चिनीयुक्त खानेकुरा खानुहुन्छ ? रोगहरु निम्ताउदै हुनुहुन्छ ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चिनीयुक्त खानेकुरा खानुहुन्छ ? रोगहरु निम्ताउदै हुनुहुन्छ !


डा. सुनिल पौडेल

१९ आश्विन २०७५, शुक्रबार


चिनी

नेपाली संस्कृतिमा चिनी प्रायः हरेक परिकारमा प्रयोग गरिँदै आएको छ । यसकारण पनि प्रायः नेपालीले चिनीयुक्त परिकार खाने गरेका छन् । तर, चिनीयुक्त परिकार मानव स्वास्थ्यका लागि कति घातक छन् भन्ने कुरा भने हामीलाई थाहा नै छैन । यो कुराको विभिन्न अध्ययन÷अनुसन्धानले पनि पुष्टि गरिसकेका छन् । ती अनुसन्धानमा आधारित चिनीयुक्त खानेकुरा खाँदा कस्तो हानी हुन्छ त आउनुहोस् जानेर सचेत भइरहौं ।

माउन्ट सिनाई स्कुल अफ मेडिसिन न्युयोर्क (अमेरिकाका) डा. जेड ब्लुमगार्डेनका अनुसार चिनीले प्रत्यक्ष र अप्रत्यक्षरूपमा दुनियाका सम्पूर्ण रोग लगाउन सक्छ । अमेरिकाका बिख्यात पोषणविज्ञहरू मरिसा मूर, राचेल जोन्सनका साथै अमेरिकन डाइबिटिज एसोसियसनका न्युट्रिसन डिरेक्टर स्टेफनी डंबर पनि माथिको कुरालाई पुष्टि गर्नुहुन्छ । उहाँहरूका अनुसार चिनी नचाहिने फुक्का क्यालोरी मात्र हो । र, यसमा शरीरलाई आवश्यक कुनै पनि माइक्रोन्युट्रियण्ट्स हुँदैन । साथै यो रोगहरूको जननी नै हो । अनि याद राखौं चिनि शाकाहार पनि होइन ।

उच्च रक्तचाप र मुटुरोग: सन् २०१४ मा विख्यात जामा इन्टरनल मेडिसिन जर्नलमा प्रकाशित अध्ययन अनुसार उच्चरक्तचाप र मुटुरोगमा चिनी नुनभन्दा पनि हानीकारक जस्तो देखिएको छ । डा. हुको टिमको अध्ययन अनुसार चिनीबाट यी रोग निम्तने खतरा देखिएको छ ।
– मुटु तथा रक्तनलीका रोग,
– उच्च रक्तचाप
– क्रोनिक इन्फ्लामेसन
– मोटोपन
– मधुमेह
– हृदयाघात
– मस्तिस्कघातको सम्भावनालाई उच्च गराउँछ ।

यति मात्र होइन, रिसर्चहरूका अनुसार चिनीले रक्तनली साँघुरो पार्ने रोग (आथेरोस्क्लेरोसिस)समेत लगाउँछ । यो नै हृदयाघात र मस्तिष्कघातको मुख्य कारण हो ।

मधुमेह चाडै लाग्छ: अध्ययनहरूका अनुसार चिनीयुक्त खानेकुरा खानेलाई मधुमेह लाग्ने सम्भावना उच्च हुन्छ । चिनीलाई पचाउन प्यांक्रियाजमाथी बढी जोड परेर यो हुन्छ । चिनिले इन्सुलिन रेजिस्टेन्स समेत बढाउँछ जुन मधुमेह हुने मुख्य कारण हो । यसलाई बिभिन्न रिसर्चले प्रमाणित गरिसकेको छ ।

मोटोपन: मोटोपन बढाउने खानामा चिनी एक नम्बरमा पर्छ । चिनी तुरुन्तै बोसोमा बदलिने हुँदा यसले शरीरमा तेल/घिउ भन्दा चाडै मोटोपन बढाउँछ । यससँगै मुटु, मधुमेह, हड्डीका रोग बढ्छन् ।

अन्य खाना खाए पेट भरिन्छ । तर, चिनी जति खाए पनि पेट भरिँदैन । जसका कारण हामीले उच्च क्यालोरीयुक्त खाना नजानेरै खाइरहेका हुन्छौं ।

हार्वार्ड युनिभर्सिटीका प्रोफेसर फ्रयांक हु का अनुसार चिनी जति खतरनाक खाना पाउनै गाह्रो छ । मोटोपन र मधुमेह निम्ताउन यो अत्यधिक जिम्मेवार छ ।

टि जी तथा कोलेस्ट्रोल बढ्छ: चिल्लो तथा तारेको खानाभन्दा पनि चिनीले रगतमा बोसोको मात्रा (टि जी) तुरुन्तै बढाउँछ भने कालान्तरमा कोलेस्ट्रोल समेत बढाउँछ । यसले गर्दा मुटुका रोगसँगै मस्तिष्कघात समेत हुन सक्छ ।

क्रोनिक इन्फ्लामेसन बढ्छ: चिनी खाने व्यक्तिहरूमा इन्सुलिन श्रवित हुने प्रक्रिया तथा इन्सुलिन रेजिस्टेन्स बढ्दै जान्छ । यो क्रोनिक इन्फ्लामेसन बढाउने प्रमुख कारक हो । जसका कारण मुटु रोगसँगै हाड जोर्नि–नसा तथा बाथ सम्बन्धी रोग लाग्ने सम्भावना उच्च हुन्छ ।

क्यान्सर: तपाईँले चिनी र क्यान्सरबारे गुगलमा सर्च गर्नुभयो भने हजारौं लेख र अनुसन्धानहरू पाउन सक्नुहुन्छ । यसले पाचन प्रणाली मात्र होइन, पाठेघरदेखि फोक्सोको क्यान्सरसम्म लगाउन सक्ने रिसर्चले देखाएको छ ।

डन्डीफोर: चिनी र चिनी राखिएका खानेकुराले डन्डीफोर बढाउँछ । डा. एलिसिया र टिम (२०१६), डा. स्मिथ र टिम (२००७– जर्नल अफ अमेरिकन जर्नल अफ डर्माटोलोजी) तथा अक्सु र टिम (२०१२ जर्नल अफ युरोपियन एकेडेमी अफ डर्माटोलोजी र भेनेरोलोजी)का रिसर्चहरूले यो प्रमाणित गरिसकेका छन् ।

डिप्रेसन र मानसिक समस्या: तपाईँलाई सुन्दा अचम्म लाग्ला । चिनीले डिप्रेसन, एन्ंजाइटी, अनिद्रा लगायतका मानसिक रोग लाग्न सक्छ । हाइपर एक्टिभिटी, मुड स्विंग आदिको त यो मुख्य कारण नै हो । यसले दिमागको न्यूरोट्रान्समिटरमा खलबली पैदा गरी यी समस्या निम्ताउने प्रमाणित तथ्य हो ।

तपाईलाई थाहा नै होला, चिनिले यस्को कुतलमा फस्न बाध्य पार्छ । यदि कसैलाई गुलियोको कुलत लागेमा यस्बाट उम्किन गाह्रै हुन्छ । जंक फुड र फास्ट फुड पनि यस्तै हुन् । यीनिहरुमा पनि चिनिजन्य पदार्थ एकदमै बढि हुन्छ ।

बूढ्यौली: चिनी चाडै बूढ्यौली निम्ताउने खानामा नम्बर एकमा पर्छ । यसले शरीरमा ए जि ई भन्ने तत्वहरू पैदा गर्छ । साथै छालाको कोलाजन र इलास्टिनलाई क्षय गरी तपाईँलाई चाडै बूढो बनाउँछ । त्यति मात्रै होइन, यस्तै बूढ्यौली खाले परिवर्तन चिनीका कारण कोष–कोष र तन्तु–तन्तुमा पनि हुन्छ । चिनी खाने व्यक्तिहरूमा क्रोमोजोमको टेलोमेयर चाडै खुम्चने हुन्छ, जसले तपाईँको बूढ्यौली झनै चाडै निम्त्याउँछ । एक विज्ञान पढेको व्यक्तिले यस्लाई झन चाडैं बुझ्न सक्छ ।

लिभर/कलेजोका रोग: दुनियामा अहिले सबैभन्दा बढी र चाडै बढिरहेको खतरनाक रोग फ्याट्टी लिभर हो । जसको कारण बोसो (चिल्लो) बढी खानु होइन । फ्याट्टी लिभरलाई किटोजेनिक डाइट (बोसो र चिल्लो मात्र खाने)बाट ठिक गर्न सकिन्छ । वास्तवमा फ्याट्टी लिभरको मुख्य कारण भनेको चिनी, मैदा, सेतो भात र जंक फुड नै हुन् । यो पनि सैकडौं रिसर्चबाट प्रमाणित तथ्य हो ।

मृगौलाका समस्या: चिनी खानेहरूलाई मृगौलाका समस्या अझै बढी हुने सम्भावना हुन्छ । २०१३ को एड्भान्स क्रोनिक किडनी डिजिज जर्नलमा कायालियस र सोहमको रिभ्युका अनुसार चिनी एक मन्द विष हो भन्नेमा मेडिकल दुनियामा दुईमत छैन ।

दाँतका रोगबाट बचिन्छ: दाँतका रोगको नम्बर एक कारण चिनी र चिनीजन्य जंकफुड नै हुन् । रिसर्चहरूका अनुसार चिनी छाड्ने बित्तिकै दाँत, गिजा र मुखका रोगमा पनि कमी आउँछ ।

हड्डी कमजोर पार्छ तथा खियाउँछ र आस्टियोपोरोसिस गराउँछ: वास्तवमा हड्डी खियाउने खानामा चिनी एक नम्बरमा पर्छ । हरेक चिनीको एक अणु मेटाबोलिज्म हुँदा वा जलाउन शरीरलाई क्याल्सियम नै चाहिन्छ । त्यसैले चिनी जातीय पदार्थ अर्थात् कार्बाेहाइडेड बढी भएका खानामा प्राकृतिक रूपले क्याल्सियम हुन्छ । तर, चिनीमा क्याल्सियम शून्य हुने हुँदा यो शरीरका कोषमा जल्दा शरीरले रगत र हड्डीबाट क्याल्सियम लैजान्छ । फलस्वरूप चिनी तथा प्रोसेस्ड अन्न जस्तै: सेतो चामल, मैदा आदी र जंक फुड खाने व्यक्तिहरूका हड्डी चाडै खिइन्छन्, कमजोर हुन्छन् । साथै आस्टियोपोरोसिस भन्ने हड्डी खोक्रो हुने रोग चाडै लाग्छ ।

चिनीका विकल्प

क्यालोरी फ्रि– स्टेभिया
अन्य सुगर फ्री पूर्णतया सुरक्षित नभएको हुँदा प्राकृतिक रूपमा पाइने स्टेभिया नै सबैभन्दा राम्रो चिनिको बिकल्प हुन्छ ।

यससँगै यी पनि चिनीका विकल्प हुन सक्छन् । तर यीनले सुगर बढाउँछन् र यीनमा पनि धेरै क्यालोरी हुन्छ ।
– खुदो,
– मह,
– गुड,
– सख्खर
– मेपल सिरप आदि ।

कोल्ड ड्रिंक्स, प्याकेटका जुस, चिया, मिठाइ, चिनी राखिएका ब्रेक फास्ट, सेतो भात, चक्लेट, बिस्कुटले पनि शरीरमा चिनीजन्य पदार्थ भरिरहेकै हुन्छ । यीनमा पनि शरीरलाई चाहिने अत्यावश्यक पोषकतत्व हुँदैनन् । यी सबै पनि मन्द विष नै हुन् भन्दा फरक पर्दैन ।

अनि अन्तिम कुरो चिनि शाकाहार पदार्थ हुँदै होइन । यस्बारेमा हामी विस्तारमा पछि कुरा गर्ने छौं ।

डा. सुनिल पौडेललाई [email protected] मा ईमेल गर्न वा 9741333009 मा आफ्ना प्रश्नहरु राख्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस