वाइडबडी खरिद प्रकरणमा महालेखाले उठायो प्रश्न « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वाइडबडी खरिद प्रकरणमा महालेखाले उठायो प्रश्न


१२ आश्विन २०७५, शुक्रबार


वाइडबडी खरिद

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिदमा भएको अनियमितता पुनः केलाउने भएको छ ।

नेपाल वायुसेवा निगमले २३ अर्ब २० करोड रुपैयाँमा किनेको दुईवटा एयरबसका वाइडबडी ३३० विमान खरिदको प्रक्रिया र मूल्यमाथि महालेखा परीक्षकको कार्यालयले प्रश्न गर्दै नयाँ लेखापरीक्षण विवरण सार्वजनिक गर्ने जनाएको हो ।

संसदको सार्वजनिक लेखा समितिको बैठकमा शुक्रबार महालेखा परीक्षक टंकमणि शर्माले आर्थिक अनियमिततासँगै वाइड बडीको रुट निर्धारण तथा सुनिश्चितता, उडान तालिका, उडान योजनालगायत बारे पनि अध्ययन गरिने बताए ।

प्राविधिक पक्षसँगै जहाजको अधिकतम उडान भार क्षमतामा पनि प्रश्न उठेको बताउँदै यसअघि पनि जहाज खरिदबारे जानकारी लिन महालेखाले निगम व्यवस्थापन तथा सञ्चालक समिति अध्यक्षसहित पदाधिकारीलाई डाकेर छलफल गरेपनि चित्तबुझ्दो जवाफ नआएको बताए ।

सिधै खरिद गर्नुपर्ने स्थितिमा पनि सार्वजनिक खरिद ऐनमै व्यवस्था भएपनि अर्को बाटो अपनाएको प्रति प्रश्न उठाउँदै विमानको मूल्य, भुक्तानी तथा यर्थाथ मूल्य विवरण खोजिरहेको बताए ।

बैठकमा सांसदहरु प्रेम आलेमगर, हृदेश त्रिपाठी र राजेन्द्र कुमार केसीले निगमको विमान खरिद प्रक्रियाबारे प्रश्न गरेका थिए । समितिका सभापति भरत कुमार शाहले विमान खरिदबारे पर्यटन मन्त्री रवीन्द्र अधिकारी, सचिव कृष्ण देवकोटा, निगमका कार्यकारी अध्यक्ष मदन खरेल र विमान खरिदमा संलग्न महाप्रबन्धक सुगतरत्न कंसाकारलाई बोलाई थप छलफल गर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस