ओ ‘थाङ्ने’ ‘लाबाप’ बधाई फिर्ता देऊ ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ओ ‘थाङ्ने’ ‘लाबाप’ बधाई फिर्ता देऊ !


बिनाराम खड्का

१७ आश्विन २०७५, बुधबार


ओ ‘थाङ्ने’ ‘लाबाप’ बधाई फिर्ता देऊ !

औँला पाक्ने गरी टाइप हान्दै फेसबुकमा घोप्ट्याउँदै गरिएको बधाईमय वर्ष २०७४ सालमा मैले पनि नागरिकको हैसियतले ५ थान बधाई टक्रयाएको थिएँ । बधाइ पाउने पात्र थिए, सर्वश्री डा. बाबुराम भट्टराई, माननीय लालबाबु पण्डित, कर्णाली प्रदेश मन्त्री विमला केसी, मुसिकोट नगरपालिका रुकुम पश्चिमका मेयर देवीलाल गौतम र मुसिकोट नपा वडा नम्वर ४ का वडाअध्यक्ष निर्मलकुमार पुन ।

संवैधानिकरूपमा संघीय संरचनाको ठोस कार्यान्वयनको लागि नङ-मासुझैँ सँगसँगै अभिन्न रूपमा अन्तरसम्बन्धित अति आवश्यक तीन पक्ष हुन्छन्-फङ्सन, फाइनाइन्स र फङ्सनरी । तीमध्ये तेस्रो पक्ष अर्थात् फङ्सनरीको बारेमा निर्णय गर्ने तहमा माननीय ‘लाबाप’ पुग्नुभएको छ । तर, उहाँ महिनौँ भो हराउनुभएको । त्यसकारण उहाँबाट वा उहाँको नेतृत्वमा फङ्सनरी अर्थात् कर्मचारी समायोजन वा व्यवस्थापन हुने छाँटकाँट देखिँदैन । ऐन जारी भएको यतिका समय बित्दा पनि कर्मचारी समायोजन नियमावली कता गयो ? मन्त्रिपरिषद्मा पेश भएको संघीय निजामती सेवा ऐनलाई अलपत्र पार्दै संघीय संसद्को अधिवेशन समापन भयो । संघीय संरचनाअनुरूप कर्मचारी व्यवस्थापन संघीय संसद्को प्राथमिकतामा किन परेन ? सर्वोपरी तालुक निकाय संघीय तथा सामान्य प्रशासन मन्त्रालयले बडो तामझामकासाथ १५ दिने र ७ दिने अवधि तोकेर स्थानीय तहमा जान प्राथमिकता तोकेर लिइएका निवेदनहरू सिंहदरबारमै रद्धीको टोकरीमा मिल्काइए । जसका कारण निजामती सेवाका विभिन्न सेवाहरूको न्यायोचित र तार्किक पुनर्संरचना हुन सकेन । स्थानीय, प्रदेश र संघको संगठन संरचना जननिर्वाचित तीनै तहका सरकारका कार्यकालको मध्यान्तरसम्म पनि अन्तरिमको अन्तरिम नै रह्यो । कुन कर्मचारीले कुन तहको कुन शाखा फाँटमा के काम गर्ने ? कहाँबाट पारिश्रमिक पाउनेसम्मको न्यूनतम निर्णय पनि नेपाल सरकारबाट हुन सकेन ।

स्वार्थप्रेरित भएर मन्त्रिपरिषद्बाट मनलाग्दीरूपमा ओ एन्ड एम सर्भेसँग मेल नखाने गरी व्यक्ति हेर्दै निर्णय गर्दै विभिन्न कार्यालय र संरचनाहरू भटाभट स्थापना हुन थाले । स्थायी संगठन संरचना र कर्मचारी व्यवस्थापनले गति नलिँदा विभिन्न तहहरूबीच शक्ति र अधिकार तानातानको स्थिति सृजना भयो । स्थानीय तहमा गएकाले स्थानीयतिर, जिल्ला समन्वयमा गएकाले समन्वयतिर, प्रदेशमा गएकाले प्रदेशतिर र संघमा रहेकाले संघमै अधिकार तान्ने खिँचातानीमा देश पुग्यो । यसो हुनुको मूल जड नेपाल सरकारले विशेषतः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संगठन संरचनाको स्थायी स्वीकृति, ति संरचनाको स्पष्ट कार्यविवरण र सोअनुरूप स्थायीरूपमा जनशक्ति व्यवस्थापन अहिलेसम्म गर्न नसक्नु नै हो । ओ एन्ड एम सर्भे अनुरूप उपयुक्त निर्णय गर्न नसक्नु विशेषतः संघीय तथा सामान्य प्रशासन मन्त्रालयकै कमजोरी हो । कर्मचारी व्यवस्थापन लथालिंग र भताभुंग हुनुको मुल दोष उक्त मन्त्रालयकै काँधमा छ ।

संघीय र सामान्य प्रशासनजस्ता दुई अत्यन्त महत्वपूर्ण क्षेत्र समेटिएको उक्त मन्त्रालयको सिंगो संयन्त्र २-३ महिना रातदिन खटेर भए पनि अहिलेसम्म ठोस निचोडमा पुग्नुपथ्र्याे ।

तर, उक्त मन्त्रालयको संयन्त्र एउटा ‘विशेष सेवा’का कर्मचारी नेपालका सबै विश्वविद्यालय टप गरी विश्वका टप फाइभ युनिभर्सिटी (युनिभर्सिटी अफ अक्सफोर्ड, युनिभर्सिटी आफ क्याम्ब्रिज, स्टानफोर्ड युनिभर्सिटी, नानजिङ युनिभर्सिटी, वुहान युनिभर्सिटी, वुजियालङ युनिभर्सिटी)बाट दिक्षित भएका हुन् । अन्य सेवाका कर्मचारी धौधौ उत्तीर्ण भएका पत्रु पात्र हुन् ! एक आलेखमा त उक्त सर्वशक्तिमान सर्वाधिक विद्वानसेवाका एक स्वस्ति श्री परम दिव्यात्मा श्री श्री श्री १००८ महात्माको भनाइमा त ‘एक अमुक’ सेवाका कर्मचारी भुइँमा हिँड्ने मनुवा कहाँ हुन् ! परी आए आकाशमा फुइइइइइइय प्लेन समेत उडाउने ‘कप्तान’ पो हुन् ! अन्य सेवाका कर्मचारी त धुलोमय भुइँमा तीन पांग्रे टेम्पो घिसार्ने हैसियत नभएका हुन् ! लुइकालीन फ्रान्समा सम्राटले ‘आइ एम द स्टेट’ भनेझैँ शैलीमा सिंगो निजामती सेवा नै एउटा सेवाको अधिनमा रहनुपर्छ भन्ने अभिव्यक्तिहरू दोहोरिरहेका छन् । यसरी संघीय तथा सामान्य प्रशासन मन्त्रालय तथा सो मातहतको एक खास सेवाको अभिव्यक्ति हेर्दा निजामती सेवामा रहेका १० वटै सेवालाई उपयुक्त न्याय गर्नुपर्नेमा अमुक सेवालाई काखी च्याप्न र उचाल्नमा आफ्नो सफलता सोचेको छ । यसमै उसले आफ्नो परम बहादुरी र दिग्विजय ठानेको छ !

अब के होला ? दसैं-तिहारको लामो बिदा । ठन्डी महिना सुरु । सम्भवतः फागुन-चैतमा सरकार फेर्ने गृहकार्य ! दुई वर्ष पुगेपछि बहुमत सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव संसद सचिवालयमा छापामार तरिकाले दर्ता ! त्यसैले माथिका ५ बधाइमध्ये, पहिलो कार्यकालमा एक-दुई काम गरेको, डिभी/पिआरको प्रावधान हटाएको जस्ता मामुली कुरालाई नजिर बनाएर साइकल चढेको फोटोसहित नचिनिकनै माननीय ‘लाबाप’लाई दिइएको बधाई आजैका मितिदेखि लागू हुनेगरी फिर्ता लिएको छु ! उपयुक्त समयमा न्यायसंगत काम गर्न नसकेको हुँदा उहाँकै शब्द सापटी लिएर फेरि पनि भन्छु-ओ ‘थाङ्ने’ ‘लाबाप’ बधाई फिर्ता देऊ !

Tags :
प्रतिक्रिया दिनुहोस