आश्विन ३० गते, २०७५

लोकतान्त्रिक अनुशासन र कार्यप्रभावकारिताका लागि राजनीति-प्रशासन सीमारेखा

आफूअनुकूलको प्रशासनयन्त्रको स्वभाविक अपेक्षा
सरकार कुनै राजनीतिक दल विशेषको हुने भएकोले सामन्यतया उसले आफू अनुकूलको प्रशासनयन्त्रको अपेक्षा राख्नु स्वभाविकै हो । तर, प्रशासनयन्त्र प्रतिस्पर्धात्मक छनोट प्रणालीबाट आएका हुन्छन् । उनीहरूको पेशागत मर्यादा र आचरण, उत्तरदायित्व एउटा निश्चित कानुनी आधारशीलाबाट निर्देशित भएको हुन्छ, यसर्थ उनीहरूले चुनाव प्रणालीबाट आएका पदाधिकारीको आदेशलाई स्वेच्छा वा कुनै वादबाट प्रेरित भएर काम गर्न सक्दैनन् । प्रशासनयन्त्रको दायित्व भनेको सरकारले ल्याउने नीति निर्माणमा असल पृष्ठपोषक, व्यवहारकुशल कानुनी आधारशीला प्रदान गर्नमा सहयोगी, नीति कार्यान्वयनका लागि अनुकूल संस्थागत संरचना तयार गर्ने, नीतिको सकारात्मक वकालतकर्ता र सरल सहज झन्झटमुक्त तरिकाबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउनु हो ।

विभिन्न विश्व इतिहास, राजनीतिक घटनाक्रम र समाज विकासक्रमलाई हेर्दा प्रशासनयन्त्र राजनीतिक प्रणालीको उपप्रणालीको रूपमा रहेको र यो राजनीतिक र सामाजिक, आर्थिक र अन्य पक्षहरूको चरित्रभन्दा बेग्लै हुन नसक्ने देखियो । सामाजिक प्रणालीको उपप्रणालीको रूपमा रहेको प्रशासनयन्त्रको आफ्नै छुट्टै चरित्र हुन नसक्ने कारणले प्रशासन यन्त्रको चरित्र सार्वजनिकभन्दा चरित्र विशेषबाट प्रभावित हुन सक्ने खतरा बढ्यो । यसर्थ, समाज र राजनीतिक परिवेशजस्तो भए पनि राज्य र जनताबीचको सम्बन्ध (सेवा लिने र दिने) सदा सुमधुर रहनुपर्छ भन्ने सन्दर्भमा तटस्थता र प्रतिबद्धताको सामयिक अवधारणा आएको हो ।

जनतामा सरकारी सेवा सुविधा सरल र सहज पहुँच पुर्‍याउने मूल दायित्व प्रशासनिक संयन्त्रमा निहित रहेको हुन्छ । प्रशासनिक संयन्त्र राजनीतिक तह(सरकार)को प्रमुख कार्यकारी अंगको रूपमा रहने र राजनीतिक तह जनताको नजिक रहने र भिन्न राजनीतिकवादलाई आफ्नो मूल लक्ष्य बनाएर अगाडि बढेको हुन्छ । तर, सरकार वा प्रशासनिक संयन्त्र कुनै राजनीतिकवादमा आधारित हुँदैन, यो कार्यपालिकाको सहयोगी अंग मात्र हो र सरकारी नीति र कार्यक्रमलाई कुनै आस्था, वाद वा अन्य कुनै विभेदको भावना रहित रुपले जनतालाई सार्वजनिक सेवा पु¥याउने संयन्त्र हो । सार्वजनिक सेवा प्रवाहको सिद्धान्तले जनताले सेवाको उपभोगमा मूलतः निम्न अधिकार पाउनुपर्छ भन्ने मान्यता राख्छ ।

– बिना भेदभाव सार्वजनिक सेवामा पहुँच
– बिना भेदभाव सार्वजनिक सेवा उपभोगको अधिकार
– सार्वजनिक सेवाको गुणस्तरता
– सेवाग्राहीमैत्रीय सार्वजनिक सेवा प्रवाहको सुनिश्चितता
– प्रश्न गर्ने र जानकारी लिन पाउने अधिकार

नीति निर्माण र नीति कार्यान्वयनका दुई कित्ता
स्थायी सरकारको हैसियतले एउटा राष्ट्रसेवकको रूपमा कर्मचारीको आफ्नो राष्ट्रप्रति विशिष्ट दायित्व रहेको हुन्छ । प्रशासनयन्त्र कुनै पनि दल विशेषको राजनीतिक दर्शन, सिद्धान्त र चिन्तनबाट सार्वजनिक रूपमा प्रभावित हुनुुहुँदैन । कर्मचारीहरूले आफ्नो कार्यसम्पादन गर्ने क्रममा यस्तो झुकाव प्रदर्शन गर्नु तटस्थताको परम्परागत अवधारणाका दृष्टिले उपयुक्त मानिँदैन । बिडो बिल्सनका अनुसार राजनीति र प्रशासनको बीचमा एउटा लक्ष्मणरेखा विद्यमान रहेको हुन्छ र त्यो लक्ष्मणरेखा नीति निर्माण र नीति कार्यान्वयन गरी दुई कित्तामा विभाजित भएको हुन्छ । नीति निर्माणको दायित्व राजनीति अर्थात् सरकारको हो भने नीति कार्यान्वयनको दायित्व प्रशासनयन्त्रको हो । बिडो विल्सनपछि म्याक्स वेबर लगायतका प्रशासनविद्हरूबाट यस्तै तटस्थतामा जोड दिइएको पाइन्छ । तटस्थता प्रशासनयन्त्रको त्यो अपरिहार्य गुण हो, जसमा कर्मचारी कुनै वाद, आस्था, समूह वा वर्गगत साइनोबाट आफूलाई पूर्ण रूपमा मुक्त गराउँछ । उसको मूल ध्येय भनेको कानुनले निर्धारित गरेका प्रक्रियालाई पूर्णरूपमा परिपालन गर्दै सेवाग्राही सम्बन्धको सम्बन्धमा स्वच्छता, निष्पक्षता, इमान्दारिता र तटस्थतालाई आफ्नो मूलमन्त्र बनाई पेशागत दक्षता, व्यवसायिकता र विशिष्टताका आधारमा सरकारको प्रतिनिधिको रूपमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, जनमुखी र परिणाममूलक बनाउनु हो । तटस्थतामा राजनीतिक तटस्थता, वर्गीय तटस्थता, संस्कारगत तटस्थता, भौगोलिक तटस्थता, भाषिक तटस्थता, धार्मिक तटस्थता आदि पर्ने गर्छन् र सार्वजनिक जिम्मेवारी ग्रहण गरेका प्रशासकहरू यस्ता सामीप्यताबाट मुक्त रहन सक्नुपर्छ ।

योग्यतामा आधारित प्रशासनयन्त्रको विकास
संयुक्त राज्य अमेरिकाको लूट प्रणाली अर्थात् स्प्वाइल सिस्टम र बेलायतको सन् १८५४ अगाडिको ड्युकको सिफारिस प्रणालीमा आधारित निजामती संरचनाले प्रशासन राजनीतिवाट प्रभावित हुँदा नकारात्मक असर परेकाले यसको विकल्पमा योग्यतामा आधारित निजामती सेवाको विकास हुन पुगेको थियो । त्यस्तै, म्याक्स वेबरको आदर्श कर्मचारीतन्त्रले राजनीति र प्रशासनको पृथक र विशिष्ट भूमिकाको पक्षमा वकालत गरेको छ । प्रशासनिक प्रतिवद्धता र तटस्थता आवश्यक भएको तर्कलाई पोलिटिक्स एडमिनिस्टेसन डिकोटोमी (बिडो विल्सन), सेपरेसन अफ पावर (मन्टेस्क्यू), चेक एण्ड ब्यालेन्स (जोन एडम्स), पोलिटिकल इकोलोजी (फ्रेड रिग्स) र डक्टरिन अफ एनोनिमिटी (म्याक्स वेबर)ले जोड दिएका छन् ।

तटस्थता सहितको प्रतिबद्ध दक्षतामार्फत् जनअभिमतको सच्चा कदर
प्रशासनयन्त्र सरकारी सेवालाई सरल सहज झन्झटमुक्त र प्रभावकारी बनाउने सहज संयन्त्र भएकाले जनताको अभिमत र चाहनालाई कार्यरूपमा परिवर्तन गर्न सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । प्रशासनयन्त्रको प्रभावकारिता, चुस्तता, प्रतिबद्धता र तटस्थताले जनअभिमतको सच्चा कदर हुन सक्छ । बिना भेदभाव सार्वजनिक सेवामा पहुँच र बिना भेदभाव सार्वजनिक सेवा उपभोगको अधिकार तटस्थ प्रशासनिक संयन्त्रबाट मात्र सम्भव छ भने सार्वजनिक सेवाको गुणस्तरियता, सेवाग्राहीमैत्रीय सार्वजनिक सेवा प्रवाहको सुनिश्चितता, प्रश्न गर्ने र जानकारी लिन पाउने अधिकारको प्रत्याभूति प्रतिबद्ध प्रशासनिक संयन्त्रबाट सम्भव हुन्छ । सार्वजनिक प्रशासकले हरेक तहमा राजनीतिक तटस्थता प्रदर्शन गर्दै सेवा प्रवाहमा प्रतिबद्धता, कार्य सम्पादनमा प्रभावकारिता र आफ्नो विशिष्टता र दक्षताको कुशल प्रदर्शन गर्नुपर्ने हुन्छ । यस सन्दर्भमा प्रशासनको दायित्व तटस्थता सहितको प्रतिबद्ध दक्षताको अवधारणाको प्रत्याभूति गर्नु हो । प्रशासकहरू योग्यता प्रणालीका उपज भएकाले आफ्नो कार्यलाई विधिको आवरणबाट सुरक्षित राखी सेवाप्रवाहमा जन प्रशंसा प्राप्त गर्न सक्ने पोख्त योद्धा बन्न सक्नुपर्छ । विषगत विज्ञता र स्थायी सरकारको हैसियतले प्रशासनयन्त्रले राजनीतिप्रति तटस्थता देखाउँदै सेवा प्रवाह र सरकारी नीति कार्यान्वयनमा सकारात्मक योगदानको निम्ति सदा सर्वदा तत्पर र प्रतिवद्ध रहनु नै वास्तविक रूपमा तटस्थता सहितको प्रतिवद्ध दक्षता हो ।

प्रशासकीय सक्रियता: प्रतिबद्धताको अर्को रूप
प्रशासनयन्त्र सरकारको मूल सहयोगी र कार्यकारी संयन्त्र हो । स्थायी सरकारको रूपमा रहेर प्रशासनयन्त्रले सरकारका नीति नियमको कार्यान्वयन, सरकारसमक्ष आएका जनताका चाहना, सरकारले जनता समक्ष पुर्याउनुपर्ने सेवा सुविधालाई सरल, सहज, कम झन्झटिलो तरिकाले पु¥याउनु यसको प्रमुख दायित्व हो । यसका लागि कर्मचारीहरूमा सरकारी नीति र कार्यक्रमप्रति अपनत्वबोध हुनु आवश्यक छ । सरकारी नीति र कार्यक्रमप्रतिको अपनत्वबोध, स्वामित्व ग्रहण, कार्यान्वयनमा तदारुकता र दृढ इच्छाशक्ति, मनोवलयुक्त भावनाको व्यवहारगत अबलम्बन नै प्रतिबद्धता हो ।

प्रशासन विज्ञ, व्यावसायिक, क्षमतावान व्यक्तिहरूको समूह तथा राज्यको स्थायी संयन्त्र हो । यसै कारणले सरकारी नीति निर्माण कार्यान्वयनमा प्रशासनिक संयन्त्रको महत्वपूर्ण भूमिका रहेको हुन्छ । प्रशासकीय सक्रियताको सन्दर्भलाई पनि यसै परिवर्तनमा हेर्न सकिन्छ । प्रशासन निर्वाचित सरकार (राजनीति) र सेवाग्राही (जनता) बीचको सम्बन्ध-सेतु हो । यसर्थ प्रशासनिक संयन्त्र जति प्रभावकारी हुन्छ त्यत्ति नै सरकार त जनताबीचको सम्बन्ध असल हुने गर्छ र यहि असल सम्बन्धले नै सरकारको दिगोपनाको सुनिश्चितता गर्ने गर्छ । यसै कारणले नै कुनै पनि देशको सरकार त्यहाँको प्रशासन यन्त्रको राम्रो हुन सक्दैन भन्ने गरिएको हो । प्रशासन यन्त्रको सकारात्मक पूर्व सक्रियता (प्रो एक्टिभनेस)ले राजनीतिज्ञले आफूले परिकल्पना गरेको दीर्घकालीन सोचलाई नीति नियम र प्रक्रियाका आवद्ध गराएर जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न सक्छन् भने कार्यान्वयनको क्रममा जन अपेक्षाको सम्बोधन भयो भएन र त्यसमा के कस्ता सुधारको आवश्यकता छ भन्ने कुराको पृष्ठपोषण प्राप्त भई त्यसलाई आगामी दिनको कार्ययोजनामा परिमार्जन वा समाहित गर्न सकिन्छ । सकारात्मकता सहितको निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र असल शासकीय प्रणालीको संवाहक हो ।

प्रशासन र राजनीति शासकीय प्रणालीका अभिन्न र परिपूरक अंगहरू
प्रशासन र राजनीति शासकीय प्रणालीका अभिन्न र परिपूरक अंगहरु हुन् । राजनीति सधैं भविष्यद्रष्टा, महत्वाकांक्षी, सीघ्र परिणाम खोज्न, जोखिम लिने र परिणामको उपलब्धताबाट सरकारको लोकप्रियता खोज्ने र यसै आधारमा सरकार वा आफ्नो दल विशेषको दिगोपना कायम राख्ने चाहनाबाट अभिप्रेरित भएको हुन्छ । तर, राजनीतिज्ञको यो चाहना परिपूर्ति राजनीतिज्ञले आफै गर्न सक्दैन । यसमा कानुनी र प्रक्रियागत प्रयोगको अधिकारको हैसियतले प्रशासनयन्त्रको निरन्तर सहयोगको आवश्यकता पर्छ । प्रशासनयन्त्र विज्ञ, दक्ष, विषयको ज्ञान, कुनै कामको सकारात्मक र नकारात्मक अन्तरसम्बन्धसँग परिचित हुन्छन् । राजनीतिज्ञले भविष्यको सकारात्मक अमूर्त चित्रको परिकल्पना गर्छ, प्रशासनयन्त्रले त्यसलाई मूर्तता दिने गर्छ ।

तटस्थताका लागि आवश्यक पूर्वसर्त

क) राजनीतिक तहमा
♦सहिष्णु राजनीतिक प्रणाली
♦योग्यता प्रणालीको अबलम्बन
♦प्रतिभा व्यवस्थापन र प्रतिभाको अधिकतम उपयोगको नीति
♦विज्ञतालाई कहिल्यै पनि राजनीतिक आवरणमा हेरिनु नहुने
♦सही व्यक्ति को सही ठाउँमा सरुवा वा पदस्थापन
♦ट्रेड यूनियनलाई दलीय आबद्धताको रूपमा परिचालन नगर्ने नीति

ख) प्रशासनिक तहमा
♦प्रशासनिक तत्परता देखाउने
♦सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन योग्य बनाउन आवश्यक प्रशासनिक र प्रक्रियागत व्यवस्था गर्ने
♦कार्यको जिम्मेवारी तोक्ने र क्षमता अनुसारको कर्मचारी व्यवस्थापन गर्ने
♦कार्य सम्पन्न गर्ने अवधि र अपेक्षित परिणामको पुर्वानुमान गर्ने
♦जोखिमका सम्भावित क्षेत्रको पहिचान र जोखिम न्यूनीकरण गर्ने कार्ययोजना बनाउने
♦सहकर्ता निकायहरूको पहिचान र सहकार्य
♦अनुगमन र मूल्यांकन प्रणालीको विकास
♦पृष्ठपोषण प्राप्ति, पृष्ठपोषण उपयोग तथा सामयिक सुधारको क्रियाशील र प्रभावकारी संयन्त्र
♦प्रतिबद्धता र तटस्थताबीचमा सन्तुलन

सुशासन ऐन
सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ ले मुलुकको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन, कानुनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरी सर्वसाधारणले पाउनुपर्ने सेवा छिटो, छरितो तथा कम खर्चिलो ढंगबाट पाउने अवस्था सृजना गर्न, सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमा उतारी कार्यान्वयनमा ल्याउन र प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्र तथा सहजकर्ताको रूपमा रूपान्तरण गरी मुलुकमा सुशासनको प्रत्याभूति दिने लक्ष्य लिएको छ ।

मुलुकमा सुशासन कायम गर्ने र सर्वसाधारणलाई समयमा नै त्यसको प्रतिफल उपलब्ध गराउने उद्देश्यले यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम नेपाल सरकारको प्रशासनिक कार्य छिटो छरितो ढंगले सञ्चालन गर्नु गराउनु सम्बन्धित पदाधिकारीको कर्तव्य हुने व्यवस्था अनुरूप मन्त्री, सचिव, विभागीय प्रमुख, कार्यालय प्रमुख आदिको जिम्मेवारीको व्यवस्था समेत गरेको छ । यी कानुनी व्यवस्था हुँदाहुँदै पनि बेलावखत प्रशासन राजनीतिबाट प्रभावित भएको, सरुवा पदस्थापन आदिमा राजनीति हावी भएको, हस्तक्षेप हुने गरेको जस्ता चर्चाहरू पनि सुनिने गर्छ । यस्ता चर्चा वा गुनासोको न्यूनीकरण गर्दै जान सक्नु प्रजातान्त्रिक सहिष्णुता र प्रजातान्त्रिक संस्कारको द्योतक हो र यसको अपरिहार्य आवश्यकता पनि हो । राष्ट्र निर्माणको मूल अभिभारा बोकेका निर्वाचित पदाधिकारी र प्रतिस्पर्धाबाट छानिएका पदाधिकारीहरूले प्रजातान्त्रिक आदर्श र मर्मलाई आत्मसात गर्दै राजनीतिले सुखद् भविष्यको परिकल्पना गर्ने र प्रशासनयन्त्रले त्यस परिकल्पनालाई प्रशासनिक, विधिगत र अन्य प्रक्रियागत आकार प्रदान गरी मुलुकमा सुशासनको प्रत्याभूति दिनेतर्फ उन्मुख हुनु आवश्यक छ ।

लक्ष्मणरेखाको मर्यादा पालन: सहज शासकीय यात्रा
राजनीतिज्ञ बसका चालक हुन् भने प्रशासनयन्त्र बसका इन्जिन हुन्, जनता यात्रु हुन् । चालकले चालकको भूमिका सहीरूपमा सम्पादन गर्ने र इन्जिन सधैँ चलायमान रहने हो भने यात्रा सदा सुखद् र सुरक्षित रहन्छ । यदि यी दुवैले आफ्नो भूमिका सहीरूपमा सम्पादन गरेनन् वा आफ्नो स्थान परिवर्तन गरे भने यात्रा असहज बन्न सक्छ, गन्तव्यमा पुग्न ढिलाई हुन सक्छ, ढिलाईले थप कस्ट सिर्जना गर्न सक्छ, दुर्घटनाको सामना गर्नु पर्ने हुन सक्छ । यसर्थ सहज शासकीय यात्राको लागि यी दुवैबीच कायम हुनुपर्ने लक्ष्मणरेखाको मर्यादामा रही सहयोगी, परिपूरक र परिणाममुखी अंगको रूपमा रहनु आवश्यक छ । लोकतान्त्रिक अनुशासन र कार्यप्रभावकारिताका लागि राजनीति-प्रशासन सीमारेखाको मर्यादाको परिपालना यसै अर्थमा सामयिक बन्ने गरेको छ ।

आश्विन २४ गते, २०७५ - ०७ः०० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

underhealth
gsdfs dfg