परिवर्तित पर्यावरणीय परिवेशमा अनुकूलित सार्वजनिक प्रशासन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

परिवर्तित पर्यावरणीय परिवेशमा अनुकूलित सार्वजनिक प्रशासन


डा. दामोदर रेग्मी

१७ आश्विन २०७५, बुधबार


सार्वजनिक प्रशासन

परिवर्तनका सिर्जित दबाबहरू
सार्वजनिक प्रशासन राज्यद्वारा जनतासमक्ष प्रतिवद्धता गरिएका उद्देश्यहरूको परिपूर्तिको लागि निरन्तररूपमा दत्तचित्त, तयारी अवस्थामा रहनुपर्ने र सक्रिय रहनुपर्ने अंग हो । जसरी समयको परिवर्तन भएको छ, तदनुरूप जनताको व्यक्तिगत तहमा आशा र अपेक्षा बढेको हुन्छ र त्यो आशा र भरोसा सरकारतर्फ लक्षित रहेको हुन्छ अन्ततः सरकारतर्फ लक्षित जनताको आशा र अपेक्षा पूरा गर्नुपर्ने दायित्व सार्वजनिक प्रशासनमा सर्न पुग्छ । त्यसैले सार्वजनिक प्रशासनका पर्यावरणीय पक्षहरूमा आउने परिवर्तनहरूले सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवाप्रवाहको सुनिश्चितिता र सेवाको गुणस्तरको प्रत्याभूति जस्ता क्षेत्रहरूमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ ।

सार्वजनिक प्रशासन सरकारको सेवा प्रवाहको एक महत्वपूर्ण र आवश्यकीय संयन्त्र हो । सरकार र जनताबीचको दरिलो र स्थायी सम्पर्क सूत्रको रूपमा रहेको सार्वजनिक प्रशासन सरकारको स्थायी संयन्त्र विषयगत विज्ञता, कार्यगत विशिष्टताले युक्त हुन्छन् । समय, शिक्षा, प्रविधिको परिवर्तनसँगै राजनीतिक र शासकीय आयामहरूमा धेरै परिवर्तन आउँछन् र यी परिवर्तनहरूले स्वभावतः सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै दबाबहरू सिर्जना गर्छन् । यस्ता दबाबहरूले सार्वजनिक प्रशासनको भूमिका परिवर्तित सन्दर्भमा वा विद्यमान पर्यावरणीय सन्दर्भमा अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्छ ।

पर्यावरणीय अवयवहरू
देश विशेषको राजनीतिक प्रणालीको प्रभाव सर्वत्र परेको हुन्छ र यसको सकारात्मक झझल्को दिने प्रमुख अंग नै सार्वजनिक प्रशासन हो । राजनीतिक प्रणालीको उदारता र अनुदारताको आधारमा सार्वजनिक प्रशासनको पारदर्शिता र उत्तरदायिताको तह निर्धारण हुने गर्छ । तटस्थ, प्रतिवद्ध र परिणाममुखी प्रशासन यस सन्दर्भको सामयिक आवश्यकता हो ।

समाज विविधताको सम्मिश्रण हो । जात, संस्कृति, परम्परा, रीतिरिवाज समाजका मिश्रित परिचायक हुन् । समाजको यो बिम्बको प्रभाव सार्वजनिक प्रशासनमा परेको हुन्छ, किनकी सार्वजनिक प्रशासन समाजकै एक सह–उत्पादन हो । राजनीतिक–आर्थिक परिवर्तनले सामाजिक मूल्य मान्यतामा समेत परिवर्तन ल्याउँछ । समाजको बनोट त्यसको चरित्र यसले अँगालेको संस्कृति र चालचलन अनुरूप सार्वजनिक प्रशासन पनि चल्नुपर्ने हुन्छ । समावेशी प्रशासन, सरकारी कामकाजमा क्षेत्र विशेषको भाषाको प्रयोग, सामाजिक परिवेशको आधारमा सार्वजनिक बिदा जस्ता विषयहरू यसअन्तर्गत पर्छन् ।

प्रजातान्त्रिक परिपाटीको सुरुवातसँगै आर्थिक उदारीकरणको विषय प्रखररूपमा अगाडि बढेको छ । यसले प्रतिस्पर्धा, गुणस्तरता, निजी क्षेत्रको सहभागिता, व्यवस्थापकवाद, कम लागतमा बढी उत्पादकत्व जस्ता विषयलाई जोड दिएको छ । आर्थिक मान्यतामा आएको यो लहरबाट सार्वजनिक प्रशासन प्रभावित हुनु स्वभाविकै हो । यसले सार्वजनिक प्रशासन चुस्त, दुरूस्त, प्रभावकारी, जनमुखी बन्नुपर्ने कुरामा जोड दिएको छ ।

प्रजातान्त्रिक शासन प्रणालीले ल्याएको अर्को परिवर्तन शासकीय सहकर्ताहरूको प्रवेश पनि हो । यस सन्दर्भमा सार्वजनिक प्रशासन निजी क्षेत्र, सामुदायिक संस्थाहरू, सहकारी जस्ता सहकर्ताहरूसँग मिलेर काम गर्नुपर्ने भएको छ । सहकर्ताहरूको उपस्थितिले सार्वजनिक प्रशासन बढी सिर्जनशील, समन्वयकारी र सहभागितामूलक हुनुपर्ने अवस्थाको सिर्जना गराएको छ ।

प्रविधिको प्रयोगमा आएको व्यापकतालाई सार्वजनिक प्रशासनले अवलम्बन गर्नुपर्ने स्थिति सिर्जना गर्नुपर्ने भएको छ । यसका लागि विद्युतीय शासन, अनलाइन सेवा प्रवाह, अनलाइन गुनासो प्रकट गर्ने प्रणाली, कागजातको न्यून प्रयोग, सेवा प्रवाहको लागि सम्पर्क विन्दुहरूको न्यूनीकरण, विद्युतीय भुक्तानी प्रणाली आदि विधिहरू प्रयोगमा आएका छन् । यसले एकातर्फ सेवा प्रवाहको प्रभावकारितामा जोड दिएको छ भने अर्कोतर्फ पारदर्शिता र उत्तरदायित्वमा वृद्धि ल्याएको छ ।

परिवर्तनलाई ग्रहण गर्न सक्ने सामथ्र्यको विकास
सार्वजनिक प्रशासनमा पर्ने आन्तरिक र बाह्य प्रभावको सन्दर्भमा सरकारको कार्यशैली र प्रवृत्तिमा आयामिक परिवर्तन ल्याउनुपर्ने र अबको प्रशासन बढी प्रभावकारी, नतिजाउन्मुख, व्यवसायिक र जनमैत्री हुनुपर्ने मान्यता राख्दै प्रशासनिक परिपाटी पुनः परिमार्जित हुनुपर्ने विषय सामयिक आवश्यकता हो । बदलिँदो परिवेशले शासकीय आयामहरूमा परिवर्तन ल्याएको छ र सार्वजनिक प्रशासनबाट उत्पादकत्व क्षमता र गुणस्तरियताको अपेक्षा हुनु स्वभाविकै हो । यस सन्दर्भमा सरकारले पनि आफ्नो क्षमता अर्थात् सार्वजनिक प्रशासकको क्षमताअनुरूप सरकारको प्राथमिक आवश्यकतामा पर्ने विषयको दायरामा आफूलाई सीमित गर्ने र सो क्षेत्रमा आफ्नो क्षमता वा बलको सुदृढीकरण गर्ने रणनीति लिनुपर्छ । आफ्नो क्षमता कम भएका क्षेत्रहरू राज्यको प्रारम्भिक प्राथमिकतामा नपर्ने अन्य सहकर्ताहरूको विज्ञता परिचालन गर्न सक्छ । सार्वजनिक प्रशासन समग्र प्रणालीको एक उपप्रणाली भएकाले समग्र प्रणालीका क्रियाकलाप, परम्परा, अभ्यास, मान्यताहरूको प्रत्यक्ष–परोक्ष प्रभाव सार्वजनिक प्रशासनमा पर्नु स्वभाविकै हो । प्रणालीगत प्रभावहरू सार्वजनिक प्रशासनमा प्रशासनिक मान्यताहरूमा, प्रक्रियागतरूपमा र प्रशासकहरूको बानी, व्यहोरा र चरित्रमा गरी तीन रूपमा प्रभावित हुने गर्छ । प्रणालीमा आएको परिवर्तनलाई ग्रहण गर्न सक्ने शक्तिले सार्वजनिक प्रशासनमा सकारात्मक परिवर्तन ल्याइदिन्छ भने नकारात्मक परिवर्तनको सामना गर्न सक्ने शक्तिले सार्वजनिक प्रशासन थप सकारात्मक बन्न पुग्छ ।

जनताको आशा र अपेक्षा पूरा गर्नुपर्ने दायित्व
पर्यावरणीय परिवेश परिवर्तनको उपज हो । जुनसुकै परिवर्तनले पनि जनताको व्यक्तिगत तहमा आशा र अपेक्षा वृद्धि भएको हुन्छ र त्यो आशा र भरोसा सधैं सरकारतर्फ लक्षित रहेको हुन्छ । सरकारतर्फ लक्षित जनताको आशा र अपेक्षा पूरा गर्नुपर्ने दायित्व स्थायी संयन्त्रको हैसियतले सार्वजनिक प्रशासनमा सर्न पुग्नु स्वभाविकै हो । सकारात्मक परिवर्तनलाई परिवर्तनको मर्म अनुरूप ग्रहण गर्न नसक्दा वा नकारात्मक परिवर्तनको सामना गर्न नसक्दा सार्वजनिक प्रशासनले थप नकारात्मक परिणति भोग्नुपर्छ । सार्वजनिक प्रशासनमा पर्ने आन्तरिक र बाह्य प्रभावको सन्दर्भमा सरकारको कार्यशैली र प्रवृत्तिमा आयामिक परिवर्तन ल्याउनुपर्ने र अबको प्रशासन बढी प्रभावकारी, नतिजा उन्मुख, व्यावसायिक र जनमैत्री हुनुपर्ने मान्यता राख्दै प्रशासनिक परिपाटीको पुनः परिमार्जित हुनुपर्ने विषय सामयिक आवश्यकता हो । परिवर्तनले जनतामा बढाएको आशा र अपेक्षा पूरा गर्न स्थायी संयन्त्र गतिलो सम्बन्ध-सेतु बन्नु आवश्यक छ । यस्ता स्थायी संयन्त्रमा निजामती प्रशासन, सार्वजनिक संस्थान, शिक्षण संस्थाहरू, संगठित निजी क्षेत्र, गैर सरकारी संस्थाहरू र सरकारसँग सहकार्य गर्ने सबै सहकर्ताहरू पर्छन् । स्थायी संयन्त्रमा अनुकूलनको यो सिद्धान्तको व्यावहारिक प्रयोग प्रजातान्त्रिक शासन प्रणालीको अपरिहार्यता हो ।

Tags :
प्रतिक्रिया दिनुहोस