँदैन भन्ने कुरा हाम्रो पशु ढुवानी मापदण्डमा पनि स्पष्टसँग उल्लेख गरिएको छ । हाम्रो ऐनले पनि वर्जित गरेको छ । कथम कदाचित त्यस्ता पदार्थबाट मानिसमा कुनै रोग सर्‍यो भने दश वर्षसम्म उसलाई जेल हाल्न सकिन्छ । त्यस्तो खालको कानुन पनि बनिसकेको छ । नियतबस नै गरेको छ भने दश वर्ष तथा अन्य अवस्थामा अपराधको प्रकृति हेरी तीनदेखि पाँच वर्षसम्म जेल हाल्न सकिन्छ ।

अर्को महत्वपूर्ण कुरा यात्रुहरू सचेत हुनुपर्छ । यात्रुवाहक बसमा पशुपन्छी मात्रै होइन, अण्डासमेत ओसार्न पाइँदैन । यदि कसैले ओसारेको छ भने यात्रुहरूले पनि त्यसको विरोध गर्न तथा सम्बन्धित निकायमा जानकारी दिन सक्छन् ।

अहिले चाडवाडको बेला बसको डिग्गीमा र छतमा खसी-बोका ल्याइने गरिएको छ, जुन सबैभन्दा निन्दनीय काम हो । बन्द डिग्गीमा वस्तुभाउ खाँदेर ढुवानी गर्दा उनीहरूलाई अक्सिजन पुग्दैन । कतिपय रोगी बिरामीहरूको रोग पनि एक आपसमा तुरुन्तै सर्ने सम्भावना हुन्छ ।

साइकलमा मोटरसाइकलमा कुखुरा झुण्ड्यायर दर्दनाक हिसावमा ओसारपसार गरिरहेका हुन्छ । एउटा मानवताको नाताले पनि गर्नै नहुने काम हुन् ति ।

राजधानीका सडकमै यस्तो छ्यापछ्याप्ती देखिन्छ, खै त कारवाही गरेको ?
हामीले अहिले विशेष गरेर तीन किसिमको कारवाही गरिरहेका छौं । एउटा उहाँहरुलाई पम्प्लेट दिन्छौं । अवायरनेस गर्छौं । अब यस्तो नगर्नुहोस् है । यस्तो गर्न पाइँदैन भनेर सचेत बनाउँछौं ।

दोस्रो, उहाँहरूलाई दण्ड जरिवाना स्वरूप ढुवानी मापदण्डले दिएको कुनै ठाउँमा एकदेखि ५० हजार रूपैयाँसम्मको कारवाही गर्छाैं । र, तेस्रो भनेको नसियत स्वरूप उहाँहरूलाई कागज गराएर मात्रै छोड्छौं । डिग्गीमा हालेर ल्याएको छ भने अर्को गाडीमा राखेर लिनुस् भनेर त्यही रोकिदिन्छौं ।

एक-अर्काबाट रोग सर्न नदिन मुख्य सजकता अपनाएका छौं भन्नुभयो, तर ढुवानी, मासु पसल तथा बधशालालगायत कुराहरू हेर्दा के यो सम्भव छ ? भन्नुपर्ने अवस्था छ नि, हैन र ?
गरे के हुँदैन । कुनै बेलामा हामीकहाँ बर्डफ्लु देखा पर्‍यो । नेपालले विकसित मुलुकहरूले पनि गर्न नसकेको काम ऐतिहासिक काम गरेको छ । जब झापामा बर्डफ्लु देखाप¥यो । त्यतिबेला भेनेको सर्टेन टाइमभित्र बर्डफ्लु नियन्त्रण गर्‍यौं । सरकारका सबै निकायले सँगसँगै मिलेर काम गर्यौं । बसमा कसैले कुखुराको भाले ससुराली लिएर हिँडेको छ भने पनि कुखुरा राखेको छ भनेर मान्छेले खबरदारी गरे । त्यो सचेतना अनुसार हामीले काम त्यतिवेला गरेका थियौ । त्यसपछि पनि बर्डफ्लु पटक पटक फैलियो । तर, हामीले तुरुन्तै नियन्त्रणमा लियौं । बर्डफ्लु फैलिएपछि कतिपय देशहरूमा अहिलेसम्म पनि बर्डफ्लुको भागिदार भइरहेका छन् ।

हामी कहाँ सर्टेन केहीहरू रोगहरू जसले मानव स्वास्थ्यलाई त्यति हानी त पुर्‍याउँदैन । तर, वर्षैपिच्छे देखिरहन्छन् त्यो भनेको सचेतना नभएका कारणले हो । रोग भनेको त्यतिकै हावाबाट मात्रै सर्दैन । खान पर्ला अथवा लसपस हुन पर्ला । कन्ट्याक्टमा आउन पर्ला । कुनै न कुनै माध्यममा त आउन पर्ला । त्यसैले सबै भन्दा ठूलो कुरा सचेतना हो । त्यो सचेतना सबै ठाउँबाट भइदियो भने नियन्त्रण सम्भव छ । तर, यसो भनिरहँदा कहिलेकाहीँ दुई पैसा सस्तो गर्ने बहानामा ज्यानकै जोखिम मोल्नुपर्ने तथा भोली लाखौ रूपैयाँ खर्चेर उपचार गर्नुपर्ने त्यो निम्तिन्छ भने त्यसमा सजग हुनैपर्छ । बीचका जुन व्यापारी छन्, जसलाई हामी बिचौलियाहरु पनि भन्छौँ, उनीहरूबाट बदमासी भएको छ भने ति मुनाफाखोरको फन्दाबाट हामी बाहिर निस्कनै पर्छ । किनभने हामीलाई थाहा छ किसानले कति पैसामा उत्पादन गर्छ र कति पैसामा बिक्री हुन्छ भन्ने कुरो हामी सबैले बुझेका छौं ।

पशुपन्छी तथा पशुजन्य पदार्थहरूबाट मानिसमा रोगहरू सर्ने जोखिम कतिको देख्नुहुन्छ ?
कति त रिसर्च हुनै बाँकी छ । कतिपय कुरा तथ्यगत रिसर्च आइसकेको छ । कतिपय टाइफाइटकै रोगीहरू पशुपन्छीबाट आयो कि पानी या अन्यबाट भन्ने अध्ययन नै भएको छैन । कति टिबीका रोगीहरू रिसर्च हुनै बाँकी छ । किनभने गाईमा लाग्ने अर्थात् बर्डमा लाग्ने टिभी मान्छेमा पनि सर्छ । समग्रमा करीब ७० प्रतिशत रोगहरू पशु तथा पशुजन्य पदार्थबाट मानवमा सर्न सक्ने अनुसन्धानले देखाएको छ । त्यही भएर हामी सचेत हुनुपर्छ । यसमा पशु भन्नाले मौरी पनि हो । चराचुरुङ्गी पनि हो । माछा पनि हो । पानीमा जाँदा कतिपय जलचरहरू जो पशुमा पर्छन् । ती जलचरहरू रोगका बहाव हुन सक्छन् । कतिपय आँखाले देखिने होस् नदेखिने होस् इन्सेक्टहरू हावाको माध्यमबाट सर्छन् । ती पनि रोगका संवाहक हुन सक्छन् । हामीले उपभोग गर्ने जुन खाद्य पदार्थ हो । ती सबै रोगको क्यारियर हुन सक्ने सम्भावना हुन्छ । सबै ठाउँमा सचेत नहुने हो भने रोग भित्रिन सक्छ । मासु तथा मासुजन्य पदार्थ र दुग्ध पदार्थ यो झन् सबैभन्दा राम्रो माध्यम हो ब्याक्टेरियाको लागि ।

मासु तथा मासुजन्य पदार्थहरूबाट सर्न सक्ने विभिन्न खाले रोगहरूबाट बच्न सबैभन्दा महत्वपूर्ण भूमिका कसको देख्नुहुन्छ ?
जबसम्म अत्याधुनिक सर्टर हाउसको निर्माण गर्दैनौं, रजिस्टर मासु बिक्री वितरणको व्यवस्था मिलाउँदैनौ, तबसम्म यो अवस्था दिनानुदिन आइरहन्छ ।

नेपालमा अझै पनि सस्तो लेवर खोजिन्छ । सस्तो इक्युपमेन्ट खोजिन्छ । तर, विदेशतिर हेर्ने हो भने अत्याधुनिक मेसिनहरूबाट सबै काम हुने गरेका छन् ।

पशुपन्छीहरूको गोठदेखि ओठसम्मका सबै प्रक्रियाहरू पूरा गरिएको हुन्छ । पशुपन्छीहरूको आहरादेखि ढुवानी तथा बध गरुन्जेल र त्यसपछिको भण्डारण र बिक्री वितरणसम्म विशेष सावधानी अपनाइएको हुन्छ । यतिसम्म कि सानोभन्दा सानो कही खटिरा छ भने पनि त्यसको मासुलाई प्रयोग गर्ने कि नगर्ने भनेर संवेदनशील भएर बध हुन्छ भने हामीकहाँ यदि कुनै पशुपन्छीमा रोग देखापर्‍यो भने त्यसलाई पहिला काटीहालौँ भन्ने चलन छ । त्यसैले हामी जहिलेसम्म यो सर्टिफाइटको काम गर्दैनौं । त्यो त भइनै रहन्छ । त्यही भएर अब उपभोक्ता एकदम सचेत हुन जरुरी भइसक्यो । मुनाफा कमाउने मान्छेले त अन्याय गरिरहन्छ ।

दसैँ तिहारको बेला छ, आम उपभोक्तालाई के छ तपाईँको सुझाव ?
पशु तथा पशुजन्य पदार्थहरू यात्रुवाहक सवारी साधनमा राखेर ढुवानी नगरौं । जो व्यापारी हुनुहुन्छ र बाहिरबाट ढुवानी गर्नुहुन्छ, उहाँहरूले रोगी, अस्वस्थ खालको पशुहरू ढुवानी नगरौं । ठाउँ–ठाउँमा चेकजाँच भइरहेको छ । यस्ता पशुपन्छीहरू फेला परेको खण्डमा ठाउँको ठाउँ नष्ट त गरिन्छ नै कारवाही समेत हुन्छ । त्यस्तै परे जेलै जानुपर्ला । सबै हिसावले तपाईँहरूलाई घाटा हुन सक्छ ।

त्यसपछि उपभोक्ताहरू सजग हुनुपर्छ । जसले मासु, अण्डा, दुधलगायत पशु तथा पशुजन्य पदार्थहरू उपभोग गर्छौ । राम्ररी हेरेर मात्रै उपभोग गरौँ । यतिबेला सबैभन्दा धेरै मासुको प्रयोग हुन्छ । कम्तीमा मासु पसलहरू सफा छन् कि छैनन्, मासुलाई डिपफ्रिजमा राखेको हो कि होइन भन्ने यकिन गरेर मात्रै खरिद गर्नुहोस् । हामी आफ्नै आँखा अगाडि काटेको ताततातो मासुलाई स्वच्छ र स्वस्थ मान्छौं । तर, त्यो एकदमै गलत हो । मासुलाई डिफ्रिजमा राखेर मात्रै उपभोग गर्नुपर्छ ।

हामीले सबैभन्दा विचार के गर्नु पर्‍यो भने अब ताजा मासु होइन । स्वस्थ र स्वच्छ मासु खाने अभियान सुरु गर्नुपर्छ । ताजा भनेर मेरो आँखा अगाडि काटेको भन्ने हुँदैन । त्यसको विहाइन्डमा हर्मन पेस्टिसाइड, एन्टिबायोटिक जे पनि हुनसक्ने सम्भावना छ । त्यही भएर सर्टिफाइड मासु खाने बेला आइसकेको छ । हामीकहाँ त्यस्तै खालको रोग जस्तै: मुटुको, ब्लड प्रेसर, सुगर, डाइबिटिज, श्वासप्रश्वासदेखि ग्यास्ट्रिकको रोगीहरू बढी छन् त्यसैमा पनि खानपानको ख्याल गर्न सकेनौं भने त्यसले ठूलो विनास निम्त्याउने पक्का छ, त्यसैले उपभोक्ता नै सजग बनौँ ।

आश्विन २८ गते, २०७५ - ०८ः३० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg