मंसिर २७ गते, २०७५

सिंहदरवार फूलवारी

युनिभर्सिटीको होस्टेल छिरेको पनि महिना दिन पुग्न लाग्यो । पूर्व तयारीस्वरूप ओरिन्टेसन, प्रारम्भिक क्षेत्र भ्रमण र स्थानीय अभिभावकसँग घुलमिल पनि भइसकियो । औपचारिक कक्षा सुरु गर्नका लागि भोली अन्तिम म्याद छ, अनलाइन फाराम सवमिसन गर्ने । फाराममा सबै विवरण भरे पनि आकस्मिक रूपमा ‘आवश्यकता पर्दा सम्पर्क गर्ने अभिभावकको नाम र नम्बर’ कसको राख्ने भन्ने सोच्नै सकिनँ । पहिला आवेदन फाराम भर्दा खाली राखे पनि अहिलेचाहिँ भर्नैपर्ने रहेछ । विकल्प नै नभएको बेला डल्लेको नाम राखीदिऊ कि वा उसैको बाबा वा ममीको नम्बर मागेर त्यै राखिदिऊ भन्ने दोधार थिएँ । बाबा–ममी नहुँदा पनि सविना दिदी अनि मनिषा आन्टी भइदिएको भए पनि मलाई यो समस्या पर्ने थिएन । साच्चिकै आज यति ठूलो भीडभाडयुक्त संसारमा पनि मेरो जीवन एक्लो र मेरो यात्रा अनकन्टार महसुस हुन्छ । दिनभरको हिँडाइको शारीरिक थकाइले भन्दा मलाई मानसिक थकाइले सताएको छ ।

बाहिर हेर्दा म जति नै मजबुत र सफल भए पनि आफैभित्र म कति थाकेकी छु भन्ने कुरा सेयर गर्न पनि मसँग साथमा कोही छैन । यो चिसो ठाउँमा पनि मलाई चिटचिट पसिनाको अनुभव हुन्छ । कतिखेर निद्राले जित्यो थाहै भएन । अचानक ढोकाको घण्टी बज्यो । थाकेर थाङ्नो भएको मेरो शरीरमा खै कताबाट हो जादूमय ऊर्जा सवार भयो । जुरुक्क उठें । आफ्नै शरीर चंगाझैं लाग्यो । ढोका खोलें । अचम्मै लाग्यो, खैरो कलरको उही पाइण्ट, गोल्डस्टार जुत्ता, चेक सर्टमाथि खरानी रंगको स्वेटर, ममीले बुनिदिनुभएको मफलरले गला बेरेर अनि सधैंझैं बायाँतिर ढल्केको ढाका टोपी लगाएर उभिएको मान्छे अरु कोही थिएन, ढोकामा बाबा पो उभिनुभएको रहेछ, तर पनि विश्वासै लागेन । काँधमा कहिल्यै नटुट्ने ऊनीको झोला आज पनि यथावत थियो । मनमनै सोचे, अझै पाको हुनुभएछ अनि अलि दुब्लाउनुभएछ कि ।

खुसीको सीमा रहेन । भित्र आउनुस् पनि भन्न सकिनँ मैले । बाबा केही बोल्नुभएन, मुसुमुसु हास्नुभो केवल, अनि आफैभित्र पस्नुभो । सानो हुँदा जहिल्यै बाबालाई देख्नेबित्तिकै दगुरेर सामुन्ने जान्थे । अनि मेरो हात सिधा माथि लगेर हत्केला बाबाको काँधमाथि पु¥याउँथें र, सोच्थें -म बाबा जत्रो हुने कहिले हँुला ? बाबाले मेरो काखीमा आफ्ना दुवै हातले चपक्क उठाएर, छातिमा टास्नुहुन्थ्यो । बाबाको त्यो छाति मलाई मेरो पूरै संसार लाग्थ्यो, मैले सबैभन्दा भाग्यमानी सम्झन्थे आपूmलाई । त्यो बेला बाबाको मुहार पश्चिम भए मेरो पूर्व हुन्थ्यो, बाबाको काँधबाट मैले सुदूरसम्म हेर्थें । यस्तो बेला उहाँले क्रस गरेर भिरेको ऊनीको झोलाको फिताले जहिल्यै मेरो कमलो चिउडो बिझाउँथ्यो । म अलि ठूली भएपछि म बाबासँग आमनेसामने हुँदा उहाँ थचक्क बस्नुहुन्थ्यो अनि मेरो टाउकोमा हात राखेर छोरी अब ठूली भयौ भन्नुहुन्थ्यो । हो, आज साच्चिकै बाबा जत्रै भएकी रहिछु, उचाईमा । बाबा थचक्क नबस्दा अनि उहाँले काखमा नलिँदा पनि बाबाको काँधमाथि मेरो चिउडो पुग्यो । कतिबेला बाबाको छातिमा टास्सिन जाऊजस्तो भयो । तर, जान सकिनँ । परैबाट विस्तारै दुवै हातले उहाँको काँधदेखि हलुका स्पर्श गरेर कम्मरसम्म र कम्मरबाट फेरि काँधसम्म छामें । मन, मष्तिष्क र हात एकैपटक फत्रक्क गल्यो । बाबा मूर्तिझैं उभिनुभएको थियो ।

अचानक मुसुक्क हास्दै उहाँको दाहिने हात मेरो कपालमा राख्नुभयो, म नजिकै गएर उहाँसँगै जोडिएर उभिएको थाहै पाइनँ । मेरो मुटुको चाल अनुभव गर्दै बाबाले यति मात्र भन्नुभयो, ‘फूल, तिम्रो धडकन ठिक भएछ है ।’ मलाई सानैदेखि बाबाले ‘फूल’ भनेर नै बोलाउनुहुन्थ्यो । ममी सुनाउनुहुन्थ्यो कि हजुरआमाले मेरो नाम फूलमाया राखिदिनु भएको रे । तर, बाबालाई यो नाम कता–कता मन परेको थिएन, अनि फूल मात्र भन्नुभएको रहेछ । २०५१ जेठ ३१ गते मेरो जन्मदिनमा बाबा मलाई डोर्याउदै नजिकै भवानी मन्दिर लैजाने तयारी गर्दै हुनुहुन्थ्यो । त्यहि बेला ७ बजे रेडियो नेपालको समाचारमा ५० सालको एसएलसी परीक्षाको नतिजा आएछ । सो नतिजा अनुसार ज्ञानेश्वर, काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलकी विद्यार्थी गरिमा राणाले सर्वोत्कृष्ट नम्बर ल्याएर टप गरेको समाचार सुनेपछि बाबालाई पनि के सनक चलेछ कुन्नी, भवानी मन्दिरमा मेरो न्वारन गरिदिनुभयो-गरिमा । त्यो उहाँको मन पर्ने नाम ।

पछिसम्म पनि मलाई गरिमा जस्तै कानुन पढेर न्यायाधीश भएको सपना देख्नुहुन्थ्यो । मेरो नाम परिवर्तन भएर गरिमा भए पनि हजुरआमा फूलमाया नै भन्नुहुन्थ्यो । स्कुलमा गरिमा लेखाए पनि बाबाको मुखमा झुण्डिएको ‘फूल’ नै थियो, मेरो प्यारो नाम । बाबाले धड्कनको कुरा सोधेसँगै सम्झे-जन्मिँदै मेरो मुटुमा सानो प्वाल थियो रे, अनि मलाई सास फेर्न अलि गाह्रो हुन्थ्यो रे । उति बेला बाबाले काठमाडौंको कान्ति अस्पताल लगेर जचाउँदा पछि आफै ठिक हुन्छ, नत्र १५ वर्ष पुगेपछि अप्रेसन गर्नुपर्छ भनेको रहेछ डाक्टरले । पछि एक पटक बाबाले गंगालाल अस्पताल ल्याएर जचाएको थाहा छ । उति बेला मुटु जचाएकोभन्दा काठमाडौं घुमेको बढी याद छ मलाई । म बोल्न सकिनँ, टाउको हल्लाएर ठिकै छ भन्ने संकेत गरें । बाबाको आँखामा आँखा जुधाएर हेर्न सकिनँ, लपक्कै भिजेको अनुहार बाबालाई देखाउन लाज पनि लागेर आयो । अलि पर गएर भुइँमा हेर्दै उभिरहे, कहिल्यै नदेखिने जस्तो गरी धेरै बेर घोरिएर हेरिरहनुभयो बाबा, उहाँका पनि आँखा ओसिला देखिए । नजिकैको कुर्सी तान्दै मैले भनें, ‘बाबा बस्नुस् ।’

बाबा: ‘होइन, फूल मलाई हतार छ म फर्किहाल्छु, बस्दिनँ । (उहाँ बस्नै मान्नुभएन, कस्तो जिद्धि)
त्यसपछि मैले तानेरै कुर्सीमा बसाले बाबालाई ।

बाबा: अनि छोरी के छ तिम्रो यहाँ नयाँ खबर ? तिमीलाई कुनै अप्ठ्यारो छ कि ? धेरै भयो सिंहदरवारमा देखिन छाडेको, अनि खोज्दै आएको ।

म: बाबा, मलाई यहाँ सबै ठिक छ, मलाई केवल हजुरको अभाव थियो । हजुर आइहाल्नुभयो । मेरो लागि सबै पुग्यो । अनि बाबा, कस्तो छ ममीलाई ?

बाबा:  हाम्रो भेट भइसक्यो, उनी एकदम ठिक छिन्, केवल तिम्रो र भाइको मात्र चिन्ता गरिरहन्छिन् । भाइ तिम्रो जिम्मामा हो है, जसरी पनि खोज्नु, ऊ यतै छ, हामीसँग गएको छैन ।

बुझेझैं गरी मैले केवल मुण्टो हल्लाए ।

बाबा: अनि छोरी बताऊ, यहाँको बारेमा, अनि तिम्रो बारेमा, के–कस्तो छ ?

म: बताउने मात्र होइन, म हजुरलाई घुमाउँछु नि पूरै, खप्तड । यो त स्वर्ग हो नि बाबा, सम्पूर्ण स्वर्ग । मैले पनि थोरै मात्र घुमेको छु अहिले, कति भएको छ र म पनि यहाँ आएको ।

बाबा: होइन, घुम्ने फुर्सद छैन । तिमीले भने भैगो नि । आफै भन न ।

यो छात्रावासमा हामी चार विद्यार्थीको संयुक्त भान्सा थियो । भान्सामा गएर मैले तातो स्थानीय स्वादको कफी बनाएँ । (यहाँ बाहिरको चिजबिज पाइँदैन पनि) । अनि पछाडि बरन्डामा बसेर क्षितिज नियाल्दै हामीले कफी पियौं । मलाई याद छ । बाबाले मलाई भन्नुहुन्थ्यो, ‘मलाई मेरी छोरीले पकाएको खाने रहर कहिले पूरा होला भनेर नि ।’

अनि मैले चुलोमा गएर चिया बनाउने कोसिस गर्थे । तर, त्यो बेला कहिल्यै पनि मैले सद्धे चिया बनाउन सकिनँ । सधंै केही न केही बिग्रिहाल्थ्यो । बाबाले पनि त्यहि सम्झनुभयो कि कुन्नी मलाई हेर्दै कफीको मिठो स्वाद लिनुभयो, उहाँको अनुहारमा सन्तुष्टिका रेखाहरू सल्बलाए, म मख्ख परें ।

म: बाबा, खप्तड क्षेत्र त धेरै ठूलो छ नि, दुई सय २५ वर्ग किलोमिटर फराकिलो । एक हजार दुई सय ६२ मिटरदेखि तीन हजार दुई सय ७६ मिटरसम्म फैलिएको छ, यो । यस क्षेत्रमा २२ वटा फराकिला चौरहरू अनि सयौ पोखरी, तालजस्ता जलासय छन् । यो क्षेत्रमा तीन सय ७२ प्रजातिका फूल र वोटबिरुवा अनि एक सय २५ जातका जडीबुटी पाइने रहेछ । यो त साह्रै मज्जाको ठाउँ रहेछ । सामाजिक, सांस्कृतिक, पौराणिक, आर्थिक, पर्यावरणीय र भूगोलको हिसावले यसको महत्व बुझेरै सरकारले यो खप्तड विश्वविद्यालय यहाँ बनाएको । अहिले त यहाँको प्राकृतिक र भौतिक सबै वैभव विश्वव्यापी भएको छ, विश्वविद्यालयको स्थापनाले गर्दा । यो त नमुना क्षेत्र भएको छ । लाग्छ, सबै खप्तड क्षेत्र नै एउटा सिंगो विश्वविद्यालय हो । संरक्षण क्षेत्र घोषणा भएको ३० वर्षमा हुन नसकेको काम विश्वविद्यालय स्थापना भएको तीन वर्षमा नै सम्भव भएको रहेछ । म यहाँ आएपछि एक हप्ता त विश्वविद्यालयले यहि पढायो, बुझायो अनि केहि ठाउँ घुमायो ।

बाबा: विश्वविद्यालयले गर्दा कसरी यो सम्भव भयो र यो त पढ्ने, लेख्ने ठाउँ मात्र त हो नि । यो कुनै व्यापार, व्यवसाय गर्ने बजार वा विकास निर्माण गर्ने अड्डा हो र ?

बाबालाई विश्वासै लागेन ।

म: सुन्नुस् न बाबा । यहाँ अहिले ९१ देशका गरी लगभग एक हजार आठ सय विद्यार्थी अध्ययन गर्छन् । त्यो पनि विद्यावारिधिका मात्रै एक हजार ५० जना विद्यार्थी छन् । यो क्षेत्र प्राकृतिक, सामाजिक तथा भौतिक अध्ययन तथा अनुसन्धानको लागि विश्वको एक नम्बर रोजाईमा पर्छ ।

बाबा: कसरी सम्भव भयो त ?

म: बाबा, यहाँ अन्य विश्वविद्यालयजस्तो कितावी पुस्तकालयमा खोज्ने, घोट्ने भन्दा पनि पूरै समाज, प्रकृति र भौतिक वातावरणलाई अध्ययनको पहिलो पुस्तकालय मानिन्छ । यहाँको नियमै अलग्गै छ । हरेक विद्यार्थीले अर्को आफूभन्दा जुनियर एक जना विद्यार्थीको गाइड हुनै पर्छ, उसलाई सघाउनुपर्छ । यसरी हरेक विद्यार्थीले पहिलो शिक्षकको रूपमा अर्को विद्यार्थी पाउँछ । विद्यार्थीले ९५ प्रतिशत सामानहरू यहिको उपभोग गर्नुपर्छ । सातामा कम्तिमा ५ दिन स्थानीय परिकार मात्र पाक्छ, यहाँका हरेक भान्सामा । हरेक विद्यार्थीलाई खप्तड क्षेत्रका एक–एक घर परिवारलाई स्थानीय घर तथा परिवारको रूपमा तोकिएको छ । साताको एक दिन तथा हरेक तीन महिनामा एक हप्ता हरेक विद्यार्थीले ती घर र परिवारसँगै बसेर, उनीहरूले बनाएको खाएर अनि उनीहरूको काममा सघाउनैपर्छ । यसको लागि विश्वविद्यालयले ति घरहरूलाई केही आर्थिक तथा प्राविधिक सहायता गरेको हुन्छ । यस्ता हरेक परिवारले कुनै न कुनै खाद्यपदार्थ वा सामग्री उत्पादन गरेर विश्वविद्यालयलाई बिक्री गर्नुपर्ने हुन्छ । यस्तो कार्यले ती घर परिवारको आर्थिक, सामाजिक तथा व्यक्तित्व विकासमा ठूलो विकास भएको तथा यो क्षेत्रको सामाजिक, सांस्कृतिक परम्परा तथा अनुकरणीय जीवनशैलीलाई विश्वव्यापीकरण गरेको छ । यो कार्यमा स्वदेशीभन्दा विदेशी विद्यार्थीहरू बढी रमाएका छन् । अहिलेसम्म यहाँ अध्ययन पूरा गरेका ५१ विद्यार्थीले आफ्नो स्थायी जीवनवृत्तिको केन्द्र नै खप्तड बनाएका छन् ।

अधिकांश विदेशी विद्यार्थीले आफ्ना परिवार, अभिभावक तथा नातेदारलाई कम्तिमा एक पटक यो क्षेत्र घुमाउन ल्याउने गरेका छन् र एक चौथाई जति विद्यार्थीले यहाँ रहँदा स्थानीय अभिभावक बनाएका परिवारका सदस्यलाई उनीहरूको मुलुक घुमाएका छन् । कतिपय टाढाका नेपाली विद्यार्थी समेतले दसैँ–तिहार, ल्होसारजस्ता चाडवाड पनि यहीको स्थानीय अभिभावक परिवारसँगै मनाउने गरेका छन् । मुलुकका ७० भन्दा बढी जिल्लाबाट अध्ययनका लागि यहाँ आएका विद्यार्थीका आफ्नो प्राकृतिक परिवार र यहाँको स्थानीय अभिभावकीय परिवारको बीचमा सम्बन्ध विकास भएको छ ।

बाबा: विद्यार्थी र तिनका आफन्त मात्रै आउँछन् कि अरु पनि आउँछन् त यहाँ ?

म: पहिला यहाँ पर्यटन पूर्वाधार र सुविधा नहुँदा यहाँ अरु आउन कठिन थियो । अनि स्थानीयहरू समेत जिल्ला सदरमुकाम र तराईतिर झरेका रहेछन् । अहिले विश्वविद्यालय र स्थानीय तहको पहलमा पर्यटन पूर्वाधार सुधार भएपछि यहाँको अवसर देखेर सदरमुकाम र तराईबाट यहाँका स्थानीयहरू लगभग पूरै फिर्ता भए । घुम्ने पर्यटकहरूका अलावा यहाँ खुलेका तीन वटा ठूला आर्युवेद केन्द्रमा उपचार लिन आउने मानिस, विभिन्न ठाउँमा गरी खुलेका ५३ आरोग्य केन्द्रमा आराम गरी स्वास्थ्य लाभ लिन आउने अनि विश्वविद्यालय र खप्तड क्षेत्रकै अध्ययन भ्रमण गर्न आउनेको ठूलो भीड हुन्छ । स्थानीय उत्पादनको मात्र अधिकतम उपयोग र वातावरणमैत्री यातायातले गर्दा यहाँको आर्थिक उपार्जन मात्र होइन, प्राकृतिक वातावरण संरक्षणमा समेत ठूलो योगदान मिलेको छ । यहाँ एक वर्षमा १५ लाख जति बाहिरी मानिस आउने रहेछन् ।

बाबा: जता पनि तारवाला गाडी रहेछन् । केबाट चल्छन् त ?

म: ए, हो नि बाबा । यी सबै केवलकार हुन् । यहिको जलविद्युत र सोलारबाट चल्ने । यो पूरै क्षेत्रमा अरु डिजेल वा पेट्रोलवाला गाडी चल्न मनाही छ । बाटो नै छैन, त्यस्ता गाडी चल्न । स-सानो बाटोमा सहितका सोलार बग्गीहरू स्थानीयले घरायसी उपयोगमा लगाउँछन् । अत्यावश्यक सेवाका लागि प्रहरीसँग भएका हेलिकप्टर प्रयोग हुन्छ, कहिलेकाहीँ । तर, साह्रै महँगो छ त्यो । पहिला खनिएका सडकहरूमा समेत अहिले खेती हुन्छ । यो क्षेत्रमा आएपछि मानिसहरू हिँड्नै मन पराउँछन् । बाटो, प्राकृतिक वातावरण र सामाजिक परिवेश नै त्यस्तै छ । सामग्री ढुवानीमा नै अधिकांश केवलकारहरू उपयोग हुन्छन् । ठुुला होटलहरू छैनन् । समुदाय व्यवस्थित साना पाहुना घरहरू प्रशस्त छन् । पर्यटक तथा बाहिरी मानिसहरू यस्ता पाहुनाघरमा बस्दा रमाएका छन् । आफै पकाउने र खाने संस्कृति विकास गरिएको छ, यस्ता घरहरूमा । विद्यार्थीहरूलाई घरघरमा राखेको हुँदा यहाँका मानिसहरूको आनीबानी, व्यवहार तथा जीवनशैलीमा सुुधार गर्न सघाउ पुगेको रहेछ । आथित्य शैलीमा पनि मौलिकताको पूरा संरक्षण गरिएको रहेछ । विश्वविद्यालयले आफ्नै व्यवस्थापनमा यो क्षेत्रभरि ४० वटा विद्यालय संचालन गरेको रहेछ । अनि नि बाबा, यि विद्यालयका ८० प्रतिशत शिक्षक र विश्वविद्यालयका ९० प्रतिशत कर्मचारी, ४० प्रतिशत प्राध्यापक यही क्षेत्रका नै रहेछन् । विश्वविद्यालयका २० प्रतिशत प्राध्यापकहरू विभिन्न महादेशका रहेका छन् ।

बाबा: अनि यहाँ पढ्न कसरी आउँछन् त विद्यार्थी ?

म: ओहो ! साह्रै गाह्रो छ नि बाबा, यहाँको विद्यार्थीको रूपमा छनोट हुन । यो नाम मात्रको विश्वविद्यालय होइन नि । विश्वकै विद्यार्थी पढ्न पाउँछन् । स्नातक तहमा २५ प्रतिशत खप्तड क्षेत्रका विद्यार्थीलाई आरक्षित गरी बाँकी ७५ प्रतिशतमा सबै क्षेत्रका नेपाली विद्यार्थीबीच प्रतिस्पर्धा गरी छनोट गरिने अनि मास्टर्स र विद्यावारिधी तहमा नेपाली विद्यार्थी ५० प्रतिशत र विश्वव्यापी प्रतिस्पर्धामा छानिएर आएका विदेशी विद्यार्थी ५० प्रतिशत । त्योभन्दा माथिल्लो तहमा सबै विश्वव्यापी प्रतिस्पर्धाबाट छानिएर आएका विद्यार्थीहरू हुन्छन् । स्नातकोत्तर र विद्यावारिधि कोटामध्ये १० प्रतिशत कोटा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारी र पदाधिकारीबीच विश्वविद्यालयको प्रत्यक्ष संलग्नतामा प्रतिस्पर्धा गराएर सरकारले मनोनयन गर्छ । यहि प्रतिस्पर्धामा सफल भएर आएको म पनि । यो प्रतिस्पर्धाबाट छानिन चार तहका प्रतिस्पर्धा पार गरेर आउनुपर्ने हुन्छ । सबै तहको प्रतिस्पर्धामा सिधै विश्वविद्यालयले अनलाइन माध्यमबाट सम्पन्न गर्ने भएकाले विश्वका जुनसुकै ठाउँबाट पनि प्रतिस्पर्धा गर्न सकिन्छ । यहि चर्को प्रतिस्पर्धा, मौलिक विधिको शैक्षिक प्रणाली तथा यहाँबाट दिक्षित विधार्थीहरूले विश्वका विभिन्न क्षेत्रमा देखाएको क्षमताका कारण यो विश्वविद्यालय स्थापनाको सात वर्षमा विश्वका उत्कृष्ट १० विश्वविद्यालयको रूपमा सूचीकृत हुन सकेको हो । यहि गतिमा गयो भने त अबको पाँच वर्षमा खप्तड विश्वकै एक नम्बर विश्वविद्यालय हुन्छ ।

म यहाँ आएको कति न भएको थियो र । तर, जति मैले थाहा पाएकी थिएँ, धारा प्रवाहरूपमा बाबालाई सुनाउन पाउँदा कम्ति खुसी थिइनँ ।

बाबा ः अनि यस्तो कठिन ठाउँमा विश्वविद्यालयचाहिँ किन खोलेका रहेछन् ?

म: हो त । मलाई पनि यस्तै लागेको थियो पहिला । तर, जब मैले यसको सबै इतिवृत्तान्त थाहा पाएँ, अनि मैले मनमनै कमिटमेन्ट गरे– यहि विश्वविद्यालयमा पढ्छु । तर, सजिलो भएन यहाँ भर्ना पाउन । मैले ठूलै संघर्ष गरें नि बाबा ।

सरकारको नीति फेरिएको छ अहिले, मुलुकको समृद्धि र नागरिकको खुसीको लागि । यो क्षेत्र पर्याप्त सम्भावना, स्रोतसहित पृथ्वीको स्वर्ग भएर पनि विगतमा यसको पहिचान, प्रचार र विकास हुन नसकेको अनुभवबाट सरकारले यस्ता क्षेत्रको वहुआयामिक विकासको लागि अलग्गै रणनीति अख्तियार गरेको छ नि ।

बाबा: कस्तो ?

म: लामो अनुभवबाट सरकारले पत्ता लगाए अनुसार यस्ता ठाउँको विकासको लागि पहिला त यहाँका स्थानीय नागरिकको शैक्षिकस्तर बढाउनुपर्छ, यहाँका नागरिकहरूलाई थातथलो छोड्न दिनुहुन्न र उनीहरूकै संलग्नतामा मात्र यहाँको दिगो विकास सम्भव तुल्याउनुपर्छ । तर, आजको विश्वमा मानिसलाई एकै ठाउँमा रोकिराख्ने वा बाँकी विश्वसँग अलग गरेर राख्न सकिँदैन । यसैले पूरा विश्व-समाजसँग यहाँको समाजलाई मिसाउनुपर्छ । स्थानीय उत्पादनलाई वलपूर्वक भए पनि प्रोत्साहन गरिनुपर्छ, अनि मुलुकको बाँकी भाग र विदेशी समाजलाई यहाँको भुगोल, संस्कृति, सम्पदा, वातावरण, उत्पादन र अस्तित्वसँग घुलमिल गराउनुपर्छ । विकाससँगै अध्ययन र अनुसन्धान अनि अध्ययन, अनुसन्धानका आधारमा विकास गर्ने र शैक्षिक गतिविधिलाई प्रकृति, समाज, अर्थ र विकाससँग जोडेर लानुपर्छ भन्ने सिद्धान्तका आधारमा यो विश्वविद्यालय संचालन गरिएको रहेछ । विश्वविद्यालय अनि यसका उत्पादन, शैक्षिक गतिविधि यस क्षेत्रको विकास र समृद्धिका प्रमुख कारक हुन् । म पनि दंग परे । एउटा विश्वविद्यालयले यति धेरै योगदान दिन सक्दो रहेछ मुलुकलाई । यसको प्रभाव हेरेर अहिले मुलुकका अरु चार स्थानमा पनि यहि मोडेलका विश्वविद्यालयहरू निर्माणाधिन छन् ।

बाबा: कहाँ ?

म: धनकुटाको हिले, मकवानपुरको पालुङ, लमजुङको घलेगाउँ र बैतडीको पाटनमा ।

बाबा शान्त भएर सुनिरहनुभएको थियो । मैले मेरो हाम्रो संकायको डिनको बारेमा केहि कुरा भन्दै थिए । तर, बाबाले एकोहोरो रूपमा प्राकृतिक मनोरमको मज्जा लिनमै मस्त देखिनुभयो । अनि मैले पनि चुप लागेर उहाँलाई साथ दिए । एक छिनपछि बाबा जुरुक्क उठ्नुभो र भन्नुभयो, ‘मेरो जाने बेला भयो । म जान्छु, केहि समस्या छ ?’

कस्तो अचम्म क्या । मलाई दिग्दार पनि लाग्यो, उहाँको यो चाला देखेर । तर, उहाँको जिद्धिपना र दृढ निर्णयी स्वभाव थाहा थियो मलाई, त्यसैले कर गर्न पनि मन लागेन । उहाँ आउनुभयो, यति भए पनि भन्न पाए, यो पनि कम्ती ठूलो कुरा थिएन मेरो लागि । अनि म लाडिएर उहाँको दाहिने काँधमा मेरो दुई हात करेली हाल्दै झुण्डिदै भने, ‘बाबा पनि, मेरो फाराममा हजुरको नाम लेख्नै बाँकी छ नि,’ यति भन्दै मैले ल्यापटप खोलेर बाबालाई मतिर तान्न खोजे ।

बाबाले मेरो हात हटाउनुभयो । अनि मतिर फर्केर आफ्ना दुवै हातले मेरो गाला मुुसारेर मेरा आँखामा हेरिरहनुभो । एकपटक पनि आँखा झिम्केन उहाँको । म पनि केहि बोल्न सकिनँ, उहाँका हत्केला मलाई अलि खस्रा लाग्यो र मनमनै सोचे– मेरो बाबा विस्तारै बूढो भइरहनुभएको छ ।

बाबाले विस्तारै भन्नुभयो, ‘यो फाराममा तिम्रो डिन सरकै नाम लेख्नु है, म त जान्छु अब ।’

मेरा गालामा टास्सिएका उहाँका हात मैलै च्याप्प समाए । बाबाले मेरा दुवै हात माथि पालैपालो गरी म्वाई खानुभयो, अनि आँखामा हेरेर भन्नुभयो, ‘छोरी अब जान्छु, म सधैं खुसी छु…। उसलाई खोज्नु…। मेरी फूल… ।
मैँले भने, ‘कहाँ जानुहुन्छ बाबा ?’

उहाँले भन्नुभयो, ‘सिंहदरवार फूलवारी, तिम्रो ममी र मेरो घर त्यहि हो । हामीले कति खोज्यौ तिमी र भाइलाई । धेरै खोजेपछि त्यहाँ देख्यौ तिमीलाई, अनि त्यहि बस्यौ हामी त । हरेर दिन तिमीलाई त्यहाँ देखेर हामी धेरै खुसी थियांै छोरी । तिमी अचानक हरायौ त्यहाँबाट । हामी आत्तियौं, अनि खोज्दै आएको तिमीलाई । ल म जान्छु, त्यहि आउनु, छिटो सकेर । हामी तिमीलाई छोडेर टाढा जान सक्दैनौँ छोरी, त्यही पर्खिरहेका छौं । सधैँ भरि आँखै अगाडि फूलिरहोस् , हाम्रो फूल हामी त्यहि फूलवारीलाई घर मानेर बस्यौ छोरी ।’

मूर्तीझैं उभिरह्यौ दुवै । निःशब्द भयौं, चालविहिन र प्रतिक्रियाविहिन भयौ हामी ।

मोबाइलको घण्टी बज्यो । पक्कै डल्लेले ‘ओई काली’ भन्नलाई फोन गरेको होला भन्ने अनुमान गर्दै मोबाइल हेरें । अर्लाम रहेछ– ५ बजेको । झसंग भएँ । जुरुक्क उठें । बत्ती वाले, कोठामा एक्लै थिएँ । म छाँगाबाट खसेजस्तो भए । कुन सपना हो, कुन विपना, मेरो टाउको फनफनी घुम्यो । यो सपनाबाट किन ब्युझिएँ होलाजस्तो भयो, मोबाइलको घण्टीसँग पनि साह्रै रिस उठेर आयो । सिरानी झिकेर काखमा राखें, चिसै भएको रहेछ भिजेर । मोबाइलमा वाइफाई अन गरे । फेसबुकको भित्ताहरू एकै लयमा रंगिएका थिए, पूरै फेसवुक बाबामय भएको थियो । आज बाबाको मुख हेर्ने भदौ औशीको दिन रहेछ । १३ वर्षपछि आज बाबाको मुख हेर्न पाएकी थिएँ, सपनामै भए पनि, धन्य भगवान । म न रुन सकें, न हास्न । केहि कुराले दिमाख चिमोटीरह्यो । …भाइ तिम्रो जिम्मा हो, जसरी पनि खोज्नु…। …डिन सरकै नाम लेख्नु…। …सिंहदरवार फूलवारी…।

दिउँसो समय मागेर डिन सरलाई सम्पर्क गरें । उहाँ क्वाटरमा हुनुहुदो रहेछ, लन्चको समय भएर होला, हतार भए यहि आउनु भन्नुभयो । डराइडराई डिन सरको क्वाटरमा गए । साधारण तर पूरै प्राकृतिक र आनन्दको सानो घर रहेछ । आगन्तुक कक्षमा पर्खेर बसें । सहयोगीले भित्रै जान भनेपछि बैठक कक्षमा गएँ । अनि सबै वृतान्त डिन सरलाई सुनाएँ । अरु कोही पनि त थिएन मेरो त्यहाँ सुनाउनको लागि, निर्धक्क भएर आफ्नो भारी बिसाएँ, धेरै पहिलादेखि नै

चिनेजानेको आफन्त वा अभिभावक नै हो कि जस्तै मानेर ।

सबै कुरा ध्यानपूर्वक सुनेपछि उहाँका पनि आँखा रसाए । उहाँ नजिकै आउनुभयो । र, मेरो कपालमा हात राख्नुभयो । मलाई, मेरो बाबा र उहाँको यो स्पर्शबीच कुनै फरक लागेन । मेरा बाबाले पनि शिक्षक हुँदा आफ्ना सबै विद्यार्थीलाई आफ्नै छोराछोरीझैं माया गर्नुहुन्थ्यो । अरु शिक्षकको नजिक पनि पर्न डराउँथे विद्यार्थीहरू । तर, बाबाको वरिपरि झुम्मिन्थे सबै । मेरो बालसुलभले डाह पनि गथ्र्यो, कतै मैले पाउने माया बाडियोझैं गरेर । पपुलर मास्टरकी छोरी म । मेरो सान नै भिन्दै थियो, विद्यालय र छिमेकमा । स्मृतिमा अल्झिएकी मलाई झस्काउँदै उहाँले भन्नुभयो, ‘छोरी म विश्वविद्यालयको डिन मात्र हैन, तिमीहरू सबैको अभिभावक पनि हुँ नि, ढुक्क भएर फाराममा मेरै नाम राखेर सवमिसन गर । तिमी मेरी छोरी नै भयौं, तिम्रो सबै जिम्मा मेरो, ढुक्क होऊ ।’

मन हलुका भयो, भगवानले मलाई कहिलेकाहीँ न्याय पनि गर्छन् भन्ने लागेर आयो । म भित्रैदेखि द्रवित भए । अनायासै मैले भने, ‘ह्याप्पी फादर्स डे, बाबा ।’

उहाँले नजिकै टेवलबाट टिस्यु पेपर थुतेर आफ्ना परेली सफा गर्नुभयो । अनि मुसुक्क हास्दै भन्नुभयो, ‘थ्यांक्यु डटर, गड ब्लेस यु अल्वेज । अनि खै त मिठाई ?’

मलाई अलि अप्ठ्यारो महसुस भयो, खुसी भएको भाव प्रकट गर्दै परिस्थिति छल्न खोजे । अनि सामुन्नेको भित्तामा आँखा डुलाए । लहरै पुरानादेखि नयाँ फोटाहरू सजिएका रहेछन् । एउटा फोटोमा गएर म अडिए । एक किशोरको अलि पुरानो फोटोमा माला लगाएको रहेछ । मलाई खुल्दुली लाग्यो, रोक्नै सकिनँ र औलाले देखाउँदै सोधे, ‘यो…कसको फोटो नि सर ?’

सरले उभिएर एकटकले त्यो फोटो हेरिरहनुभयो । अनि के सोच्नुभयो कुन्नी, सोफामा आएर थचक्क बस्नुभयो र भन्नुभयो, ‘स्मृतिको फोटो हो यो, नामै स्मृति हो उसको ।’

‘छोरी ! कथा सबैका हुन्छन्, लामा वा छोटा, मिठा वा नमिठा । यो हाम्री छोरी स्मृतिको फोटो हो ।’

छातिमा दाहिने हात राखेर त्यो फोटोलाई हेर्दै उहाँले भन्नुभयो, ‘१३ वर्ष भयो यहाँ यसरी नै टासिएर एकनासले बसेकी छ हाम्री स्मृति, कहिल्यै नमेटिने स्मृति बनेर ।’

मैले निःशब्द भएर आँखा चिम्लदै प्रार्थना गरें, ‘हे ‘भगवान’ ! यो ‘स्मृति’ जहाँ भए पनि आजै सिंहदरवार फूलवारीमै पुगोस् अनि फूलोस्, जहाँ १३ वर्षदेखि नै आफ्नो ‘फूल’ गुमाएर तड्पिएको आत्मा पर्खिरहेको छ ।’ मैले त साथ पाएँ, उहाँहरूलाई पनि साथ मिलोस् ।

ह्याप्पी फादर्स डे बाबा !

आश्विन २५ गते, २०७५ - ०९ः०० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg