कर्मचारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्मचारी


१३ आश्विन २०७५, शनिबार


कर्मचारी

बिहानको ९ सँगै
आफूलाई सजाउँछ निलो
सेतो, कञ्चन र दागरहित
रंगहरूमा अड्डाको कर्मचारी
बाइ बाइ बाबा !

छोरी मुस्कुराउँछिन् पिँढीमा बसेर,
पुलुक्क हेर्छिन् अर्धांगिनी सिढीमा उभिएर,
उत्साहको बेजोड प्रवेगसँगै
अड्डा छिर्छ कर्मचारी,
खण्डहर भग्नावशेष जस्तै अजंगको अड्डामा
वर्षाैदेखि थन्किएर बसेका धड्डाहरू,
कतिको हिसाब नमिलेर,
किताव नमिलेर,
विधि अनि निधि निलेर,
आफूलाई उभ्याउँछ बीचमा
अनि सुरु गर्छ कलमको कारोवार,
सिनेमाघरको ढोका खोल्नासाथ
भिड गरेजस्तो एक हुल मान्छेहरू छिर्छन्,
जथावावी कुल्चदै, मिच्दै,
फोहोर गर्दै, चिच्याउँदै
अनि उफ्रिदै ठोकिन आइपुग्छन्
उसको टेबलमा,
ऊ सम्झाउन खोज्छ
विधिको कुरा, नियमको कुरा
अनि शैलीको कुरा

अहँ
मान्छेहरू बडो अजिव छन्,
सुन्न तयार छैनन् सुनाउन चाहन्छन्
गर्न तयार छैनन् गराउन चाहन्छन्
बदलिन तयार छैनन्, बदल्न चाहन्छन्
तर्साउँछन्, धम्काउन्छन्, निमोठ्छन् र चिमोठ्छन्
ऊ अड्डाको कर्मचारी,
तेरो सरुवा गर्दिम ?
कक्षा ५ अनुत्तीर्ण मुन्द्रे धम्की सुनाउँछ
चुपचाप सुनिरहन्छ र दौडाइरहन्छ कलम
आफ्नै सुरले
हजुर त सरकारी जागिरे रे,
धेरै पैसा कामुनुहुन्छ रे है ?
छोरी सोध्छिन् छिमेकीको भनाइ उधृत गर्दै,
निलो अनुहार बनाएर श्रीमतीको मुहारमा हेर्छ
र, झुकाउँछ शिर
महिनौंदेखि फाटिएको जुत्ता लगाएर हिँडिरहेको खुट्टातिर,
फलानो कर्मचारीले त यसो गरेछ नि
चर्को स्वरमा रेडियो सुनाउँछ छिमेकी,
अनि जिस्काको भावमा हेर्छ उसैतिर
नाजवाफ हुन्छ कर्मचारी
भित्रभित्रै कतै कुनामा बलिरहेको
इमान्दारिताको दियोबाहेक केहि छैन ऊसँग,
तर, कोही देख्न तयार छैनन्
उसको इमान्दारिता,
कोहि सुन्न तयार छैनन्
उसको लगनशीलता
अनि आत्मसम्मान
बढिमा उसकी अर्धांगिनीबाहेक
खवरदार ! सुखपूर्वक बाँच्ने अधिकार छैन तलाई,
न त रिसाउने,
न त चित्त दुखाउने इजाजत तलाई छ,
शान्तपूर्वक, तनावरहित
बस्ने अधिकार त झन् तलाई छदै छैन्र
किनकि तँ मान्छे होइनस्, कर्मचारी होस् ।
यस्तै यस्तै भनेर धम्काउँछन्, मतियारहरू
मौनतापूर्वक मुन्टो हल्लाइरहन्छ
कठै अड्डाको कर्मचारी !

Tags :
प्रतिक्रिया दिनुहोस