कर्मचारी आन्दोलनका कारण बन्द पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नौ दिन पछि खुल्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मचारी आन्दोलनका कारण बन्द पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नौ दिन पछि खुल्यो


१९ आश्विन २०७५, शुक्रबार


पोखरा । कर्मचारी आन्दोलनका कारण बन्द रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नौ दिन पछि खुलेको छ । आन्दोलनरत कर्मचारी र प्रशासनबीच सहमति भएपछि अस्पताल खुलेको हो ।

कर्मचारी र प्रशासनबीच भएको वार्तामा अस्थायी कर्मचारी स्थायी गर्न प्रक्रिया शुरु गर्ने, २०६४ का कर्मचारीको स्तरवृद्धि गर्ने सहमति भएको जनाइएको छ ।

सहमति दुई बँुदे भएको छ । पहिलो बुँदामा प्रतिष्ठानतर्फदोस्रो सभा अगाडि कार्यरत सम्पूर्ण कर्मचारी स्थायी गर्न आगामी सभा बैठकमा एजेण्डा प्रस्तुत गराई एक पटककालागि विशेष प्रतियोगिता मार्फत प्रक्रिया थालनी गर्ने सहमति भएको छ । दोस्रो बुँदामा साउन १ गतेदेखि लागू हुने गरी समायोजन तथा एक पटकका लागि असोज मसान्तभित्रमा एक तह स्तरवृद्धि गर्ने सहमति भएको छ ।

नौ दिनदेखि स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र प्रशासनबीच वार्ताबाट सहमति निस्किन नसक्दा बिरामी मर्कामा परेका थिए । कर्मचारीको आन्दोलनका कारण आकस्मिक र सघन उपचार कक्षबाहेकका सबै सेवा ठप्प रहेको थियो ।

उपचारका लागि अस्पताल आएका बिमारी उपचार गर्नबाट वञ्चित भएका थिए । अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने साथै स्थायी कर्मचारीको स्तरवृद्धिको माग राखेर अस्पतालमा कार्यरत २९० जना कर्मचारी आन्दोलनमा थिए ।

प्रतिक्रिया दिनुहोस