आज इन्द्रजात्रा मनाइँदै, उपत्यकामा सार्बजनिक विदा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज इन्द्रजात्रा मनाइँदै, उपत्यकामा सार्बजनिक विदा


८ आश्विन २०७५, सोमबार


काठमाडौं । आज काठमाडौं उपत्यकामा इन्द्रजात्रा मनाइँदै छ । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा पनि दिएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आरधना गरी मनाइने यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्छ ।

यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ ।  भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि यो पर्व प्रारम्भ हुन्छ । विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म यो पर्व मनाइन्छ ।

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा इन्द्रजात्रालाई लिइन्छ ।

आजको दिन इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । भूकम्पले भत्किएको गद्दी बैठक पुनःनिर्माण सम्पन्न भएकाले तीन वर्षपछि गद्दी बैठकमै इन्द्रजात्राको तयारी गरिएको जनाइएको छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौं दिनपछि आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पतन’ गर्ने नियम रहेको छ ।

आज उपत्यकाको दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनहरूको घुइँचो लाग्छ । भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आरधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस