नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना : अध्यक्ष दाहाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना : अध्यक्ष दाहाल


२८ भाद्र २०७५, बिहिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताएका छन् ।

नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौं आएको अफगानिस्तानको उच्च शान्ति परिषद्को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर विश्वलाई सकारात्मक सन्देश दिएको बताए ।

पूर्वप्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियाबाट जनताले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीजस्ता उपलब्धि प्राप्त गरेको बताए । उनले भने, “नेपाली जनताको राजनीतिक स्वतन्त्रताको आन्दोलन भएकाले जनयुद्धमा धेरै ठूलो जनताको सहभागिता भएको थियो । हामीले जनताको अधिकारको निम्ति भएको युद्धको नेतृत्व गर्‍यौँ र धेरै हदसम्म जनताका अधिकार स्थापित गराउन सफल भयौँ ।”

भेटका क्रममा उच्च शान्ति परिषद्की उपप्रमुख एवं पूर्वमन्त्री डा= हबिबा साराबीले अफगानिस्तानमा शान्ति प्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्ति प्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको बताएका थिए । उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरु इच्छुक रहेकोसमेत बताए ।

सो अवसरमा भ्रमण दलका सदस्यले नेपालमा सशस्त्र द्वन्द्वको क्रममा हतियारको स्रोत, पूर्वजनमुक्ति सेनासँग भएको हतियारको अवस्था र व्यवस्थापन तथा शान्ति प्रक्रियाका कामलाई सहयोग गर्न स्थापना भएको शान्ति तथा पुनःनिर्माण मन्त्रालयको काम कारवाहीबारे पनि जिज्ञासा राखेका थिए । टोलीले शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको नीतिका बारेमा समेत छलफल गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस