पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँदै बन्दीपुरको घरबास « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँदै बन्दीपुरको घरबास


२६ भाद्र २०७५, मंगलबार


दमौली । पर्यटकीय नगरी बन्दीपुरमा रहेको बन्दीपुर सामुदायिक घरबास त्यहाँ पुग्ने पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । परम्परागत रीतिरिवाज, संस्कृति, हावापानी र रमणीयस्थलका कारण उचाईमा अवस्थित बन्दीपुरमा वर्षेनी लाखौ स्वदेशी विदेशी पर्यटक पुग्छन् ।

बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने प्रमुख माध्यममध्ये यहाँ सञ्चालित बन्दीपुर सामुदायिक होमस्टे (घरबास) समेत हो । देशका विभिन्न ठाउँबाट बेलाबेला समूह बनाएर आन्तरिक पर्यटक बन्दीपुरको घरबासमा रमाउन आउँछन् ।

बन्दीपुरमा २०६८ सालमा स्थापित घरबासले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको होमस्टे समितिका संस्थापक अध्यक्ष राजु बानियाँले बताए । “ घरबासमार्फत् आत्मनिर्भर बन्न र पर्यटकीय गतिविधिसमेत बढाउन योगदान पुगेको छ”, उनले भने । बन्दीपुर गाउँपालिका प्रमुख पूर्णसिं थापाले यहाँ सञ्चालित घरबासको प्रवर्द्धनमा गाउँपालिकाले सहयोग गर्ने बताए । “होमस्टे बन्दीपुरको चिनारी बनिसकेको छ”, उनले भन, “यसको प्रवर्द्धनका लागि गाउँपालिकाले सहयोग गर्छ ।”

हाल बन्दीपुरमा २० घरमा घरबास सञ्चालन छ । सरकारीस्तरबाट कुनै सहयोग नभएपछि स्थानीयवासीले आफ्नै पहलमा शुरु गरेका थिए । पारिवारिक, शान्त वातावरण र सुलभ मूल्यमा बस्न पाउने भएकाले आन्तरिक तथा बाह्य पर्यटक होटलमा भन्दा घरबासमा बस्न रुचाउने गरेको होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष दिलकुमारी रानाले बताइन् ।

यहाँका घरबासमा एकैचोटी १०० जनासम्म बस्न मिल्ने उनले जानकारी दिए । उनका अनुसार होमस्टेमा अर्गानिक खानाको मात्रै प्रयोग गरिनेछ भने वास बस्ने पर्यटकले ६५० शुल्क तिर्नुपर्छ । त्यसमा बेलुकाको खाजा, खाना, बिहानको नास्ता समावेश छ । घरबासमा बस्ने पर्यटकलाई परिवारको जस्तै व्यवहार गरिने भएकाले उनीहरु खुशी भएर फर्कने गरेको अध्यक्ष थापाले बताए । “होटलमा बस्दा स्वागत र आत्मीयता हुँदैन”, उनले भने, “तर घरबासमा बस्ने पर्यटकलाई परिवारजस्तो व्यवहार गर्छौं ।” घरबासमा बस्ने पर्यटकलाई व्यवसायीले लाखे, लोकदोहोरी, चुड्कालगायतका सांस्कृतिक कार्यक्रमसमेत देखाउने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस