रोग निको पार्न जीवनशैली व्यवस्थित बनाउनुपर्छ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रोग निको पार्न जीवनशैली व्यवस्थित बनाउनुपर्छ


२९ भाद्र २०७५, शुक्रबार


जीवनशैली

नेपालमा कोलेस्ट्रोलका समस्या, उच्च रक्तचाप र रक्तनलिका रोग, मधुमेह, दम, पेटका रोग, क्यान्सर, हृदयघात, मस्तिष्क घात जस्ता नसर्ने खालका रोगको बिगबिगी बढ्दै छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानहरूले पनि यसलाई प्रमाणित गर्छ । आजभोलि झन्डै ७० प्रतिशत जति नेपालीको मृत्युको कारण यी नसर्ने रोग बनेको तथ्याङ्कले देखाउँछ ।

मेडिकल विज्ञानका अनुसार यस्ता नसर्ने रोगमध्ये ९० प्रतिशत रोग हाम्रै जीवनशैलीको कारण नै उत्पन्न हुन्छन् । त्यस कारण शरीर स्वस्थ राख्न वा यिनको उचित व्यवस्थापन गर्न जीवनशैली सुध्रिनु अति आवश्यक हुन्छ । वास्तवमा हामीलाई लाग्ने प्रायः नसर्ने रोगका लेखक हामी आफैँ नै हौँ । त्यस्तै गरी हामी आफ्नो डाक्टर आफैँ नै हौँ ।

उदाहरणका लागि, जतिसुकै राम्रो गाडी किन नहोस्, यदि राम्रोसँग चलाउने गरिएको छैन भने बिग्रन्छ नै । त्यति मात्र होइन, गाडी बिग्रनु सडकको अवस्थामा पनि निर्भर गर्छ । नराम्रो बाटोमा चलाएर साथै डिजेलले चल्ने गाडीमा पेट्रोल हालेर गाडी बिग्रियो भने मेकानिककहाँ मात्रै गइरहने कि यस्ता कुरामा पनि ख्याल राख्ने ? हामी जाबो १ लाख पर्ने हाम्रा बाइकमा राम्रो शुद्ध पेट्रोल हाल्ने लाइनमा बस्छौँ अनि यो खरबौं पर्ने शरीरमा भने जे पायो त्यही कोच्छौँ । हामी धेरै बुद्धिमानी छौँ । जान्दा जान्दै पनि जे खान नहुने त्यही खान्छौँ अनि जे गर्न नहुने त्यही गर्छौँ ।

जिब्रोका गुलाम हामी शरीरलाई ठिक हुँदैन भन्ने जान्दाजान्दै पनि जे पायो त्यही खाइरहेका हुन्छौँ, व्यायाम गर्दैनौँ, प्रदूषण र तनाव बढाउने काम मात्र गर्छौँ । यहाँ शरीर रोगी छ भनेर अचम्म मान्नु पर्दैन बरु यस्तो गर्दा गर्दै थोरै भए पनि स्वस्थ कसरी छ भनेर अचम्म मान्नुपर्दछ ।

त्यस कारण शरीर स्वस्थ राख्न खानपानको व्यवहार सुधार्न जरुरी छ । त्यसपछि सन्चो भएन भने मात्रै उपचारका लागि जाने हो । यदि तपाईँको खानपिन, व्यायाम, जीवनशैली अव्यवस्थित छ, कुलतमा फस्नुभएको छ, प्रेसरमा काम गर्नुहुन्छ र तपाईँलाई उच्च रक्तचाप वा कुनै पनि नसर्ने रोग भएको छ भने दबाइले मात्र तपाईँको उपचार सम्भव छैन । चिकित्सकले त औषधी लेखिदिन्छ । तर, औषधी खाएर मात्र हुँदैन । किनकि जीवनशैली नसुध्रिएसम्म जति औषधी खाए पनि रोग सन्चो हुँदैन बरु समय समयमा औषधि थपी नै रहनुपर्दछ । औषधि थपेर नै हामी मध्ये धेरै खुसी छौँ ।

कतिपय डाक्टरले तीन–चार औषधीले ठिक भएन तीन–चार औषधी मिक्स भएको २ वटा औषधी ‘प्रेस्क्रिप्सन’ गर्दा प्यासेन्ट खुसी हुन्छन् ओहो मेरो औषधि घट्यो भनेर, त्यो २ वटा औषधिमा ५ वा ६ वटा औषधि खाएको त कतिलाई पत्तै पनि हुँदैन । कति बुद्धिमान हामी ?

रोगको जरा एकातिर छ । डाक्टरले पातमा औषधि छर्ने काम गरिरहन्छ । के यसरी रोगरूपी रुख मर्ला त ? मर्दैन । डाक्टरले एउटा औषधी लेखिदिन्छ । दुई–चार महिना म्यानेज हुन्छ । त्यसपछि पुनः सोही समस्या बढ्छ । किनकि रोग सन्चो हुन जीवनशैली सुध्रिनु आवश्यक हुन्छ । कोलेस्ट्रोल बढ्ने, मधुमेह, उच्च रक्तचाप लगायत नसर्ने रोगमा यस्तै हुन्छ । त्यस कारण नसर्ने रोग सन्चो हुन जीवनशैली सुध्रिनु आवश्यक हुन्छ । नभए बिरामीले जति औषधी खाँदा पनि केही हुँदैन । तपाईँले देखिरहनु भएको छ औषधि खादा खादै पनि बिरामीहरू हृदयघात र मस्तिष्कघातका सिकार भएर जीवनभर लंगडाएका छन् वा थलिएका छन् । के यो नै हो हाम्रो समाधान ?

दवाइरुपी धक्का दिएर तपाईँले कतिन्जेल यसरी आफ्नो जीवनरुपी गाडी चलाउने ? धक्का दिएर मात्र जिन्दगी चल्दैन । तपाईँले आफ्नो स्वास्थ्यमा ध्यान दिनुभयो भने डाक्टर त स्वतः औषधी घटाउन विवश हुन्छ । त्यसैले उचित श्रम वा व्यायाम गर्नुहोस् । खानपिनमा ख्याल राख्नुहोस् । घाम–पानी के पुगेको छैन त्यसको याद गर्नुहोस् । तनाव म्यानेज गर्नुहोस् । पर्यावरण स्वच्छ र सफा राख्नुहोस् । नबुझेका कुरा प्राकृतिक वा जीवनशैली चिकित्सकलाई सोध्नुहोस् । यसो गर्दा प्रायः नसर्ने रोग राम्ररी व्यवस्थापन हुन्छन् वा थोरै औषधीले पनि प्रभावकारी रूपमा रोगको व्यवस्थापन हुन्छ ।

प्रकृतिले दिएका निःशुल्क औषधिहरूको सेवन त हामी गर्दै गर्दैनौ । घाम, पानी, व्यायाम, पर्यावरणमा ध्यान दिनु त कता हो कता, आफैँले उगाएका जडीबुटी र अर्गानिक खानाको सेवन गरी स्वस्थ हुनुभन्दा विदेशबाट किन्नुपर्ने दबाइकै गुलामीमा जानी जानी फस्न चाहन्छौँ अनि स्वतन्त्रताको भाषण छाट्छौं ।

औषधि सबै खराब नै भन्ने होइन तर आफ्नो सस्तो गाडीको ख्याल राख्ने हामीले हाम्रो सबैभन्दा अमूल्य शरीर र स्वास्थ्यको किन ख्याल राख्दैनौ भन्ने हो । यसले हाम्रो परनिर्भरता पनि कम गर्नेछ । यसमा हामीले आजैदेखि ख्याल राख्नु पर्दछ । मानसिकता आजै परिवर्तन गर्नु पर्दछ । जिब्रोको गुलामीमा फस्ने, व्यायाम नगर्ने तथा जीवनशैली स्वस्थ पार्न नसक्ने भए हामी भोलि दबाइको चक्रव्यूहमा यसरी फस्ने छौँ कि त्यहाँबाट मृत्युले मात्र हामीलाई निकाल्न सक्छ । फेरी भोलि दबाइको गुलामीमा फस्नु भन्दा आज नै खानपिन, व्यायाम, कुलत छोड्ने, पर्यावरण, सरसफाइ र प्राकृतिक जीवनशैलीमा ध्यान दिनु नै राम्रो होइन र ? जहाँ इच्छा त्यहाँ उपाय ।

Tags :
प्रतिक्रिया दिनुहोस