मन्त्रालयमा ‘सरुवा मेला’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मन्त्रालयमा ‘सरुवा मेला’


१६ आश्विन २०७५, मंगलबार


मिति : २०७५ असोज १४ गते आइतबार
समय : मध्यान्ह् ३ बजे
स्थान : सिंहदरवार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
हुनत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अलि बढी नै भीड हुने गरेको छ । तर, केही दिनदेखि यहाँ ओहोरदोहोर निक्कै बाक्लिएको छ । प्रांगणदेखि नै सुरु भएको भीड भुइँतला र पहिलो तलासम्मै छपक्कै ढाकेको छ ।

एकछिन ‘मेला’को रमाइलो हेरौं भन्ने भयो र मन्त्रालयभित्र छिर्ने निधो गरियो । मुल गेट बाहिरको प्रांगणमै कोही एक्लाएक्लै हिँडडुल गरिरहेका थिए त कोही समूहमा । करिब ३–४ जना ४–५ जनाको समूहमा रहेका उनीहरू छ्यासमिस थिए । अर्थात्, केही नेता, केही कर्मचारी त केही न नेता न कर्मचारी जस्ता देखिन्थे । यि सबैका आ–आफ्नै गफ थिए । तर, भलाकुसारी नभई कोही कसैको नाम, ठाउँ, चरित्र जस्ता विषयहरूमा कुरा गर्दै थिए क्यार ।

म मूल ढोकाभित्र पसेँ । दायाँतिरको रिसेप्सन भनौं वा दर्ता चलानी गर्ने ठाउँ थियो । भित्रदेखि बाहिरैसम्म टम्म मान्छे थिए, जसमा अधिकांश कर्मचारी नै हुन् भन्ने कुरा उनीहरूको ड्रेसबाटै थाहा हुन्थ्यो । भुइँ तलाको दायाँपट्टि करिडरभरि मान्छेको हुल थियो । कोही उभिएका, कोही कसैलाई पर्खेका त कोही टहलिरहेका ।

भिड छिचोल्दै म बायाँतर्फको ढोका (कर्मचारी प्रशासन)भित्र पसें । उपसचिवज्यू कार्यकक्षमा हुनुहुन्नथ्यो । उहाँको ढोका पुग्नुअघि नै बायाँपट्टि(मुल ढोका भित्र पसिसकेपछि) कोठामा भित्रबाट चुकुल लगाइएको थियो । ढोका बाहिर एक कार्यालय सहयोगी पहरा दिइरहेका थिए । मैले सोधे– को हुनुहुन्छ भित्र ? उनले भने– सरहरू हुनुहुन्छ ? अनि बाहिरका कर्मचारी पनि छन् कि ? उनले भने– बाहिरको त छैनन् कि क्या हो सर । सरहरू त हुनुहुन्छ । अनि किन चुक्कुल नै लगाए त ? खै ! उनी केही बोलेनन् ।
०००
यसपछि म पहिलो तला उक्लिए । बायाँतर्फबाट उक्लिँदा बायाँतर्फ नै छ, मन्त्रीज्यूको कार्यकक्ष । भित्र प्रवेश गरेपछि बायाँपट्टिका सचिवालयका दुई कोठा नाघ्दै अघि बढेपछि दायाँतर्फ मोडिँदा आउँछ– मन्त्री लालबाबु पण्डितको ढोका । यहाँ त झन् भीड नहुने कुरै भएन । मन्त्री लालबाबु पण्डितको नेम प्लेटमा व्यस्त जनाइएको थियो । निजी र स्वकीय सचिवहरू बस्ने ठाउँमा पनि टम्मै थिए । ठेलमठेल गरी बसेका । केहीले हातमा दुई–तीन फाइल च्यापेका थिए त केहीले डायरी अनि झोला ।

एकछिन यताको रमाइलो हेरेपछि मन्त्रीज्यूको अवस्था बुझ्न मन लाग्यो । विद्युतीय ढोका खोल्न अनुरोधपछि भित्र पसियो । जहाँ मन्त्रीज्यूलाई भेट्न आउने पाहुनाहरूलाई मन्त्रीज्यू भित्र व्यस्त हुँदा अर्थात अरुसँगै भेटघाट भइरहँदा पालो पर्खिनका लागि बस्ने ठाउँ छ । केही समयअघि एक जना कर्मचारीले हंगामा मच्चाएपछि मन्त्रीका निजी अंगरक्षकहरूले यही पहरा दिने गर्छन् । ठूलो वेइटिङ रुमको तीनतिरै सोफा र कुर्सी भरिभराउ थिए, जहाँ करीब २० जनाभन्दा बढी मान्छेहरू अटाउँछन् । मन्त्रीका निजी सचिव राई पनि यही सभामा थिए ।

मैले सामान्य सम्बोधनपछि मन्त्रीज्यूको बारेमा बुझे उनलेभित्र मिटिङ भएको र समय लाग्ने बताए । त्यसपछि केही दिनअघि भएको सरुवाको लिस्ट कोसँग होला ? कर्मचारी प्रशासनमा मान्छे भेटिएनन् भन्दा उनले मसँग त भएन हजुर भने । यतिकैमा छेउमै बसेका एक भद्रले भने, ‘लिस्ट किन चाहियो तपाईँलाई ? तपाईँको आफ्नो भन्नुहोस् न ? काँ हो तपाईँको ?’

कर्मचारीको जस्तै त नभनौं उस्तै उस्तै लागेर हो कि कुन्नी उनले मलाई कर्मचारी नै ठानेछन् क्यारे । मैले आफ्नो परिचय दिएपछि उनको भावमा एकाएक परिवर्तन आयो, कोठाभित्रको माहोल नै मतर्फ केन्द्रित भयो ।

यतिकैमा मन्त्रीका पिएले प्रवक्तालाई भेट्न आग्रह गरे । मैले उहाँ त हुनुहुन्न भनेपछि भित्रबाट फुत्त एउटा कर्मचारी आइपुगे र ल आउनुस् के छ प्रवक्ताज्यूसँगको काम मैले भन्छु, उहाँ बाहिर हुनुहुन्छ । मैले सरुवाको लिस्ट मागे । उनी एकाएक तर्सिए ? ‘यो त मसँग भएन ।’ त्यसपछि उनी हिँडे । म पनि उनीसँगै बाहिरिँए ।

बाहिर भिड अघिको भन्दा बढेको रहेछ । यतिकैमा चार जनासहितको नेतृत्व गरेर आउनुभएको एक जना भद्र महिलाले भन्नुभयो– मन्त्रीज्यूसँग भेट्न आएको, म माननीय । ति अघिका सरले जवाफ दिनुभयो– माननीयलाई पनि भेटिराख्नु भएको छैन । मन्त्रीज्यू मिटिङमा हुनुहुन्छ । मानीयज्यू धेरै बोल्नुभएन । फाइल बोकेर आउनुभएको माननीयज्यू ल म यतै बस्छु भनेर बाहिरपट्टिको अर्को कोठाभित्र बस्नुभयो । उहाँको तीन जना महिलाको टिम थियो क्यारे । भित्र बसेर एकअर्कामा कुरा गर्न थाले ।

म अघि बाहिरिँदै थिएँ । दुईजना माननीयज्यूहरू भित्र पस्नुभयो । लोगोले उहाँ माननीय हुन् भन्ने भयो । नेता जस्ता देखिने त कति कति ? ‘पूर्व’ को ताँती पनि उत्तिकै ।

केही पर बरण्डामा ४–५ जना कर्मचारीको उभिएरै कचहरी चल्दै थियो । ठूलठूलै स्वरमा औला ठहड्याएरै यो, त्यो, यस्तो, उस्तो, यता, त्यता आदि आदि ।  त्यसमा मैले चिनेका दुई जना ट्रेड युनियनका नेता पनि थिए । सरुवा, कार्यालय, हाकिमलगायत विषयमा कुरा चल्दै थियो ।

पहिलो तल्लाबाट तल झर्दै गर्दा फाइल बोकेका र फाइल बोक्नेको नेतृत्व गरेकाहरू खुड्किलैपिच्छे ठोकिन्थे । करीब ३०–४५ मिनेटको ‘मेला’पछि ढोका बाहिर निस्कँदै गर्दा पनि ‘मेला’ भर्न आउनेहरूको भीड उस्तै थियो । यसरी आउनेहरुमा धेरैजसो नेता र सांसद नै थिए । कर्मचारी नेता र कर्मचारी त हुने नै भए ।

‘मेला’ केही दिन अझै चल्ने छ । बल्ल त शुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस