मंसिर २७ गते, २०७५

नागरिक चेतना भन्नाले के बुझ्नुहुन्छ ?

नागरिक चेतना भन्नाले के बुझ्नुहुन्छ ? यसका आयामहरूमाथि प्रकाश पार्दै नेपालको संविधान तथा अन्य कानुनमा नागरिक कर्तव्य एवम् जिम्मेवारीको कस्तो व्यवस्था गरिएको छ ? चर्चा गर्नुहोस् ।

नागरिक चेतना
सार्वजनिक चासो, हक, अधिकार, काम, कर्तव्य को साथै अरू व्यक्ति, समाज र राष्ट्रप्रतिको दायित्व र जिम्मेवारी एवम् राज्य तथा राज्यको कानुन एवम् कानुनको परिपालना बारे नागरिकहरूलाई प्रदान गरिने चेतना नै नागरिक चेतना हो ।
यसले,

  • राष्ट्र निर्माण गर्न,
  • आर्थिक अवसरहरूको विस्तार गर्न,
  • नागरिक मूल्य र मान्यताहरूलाई बढावा दिन र
  • लोकतन्त्रलाई सम्बृद्ध पार्न मद्दत गर्दछ ।

यसबाट प्रत्येक नागरिकमा त्याग, योगदान र सेवाको भावना सिर्जना एवम् विकास हुन्छ । नागरिक नैतिकवान र कर्तव्यनिष्ठ हुन्छ । सामाजिक एकता र सहिष्णुता कायम हुन्छ, फलस्वरूप समतामूलक समाज र सम्बृद्ध राष्ट्रनिमाणमा टेवा पुग्दछ ।

आवश्यकता/उद्देश्य/महत्वः

१. असल व्यक्ति र नागरिक निर्माण गर्नु ।
२. असल लोकतन्त्रवादीको निर्माण गर्नु ।
३. विकासमा जनसहभागिता अभिवृद्धि गर्नु ।
४. सबैको अधिकारको सम्मान गर्नु।
५. राष्ट्रियगान, राष्ट्रिय झन्डा, सहिद र स्वाभिमानको सम्मान र रक्षा गर्नु ।
६. सार्वजनिक सम्पत्तिप्रति अपनत्वको बोध गराउनु ।
७. असल राज्य र शासन प्रणालीको विकास गर्नु ।
८. साधन स्रोत वितरणको न्यायोचित प्रणाली विकास गर्नु ।
९. साधन स्रोत र अवसरको विवेकपूर्ण र समुचित प्रयोगको लागि उपयुक्त वातावरणको निर्माण गर्नु ।
१०. नागरिक सशक्तीकरण गर्नु ।
११. सार्वजनिक सरोकारको विषयमा नागरिकलाई सहभागी हुन आवश्यक पर्ने ज्ञान, सीप र हैसियतको विकास गर्नु ।

आयामहरु/पक्षहरुः
१. राजनीतिक आयाम

  • असल राजनीतिक संस्कारको विकास गर्ने,
  • राजनीतिक सबै प्रणालीलाई समावेशी बनाउने,
  • राजनीतिक कार्य, गतिविधि र निर्णयलाई पारदर्शी र जबाफदेही बनाउने,
  • राजनीतिक रूपमा कानुनको शासनको पूर्ण परिपालना गराउने ।

२. आर्थिक आयाम

  • साधनस्रोतको उचित पहिचान र न्यायोचित वितरण गर्ने ।
  • परिचालनमा मितव्ययिता, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन गर्ने ।
  • आर्थिक अनुशासनको पालना र वित्तीय जवाफदेहिताको सुनिश्चितता प्रदान गर्ने ।
  • आर्थिक स्रोतसाधनमाथि सबैको समान पहुँच र नियन्त्रण स्थापित गर्ने ।

३. सामाजिक आयाम

  • सामाजिक बहुलवाद स्वीकार्य बनाउन,
  • सामाजिक न्याय सुनिश्चित गर्न,
  • सामाजिक सम्पत्तिको संरक्षण गर्न,
  • सामाजिक विकास र रूपान्तरणमा नागरिकलाई त्याग र योगदान गर्न उत्प्रेरित गर्न ।

४. सांस्कृतिक आयाम

  • सांस्कृतिक बहुलवादको संरक्षण र सम्बद्र्धन गर्ने,
  • सबै संस्कृतिप्रति अपनत्वको बोध र सुमधुर सह–सम्बन्धको विकास गर्ने,
  • अन्तरसाँस्कृतिक विविधताको बिचमा उत्पन्न हुन सक्ने सम्भावित द्वन्द्वको न्युनिकरण तथा उचित समाधान गर्ने ।

५. नैतिक आयाम

  • ढिलासुस्ती र अनियमितताको अन्त्य,
  • भ्रष्टाचार मुक्त सरकार र शासनको निर्माण,
  • कर्तव्यको पूर्ण पालना,
  • अर्काको अधिकारको सम्मान ।

नागरिक कर्तव्य र जिम्मेवारी
कानुनमा गर्नु भनी उल्लेख भएको कार्य गर्नु र प्रतिबन्धित लगाएको कार्य नगर्नु नै नागरिक कर्तव्य हो । यसले नागरिकलाई कानुन पालनाप्रति सचेत बनाउँछ । यसबाट जिम्मेवार नागरिकको निर्माण हुन्छ ।नागरिक अधिकारलाई व्यवहारमा रूपान्तरण गर्नु नै नागरिक जिम्मेवारी हो । यसले नागरिकलाई कर्तव्य पालनाप्रति सचेत गराउँदछ । यसबाट कर्तव्य निष्ठ नागरिकको निर्माण हुन्छ ।

प्रत्येक नागरिकमा कानुनी, सामाजिक र नैतिक गरी तीन प्रकारको कर्तव्य र जिम्मेवारी निहित रहेको हुन्छ ।

नेपालको संविधानको धारा ४८ मा देहाय बमोजिम नागरिक कर्तव्यको व्यवस्था गरिएको छः

क. राष्ट्रप्रति निष्ठावान् हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नू ।
ख. संविधान र कानुनको पालना गर्नू ।
ग. राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नू ।
घ. सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नू ।

यसका अतिरिक्त नेपाली नागरिकले निर्वाह गर्नुपर्ने विभिन्न कानुनहरूले तोकेका मुख्य कर्तव्य र जिम्मेवारीहरूमा कर तिर्नु, मतदान गर्नु, विकासमा योगदान गर्नु, सत्य र न्यायको पक्षमा आवाज उठाउनु, सरकारको राम्रो कामको प्रशंसा र कानूनविपरित कार्यको विरुद्ध आवाज उठाउनु, राष्ट्रिय स्वाभिमानको सम्मान र रक्षा गर्नु, सार्वजनिक सरोकारको विषयमा सक्रिय रूपले सहभागी हुनु, ठुलालाई आदर र सानालाई माया गर्नु, दीन दुःखी, असहाय र अशक्तको सेवा र सहयोग गर्नु रहेका छन् ।


प्रस्तुति
भोजराज भट्ट
केदार प्रसाद खतिवडा


यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa


आश्विन २ गते, २०७५ - ०७ः०० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg