काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै


२१ आश्विन २०७५, आइतबार


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।  नेपाल विद्यार्थी सङ्घ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न बैठक बस्दै छ ।

पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, बजार मूल्य वृद्धि र समसामयिक राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधान संशोधन मस्यौदा समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले सो मस्यौदा तयारीबारेमा जानकारी गराउने छन् । सङ्घीय संरचनाअनुसार पार्टीका सङ्गठनात्मक संरचनालाई पुनः संरचना गर्न काङ्ग्रेसले विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न महामन्त्री खड्काको संयोजकत्वमा गत भदौ ७ गते पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले हालसम्म विधान संशोधन मस्यौदा तयारीका लागि पार्टीका विभिन्न निकाय, भ्रातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिलगायत सरोकारवालाबाट सुझाव लिइसकेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । समितिले संशोधित विधान सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिएको छ ।

काङ्गे्रसले असोज ८ देखि १३ गतेसम्म सातै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गरी विधान संशोधन गर्न सुझाव सङ्कलन गरेको थियो । सङ्कलित रायसुझाव समावेश गरेर असोज २५ भित्र मस्यौदालाई अन्तिम रूप दिने गृहकार्य भइरहेको छ । सुझावको अध्ययनपछि अन्तिम मस्यौदा तयार गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पेश गरिनेछ । केन्द्रीय समितिले पारित गरेको विधान मस्यौदा महासमिति बैठकमा पेश हुनेछ ।

गत भदौ ९ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्न महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस